नेपालावाणी नेटवर्क / सप्तरी ।

पाँच वर्षदेखि फलामे (सिक्री) साङलामा बाँधिएका मनोरोगीको उपचारका लागि उद्धार गरिएको छ । मानव सेवाआश्रम जनकपुरधामले इन्सेक सप्तरी प्रतिनिधिको पहलमा सप्तरीबाट साङलोमा बाँधिएका युवकको उद्धार गरेको हो । २५ वर्षीय प्रविनकुमार चौधरीलाई उपचार र स्याहारका लागि उद्धार गरी जनकपुरधाम स्थित मानव सेवा आश्रम लगिएको हो ।

मानसिक रोगका बिरामी चौधरीलाई उपचारको लागि अस्पताल लगिएको भएपनि मोटो रकमको जोहो गर्न नसक्दा पुनः अस्पताल लान नसकिएको प्रविनकी आमा इश्वरी देबीले बताईन् । इश्वरीले मनोरोगी छोरो गाउँ घरमा गइ उपद्रो मच्चाउने र छोरालाई समेत चोटपटक लाग्ने भएकोले बाध्य भएर ५ वर्षदेखि सिक्रीमा बाँधेर राख्नु परेको बताईन् ।

प्रविन १७ वर्षको हुँदा मानसिक रोगले गाँजेको र जेठो छोरा रबिन पनि वेपत्ता भएको बताईन् । कान्छो छोरा सन्तोष भने बालकै उमेर देखि काठमाडांैमा ज्याला मजदुरी गर्दै आएका छन् । माहिलो छोरा मनोरोगी र जेठो छोरा वेपत्ता भएदेखि शोकमा डुबेका बुबा परशुराम चौधरीको २०७७ साल चैत २६ गते निधन भएपछि इश्वरीलाई आपत माथि विपत आइलागेको सुनिल चौधरीले बताए । छोराहरुको शोक मै परशुरामको निधन भएपछि एकल भएकी इश्वरीलाई घर व्यवहार चलाउन समस्या परेको थियो ।


बाँधेकै स्थानमा शौच गर्ने प्रविनलाई आमाले नै नुहाउने, लुगा फेराउने, खाना खुवाउने गर्छिन । छोराकै लागि बाँच्नु परेको बताउदै ईश्वरी छोराकै स्याहार गर्नुपर्दा बनीबुतो गर्न सम्म मुश्किल परेको बताईन् । माया लागेर एक पटक प्रविनको सिक्री खोल्दा उनी भागेको र एक गाउँलेलाई लाठीले हिर्काएर घाइते बनाएपछी बाध्य भएर २४ सैं घण्टा बाँधेर राख्नु परेको सुनाईन । स्वस्थ्य र फुर्तिलो छोराको उमेर १७ वर्ष लागेपछि अचानक मनोरोगको समस्या देखिन थालेको जानकारी दिदै ईश्वरीले उपचार गराउन असमर्थ भएपछि घरमै बाँधेर राख्नु परेको दुःखेसो पोखिन ।

आफूले जन्मदिएको बच्चालाई पशु जस्तै सिक्रीले बाँधेर राख्नुपरेकोमा दुःखेसो पोख्दै इश्वरीले भनिन, “गरिब भएपछी आपूmले जन्माएको छोरालाई बाँधेर राख्नुपरेको छ, पशु बरु चर्नका लागि बेलाबेलामा खोलिन्छन तर प्रविणलाई खोल्न सकिदैन ।” सम्पतीको नाममा ३ धुरमा बनेको फुसको झुप्रो छ । सोही जग्गा पनि धितो राखेर गाउँकै एक बचत सहकारी संस्थाबाट ईश्वरीले ऋण सापटी लिएकी छिन् ।

औषधि उपचार पाए छोराको रोग निको हुन्थ्यो की भन्ने आशमा रहेकी उनले छोराको उपचारका लागी सबैतिर सहयोग माँगेर थाकेकोले उपचारको पहल गर्न आग्रह गरिन् । “इन्सेक प्रतिनिधिको घर गएर आग्रह गरेको केहीदिन पछि उहाँआएर छोराको अवस्था हेरेर जानु भएको थियो, अहिले छोरालाई उपचार र स्याहारका लागि लैजानु भयो ।” इश्वरी देवीले भनिन, “सबैले राम्रो अस्पतालमा लैजान सुझाव दिएका हुन् तर, मसँग पैसा अभावमा उपचार गराउन असमर्थ भएकाले छोरालाई घरमै सिक्रीले बाँधेर राख्न बाध्य थिए ।”

औषधि र मायाको साटो नियमित सिक्रीमा बाँधेर राखिएकोले पनि प्रविनको मनोरोग जटिल बन्दै गएकोले तत्काल उपचार गराउन सके सुधार हुने भएकाले उद्धार गरिएको इन्सेक प्रतिनिधि पोखरेलले बताए । २०६९ सालमा हेटौँडाबाट शुरु गरेको आश्रमले अहिले देशका १९ जिल्लामा २४ केन्द्र स्थापना गरी सेवागर्दै आएको छ । जसमाहाल १ हजार ७ सय बढी सहयोगापेक्षी व्यक्ति रहनु भएको आश्रमका सचिव बड्तौलाले बताए ।


मानव सेवा आश्रमका सचिव सुमन बड्तौला, मधेश प्रदेश संयोजक विवेक महतो, सन्तोष थापा मगरको टोलीले चौधरीलाई उद्धार गरी लगेको इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलले जानकारी दिए । शम्भुनाथ नगरपालिका ७ भगवतपुरका प्रविनलाई उपचार खर्चको अभावमा घरमा फलामे (सिक्री) साङलाले बाँधेर राखिएको थियो ।

मधेश प्रदेशका पूर्वमन्त्री महेश यादव र इन्सेक प्रतिनिधि पोखरेलले फलामे सिक्री खोल्दै चौधरीलाई मुक्त गरे । वातावरण राज्यमन्त्री रन्जु कुमारी मण्डल खंग, सप्तरीका प्रमुखजिल्ला अधिकारी मेख बहादुर मंग्राती, एसपी गजु सिद्दी ब्रजाचार्य, उप–.अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, वडा अध्यक्ष गोपालप्रसाद चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरिक्षक मेदिनी प्रसाद साह, प्रदेश मानव अधिकार समूहकी अध्यक्ष देबीमाया भट्टराई, मानव अधिकार समूह शम्भुनाथका कोषाध्यक्ष शिवशंकर राम, इन्सेक सहजकर्ता अजय परियार लगायतको उपस्थिती रहेको थियो ।

 

२०८१ असार ६, बिहीबार ११:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय