महोत्तरी : असार मध्य अघिपछिको वर्षाले खेतमा पर्याप्त पानी पुगेपनि महोत्तरीमा धानको बीउ तयार नहुँदा रोपाइँ पछि परेको छ । असार तेस्रो साता चलीरहँदा जिल्लामा अहिलेसम्म १० प्रतिशतमात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । अहिले असारे पर्वको अघिपछि परेको पानीले खेतका गर्‍हा डम्म भरिए पनि बीउ तयार नहुँदा रोपाइँ अघि बढ्न नसकेको हो । महोत्तरीको रोपाइँ बीउकै अभावमा अहिले सुस्त गतिमा छ ।

“धान रोपाइँँका लागि खेत हिल्याउन पुग्ने पानी त छ नि , के गर्नु ब्याडको बीउ तयार छैन” भङ्गाहा-५ भूचक्रपुरको थारुटोलका ६५ वर्षीय किसान दीपनारायण चौधरी भन्नुहुन्छ, “ब्याड राख्ने ठिक्क बेला जेठ मध्यताका पानी परेन, पछि असार पहिलो सातामा पानी परेपछि बीउ राखियो , अहिले बीउ नै तयार छैन ।” जिल्लाका अधिकांश किसानको चौधरीकै जस्तो अवस्था हुँदा यता धान रोपाइँ पछि परेको हो ।

सामान्यतया यहाँ जेठ २२ (जेठ तेस्रो साता) भित्र ब्याड राखीसक्ने , असार तेस्रो साताभित्र शाही (बीउ) रोप सक्ने र साउन तेस्रो साताभित्र खरुअन (कलम, पहिलेको बीउ रोपो गाँजिएपछि त्यो उखेलेर रोपिने) धानबाली लगाउने तालिका रहँदै आएको छ । तर यसपालि पानीबेगर समयमा ब्याड नै राख्न नपाएपछि यो तालिका पूरै खजमजिएको किसान बताउँछन् । शाही रोप असार तेस्रो सातामा कमसेकम ५० प्रतिशत भइसक्नु पर्ने धान खेतीको तालिका मानिन्छ । तर यसपालि धेरैजसोले बीउ नै लाग्दो असारकोे पानीमा धुले ब्याड राखेका हुँदा अहिले बीउ तयार नहुँदा अहिले परेको पानीमा रोपाइँ हुन नसकेको बर्दिबास-१२ चल्कीका किसान ओहिद राइन बताउनुहुन्छ ।

जिल्लामा यसपालि पानी र बीउको अभावले समयमा ब्याड राख्न नसकेका अधिकांश किसान अहिले परेको पानीमा विलखबन्द परेका छन् । “असार लागेपछि ब्याड राख्न माटोमा चिस्यान हुनेगरी पानी पर्‍यो, केही दिन बीउ खोज्न भौतारियौं, बल्लतल्ल बजारमा भेटिएको बीउ राखियो, के गर्नु अहिले पानी त छ नि, बीउ तयार छैन” खेतका गर्‍हामा डम्म भरिएको पानी देखाउँदै गौशाला-९ बिसरपुरका किसान शिवशरण राय भन्नुहुन्छ, “यो खेती कहिल्यै तुक (समय) मा गर्न पाइएन ।” यहाँ कमसेकम २२ दिनको बीउ रोप्न मिल्ने वयस्क मानिन्छ । यस हिसाबले खेतमा पानी अड्योभने २२ असारपछि सघन बीउरोप सुरु हुने किसान बताउँछन् ।

