नेपालवाणी नेटकर्व
जनकपुरधाम, जेष्ठ ।

जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव पुनः निर्विरोध निर्वाचित भएका छन् । विगत लामो समयदेखि जसपाको नेतृत्व गर्दै आएका यादव पुनः अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

जनकपुरधाममा सोमबार देखि जारी पार्टीको तीन दिने प्रथम एकताको महाधिवेशन अन्तर्गत आज अन्तिम दिन भएको उम्मेदवारी दर्तामा अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् ।

१८ वर्ष अगाडि यादवकै नेतृत्वमा मधेशी जनअधिकार फोरम नेपाल गठन भएर पटक–पटक पार्टीको नाम परिवर्तन भएपनि अध्यक्षमा यादव नै हिररहेका छन् । स्थापना कालमा उपेन्द्र यादवको पार्टी एक गैरसरकारी संस्थाको रुपमा रहेको थियो ।
यसरी लगातार १८ वर्ष देखि निरन्तर रुपमा पार्टीको अध्यक्ष रहेका यादव एकताको प्रथम महाधिवेशनबाट उनी पुनः अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अन्य पदमा को–को भिड्दै ?

पार्टीको सह–अध्यक्ष पदका लागि ३ जनाले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङको उम्मेदवारी परेको हो । उपाध्यक्षमा भने खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

महासचिवमा मनिष सुमन, रामकुमार शर्मा, दीपक कार्की र विजय यादवले उम्मेदवारी दिएका छन् । जसपाको विधान अनुसार एकजना अध्यक्ष, एकजना सह–अध्यक्ष, उपाध्यक्ष पाँच जनामध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ ।

त्यस्तैगरी २ जना महासचिव र उप–महा सचिव तीन जना र त्यस मध्ये एकजना महिला हुनुपर्ने पार्टीको विधानमा व्यवस्था छ ।
त्यस्तै सचिव ७ जना हुनेमा दुईजना महिला अनिवार्य हुने र कोषाध्यक्ष एकजना रहने व्यवस्था छ ।

२० जना केन्द्रीय पदाधिकारी रहने जसपाको केन्द्रीय समिति २०१ सदस्यीय बन्नेछ । आजै अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदानको समय तोकिएको जसपा नेपालले जनाएको छ ।

२०८१ जेष्ठ ३०, बुधबार १९:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय