महोत्तरी : महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दुलहा (बेहुला)/दुलही (बेहुली) ले अब प्रोत्साहनवापत ५० हजार नगद पाउने भएका छन् । आज सोमबार बर्दिबास-१४ स्थित नमुना मुसहर बस्तीमा १०८ जनाको लघु जीवन बीमा गराएपछि बर्दिबास नगर प्रमुख प्रहलादकुमार क्षत्रीले यस्तो घोषणा गर्नुभएको हो ।
“तपाईँहरु २० वर्ष उमेर कटाएर छोरा/छोरीको विवाह गर्नुहोस् , नगरपालिका कार्यालयले ५० हजार नगद प्रोत्साहनवापत दिनेछ” बस्तीका मुसहर समुदायलाई सम्बोधन गर्दै नगरप्रमुख क्षत्रीले भन्नुभयो, “यसले तपाईँहरुको स्वास्थ्य र परिवार राम्रो बन्ने छ ।” यो कार्यक्रम नगरक्षेत्रका सबै मुसहर समुदायमा लागु हुने क्षत्रीले स्पष्ट पार्नुभयो । नगरक्षेत्रभित्र स्थायी बसोबास भएका पुरुष महिला दुबैलाई यो रकम उपलब्ध गराइने क्षत्रीको भनाइ छ ।
सानै उमेरमा विवाह गर्ने र २० वर्ष नपुग्दै दुई/तीन सन्तान जन्माइसक्दा मुसहर महिलाको स्वास्थ्य समस्या बढ्दै गएको क्षत्रीले बताउनुभयो । नेपालको कानुनमा विवाह २० वर्ष कटाएर मात्र गर्न पाउने व्यवस्था भएपनि मुसहर बस्तीमा यसको प्रभाव नपरेको हुँदा यी समुदायलाई कानुन पालनामा अभिप्रेरित र प्रोत्साहित गर्न यो कार्यक्रम (प्रोत्साहन रकम ५० हजार दिने) घोषणा गरिएको नगरप्रमुख क्षत्रीले स्पष्ट पार्नुभयो ।
बस्तीमा आजै १०८ जनाको लघु जीवन बीमा भएको छ । मुसहर बस्तीका १८ वर्षदेखि ६९ वर्ष उमेर समूहका १०८ जनाको तीन वर्षे लघुजीवन बीमावापत् बर्दिबास नगर कार्यपालिकाको कार्यालयले एकमुष्ट रकम जम्मा गराएको हो ।
बीमा लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड बर्दिबास शाखामा भएको छ । दलित बस्तीमा बीमा गर्न योग्य १८ देखि ६९ वर्षभित्रका १०८ भेटिएका हुन् । वीमा कम्पनीका अधिकृतसहित बस्तीमै पुगेर बर्दिबास नगर प्रमुख क्षत्रीले १०८ जनाको तीन वर्षे लघु जीवन बीमाका लागि एकमुष्ट रकम एक लाख १९ हजार ३४५ रुपैयाँ जम्मा गराउनु भएको हो ।
गरिबी, अशिक्षा र अन्य सबैखाले अवसरबाट पछि परेका मुसहरलाई भइपरी आउने दुर्घटनामा राहत होस् भन्ने ध्येयले लघु जीवन बीमा गराइएको नगर प्रमुख क्षत्रीले बताउनुभयो । बीमा गरिएमध्ये ५२ जना महिला छन् ।
बीमा गरिएका सदस्यले अब तीन वर्ष कटेपछि भवितव्य पर्दा एक लाख नगद पाउनसक्ने वीमा कम्पनी लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड बर्दिबास शाखाका प्रमुख रवीन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । बीमा गरिएका सदस्यको भवितव्य मृत्यु भएमा उनका परिवारजनलाई एकमुष्ट एक लाख उपलब्ध गराइने मिश्रले स्पष्ट पार्नुभयो ।
आपूmहरुको परिवारमा आपतविपदको भवितव्य पर्दा तीन वर्षपछि परिवारजनले एकमुष्ट एक लाख पाउने कुरा सुन्दा अप्ठ्यारो बेला सहयोग पाइने आश जागेको बस्तीकी अगुवा ५८ वषीय मानकी सदा बताउनुहुन्छ । यसैगरी सो बस्तीका जेष्ठ सदस्य ६६ वर्षीय सुकेश्वर सदा र नयाँ पुस्ताकी २२ वर्षीय निशा सदाले पनि लघु जीवन बीमा गरीदिएर नगरपालिकाले आपूmहरुप्रति सदासयता देखाएको प्रतिकृया दिनुभयो । यसैगरी बस्तीकी ५७ वर्षीया रजिया सदाले आफ्ना नातिनातिनालाई २० वर्ष उमेर कटाएरमात्र बिहे गर्न सल्लाह दिनुभयो ।
बर्दिबास-१४ को नमुना मुसहर बस्तीका पक्की घर धुर्मुस सुन्तली फाउण्डेसनले बनाएर ५२ परिवार मुसहरलाई २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको हो ।