तीनै तहका सरकारका कार्यक्रम र बजेटमा कृषिको निकै चर्चा भएपनि यसको प्रतिफल आधारभूत तहका किसानसम्म पुगेको छैन । “न खेतमा पानी छ, न समयमा मलखाद बीउ पाइन्छ, न भरपर्दो बजार नै” सोनमा-६ का रामरतन राय यादव दिक्क हुँदै भन्नुहुन्छ, “खै यो कृषिका भनिएका कार्यक्रम कहाँ छन् ?” कृषिमा किसानलाई दिइने सुविधाका घोषणामा ठूलाबडाकै रजाइँ चलेको आम किसान बताउँछन् । यही वेथितिले खेतीको आकर्षण घटेको कृषि विज्ञसमेत स्वीकार्छन् । मुख्य मेहनत गर्ने किसानसम्म सहुलियत नपुगेपछि निरासा बढेको लामो समय कृषिक्षेत्रको सरकारी सेवाबाट हाल सेवा निवृत हुनुभएका भङ्गाहा-६ सग्रामपुरका बासिन्दा कृषिविज्ञ जासर यादवको भनाइ छ ।

यसअघिका वर्षमा असार १५ भित्र धान खेती गरिने जिल्लाको कूल क्षेत्रफलमध्ये आधाजसोमा रोपाइँ भइसक्ने गरेको भएपनि यसपालिभने धान रोपाइँ पछि परेको हो । असार मध्यभित्र आधा रोपाइँ सकेर किसान उल्लाससाथ असारे-१५ पर्व मनाउने कामना गर्छन् । यसपालि समयले किसानको यो मनोरथ पुरा भएन । घरगुजाराको मुख्य बाली लगाउन नपाएर खेत बाँझै भएका बेला पर्व आएगएको थाहा नपाइएको बर्दिबास-७ की मुना खत्री बताउनुहुन्छ ।

जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ५० हजार हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त मानिन्छ । जिल्लामा स्थायी कुलो/नहरको पहुँच १० प्रतिशत जग्गामा मात्र हुँदा अधिकांश खेतीको भर आकासे पानीमै छ । सिँचाईको प्रबन्ध नहुनुसमयमा बीउ, मलखाद नपाउनु , किसानले फसलको उचित मूल्य नपाउनु र कृषि जनशक्ति क्रमशः बाहिरिदै जानुले बर्सेनि धान खेतीको क्षेत्रफल घट्दै गएको छ । महोत्तरीमा यसपालि अहिलेसम्म मुस्किलले १० प्रतिशतमात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । अब रोपिने धानको खरुअन रोप नभ्याइने हुँदा पछि राम्रो पानी परेपनि अपेक्षित धान रोपाइँ नभ्याइने किसान बताउँछन् ।

चुरे पाहाड र नदीक्षेत्रमा अनियन्त्रित उत्खनन् बढ्नु र वन मासिदै गएर सन्तुलित वर्षा हुन छाडेको , जलाधारक्षेत्र मासिदै गएका , जताततै मसालाका रुखले जग्गा मरुभूमि बन्दै गएका र पानीका स्रोतका मुहान मासिने, सुक्ने क्रम बर्सेनि बढ्दै गएपछि समयमा खेती लगाउन पाइने कुरा हराउँदै गएको हो । यो प्रतिकूलताले बर्सेनि धान खेतीको क्षेत्रफल घट्दै गएको बर्दिबास-१० का ७५ वर्षीय किसान चन्द्रलाल गौतमको भनाइ छ ।

जिल्लाकै मुख्य अन्नबाली मानिएको धान रोपाइँ हुन नसकेपछि यसपालि अन्नको हाहाकार पर्ने छाँट देखिएको बुढापाका लख काट्दै गरेका भेटिन्छन् । कृषि विज्ञहरु भने धान रोपार्इँका लागि अहिले समय बाँकी रहेकाले आत्तिने बेला भइनसकेको बताउँछन् । असार मसान्तसम्मको बीउरोप र साउन मसान्तसम्मको खरुअन रोपको धान राम्रै फल्ने भएकाले अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको कृषि क्षेत्रकोे सरकारी सेवाबाट निवृत हुनु भएका भङ्गाहा-६ सग्रामपुरका राजकिशोर यादव बताउनुहुन्छ । असार मसान्तमा बीउरोप र साउन मसान्तअघि खरुअन रोपाइँ गर्न नसकिदा भने अन्य बाली लगाउने तयारी गर्न भने विज्ञले किसानलाई सुझाएका छन् ।—

२०८१ असार १८, मंगलवार २०:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय