जनकपुरधाम / गोविन्द महतो

मधेश प्रदेशमा निरन्तर सत्ताको बागडोर सम्हालेका जनता समाजवादी पार्टी नेपालको अवसानमा जनमत पार्टीको उदय भएको छ । निरन्तर रुपमा ७८ महिना देखि मधेश प्रदेशको सत्तामा आसिन दल जसपा नेपालको अवसानमा जनमतको उदय भएको हो । जनमत पार्टीबाट मधेशको मुख्यमन्त्रीमा सतिष सिंहले सपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका छन् । जनता समाजवादी पार्टी नेपालको सत्ता अवसानपछि बनेको नयाँ समीकरणमा जनमत पार्टीका केन्द्रिय सदस्य सतिष सिंह मुख्यमन्त्री बनेका हुन् ।

मधेश प्रदेशमा मुख्यमन्त्री सहित नवनियुक्त ११ मन्त्री र ३ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा दुवेदी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाएकी हुन् । जनमत पार्टी नेतृत्वको सरकारमा सत्ता साझेदार दल नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त भएका छन् ।


नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई भौतिक पुर्वाधार विकास, राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति, शत्रुधन प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्री नियुक्त भएका हुन् । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमी व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली उर्जा सिँचाई तथा खानेपानी मन्त्री नियुक्त भएकी हुन् ।

यसैगरी नेपाल संघीय समाजवादी पार्टीकी एकली सांसद रहेकी विमला अन्सारी गृह तथा सञ्चार मन्त्री र नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी हुन् ।

 

यस्तै एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्य मन्त्री बनेका छन् । जनमत पार्टीकी रञ्जु मण्डल खंग विना विभागीय राज्य मन्त्री नियक्त भएकी हुन् । जनमत पार्टीको भागमा परेको वन तथा वातावरण मन्त्रालय तत्काल मुख्यमन्त्री सतिश कुमार सिंहले नै सम्हाल्नेछन् ।

२०८१ जेष्ठ २५, शुक्रबार १८:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय