महोत्तरी : साउने बोलबम मेला नजिकिएसँगै महोत्तरीको प्राचीन शिवालय टुटेश्वरनाथबारे सरोकारवालाहरुले चासो बढाएका छन् । मधेशको कैलाश र नेपालकै ‘बोलबम बाबा स्थान’ भनिने टुटेश्वरनाथबारे मधेश प्रदेश सरकार, बर्दिबास नगरपालिका, सामाजिक सङ्घसंस्था, राजनीतिक दल , प्रशासनिक निकाय र आम नागरिक समाजले चासो बढाएका हुन् ।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिले आइतबार साँझ आयोजना गरेको अन्तर्कयामा सम्बद्ध सबै सरोकारवालाले टुटेश्वरनाथ महादेव मन्दिरको समुचित संरक्षणबारे चासो व्यक्त गरेका छन् । अति प्राचीन यो शिवालयको संरक्षण , सम्बद्र्धन र यसलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीको निष्कर्ष छ ।

मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापाले संस्कृतिको जगेर्ना र पर्यटन प्रबद्र्धनका क्षेत्रमा सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । “यी सम्पदा हाम्रा पहिचान र समृद्धिका आधार हुन् , यिनको संरक्षण र सम्बद्र्धनमा सबैको एकजुटता आवश्यक छ” उहाँले भन्नुभयो ।

यसैगरी मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिब राजिव पोखरेलले टुटेश्वरनाथसहितका प्राचीन धार्मिकस्थलको संरक्षण र विकासमा मधेश प्रदेश सरकारको चासो रहेको उल्लेख गर्नुभयो । “टुटेश्वरनाथ स्थानको संरक्षण, सम्बद्र्धन र विकासका लागि मधेश प्रदेश सरकारले विस्तृत परियोजना प्रस्ताव नै तयार गरेर काम अघि बढाउने निणर्य गरेको छ” मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन सचिब राजिव पोखरेलले भन्नुभयो, “यस प्रयोजनमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा ८० लाख विनियोजन गरिएको छ ।” यहाँ गरिने काम सबै स्वीकृत डिजाइनमा एकद्वार प्रणालीबाट गरिन पर्ने पोखरेलको सुझाव छ ।

“विस्तृत परियोजना प्रस्तावले गरेको डिजाइनभित्र काम हुन पर्छ, केन्द्र , प्रदेश र स्थानीयतह सरकार एबं अन्य सहयोगीबाट प्राप्त हुने सहयोग एउटै डालोमा राखिएर काम गरिन पर्छ” पोखरेलले भन्नुभयो । यसैगरि बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले टुटेश्वरधामलाई बर्दिबासको मात्र नभइ मधेशकै धार्मिक पर्यटनको मुख्य गन्तव्यका रुपमा विकास गर्न आपूmले भरमग्दुर प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो प्राचीन शिवालय द्वापर युगमा अर्जुनले शिवजीको तपस्या गरी पाशुपतास्त्र प्राप्त गरेका ठाउँका रुपमा संस्कृतिविद्ले अथ्र्याउने गरेका छन् । “पाण्डव वनबासमा थिए, कौरवसँगको युद्ध जित्न उनीहरुलाई दिव्यास्त्र आवश्यकता थियो, अर्जुनले यसै प्रयोजनका लागि यहाँ घोर तपस्या गरेर शिवजीलाई प्रशन्न पारी पाशुपतास्त्र प्राप्त गरेका हुन्” प्राचीन संस्कृतिका अध्येता होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की भन्नुहुन्छ, “त्यतिखेर कुँदिएका पत्थर र अन्य कैयन यहाँ भेटिएका सामग्रीको अध्ययनबाट विद्वानहरुले यो निष्कर्ष बनाएका छन् ।”

कार्यक्रममा सहभागीले टुटेश्वरनाथको संरक्षण, सम्बद्र्धन र विकासका लागि यसलाई ट्रष्टमा लान पनि नगर नेतृत्वलाई सुझाएका छन् । त्यस्तै यस ठाउँको विकासका लागि दीर्घकालीन योजना निर्माण र साउने मेला व्यवस्थापनका दुई पाटोमा काम गरिन आवश्यक रहेको अधिकांश सहभागीले सुझाव दिएका छन् ।

“यहाँका कामका दुई पाटा छन् , यसलाई धार्मिक पर्यटकीय क्षेत्रको गन्तव्यका रपमा विकास गरिन दीर्घकालीन योजना बनिनु पहिलो र बर्सेनिको साउने मेला व्यवस्थापनको समुचित प्रबन्ध गरिनु दोस्रो पाटो हो” बर्दिबास नगरपालिकाकाको संसकृति तथा पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष हिरालाल गौतम भन्नुहुन्छ, “यी दुबै पाटोमा कुशलताका साथ काम गरिन आवश्यक छ ।” सहभागीले गौतमका कुरामा सहमति जनाएका छन् ।

पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोकबाट सात किलोमीटर सघन वनक्षेत्र छिचोलेर पुगिने बर्दिबास-५ मा यो शिवालय प्राचीन माण्डवीगङ्गा (अहिले मडहा भनिन्छ) नदीको पूर्वी किनारको पाहाडी थुम्कोमा अवस्थित छ । विक्रम सम्वत् २००२ सालमा डिठ्ठा गौरीनारायण गिरीले वन फडानी गरी बस्ती बसाउने क्रममा यहाँ अति प्राचीन शिवलिङ्ग, पत्थर कुदिएर बनेको बसाहासहित पुरातात्विक महत्वका सामग्री फेला परेका बर्दिबास-५ का वडाअध्यक्ष कहारमान स्याङ्वा बताउनुहुन्छ । त्यसयता विभिन्न समयमा श्रद्धालु भक्तजनको सरसहयोगबाट मन्दिर निर्माण भएको हो । शिवलिङ्ग, बसाहा र अन्य पुरातात्विक महत्वका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरुले महाभारतकालीन भनेका छन् ।

माण्डवीगङ्गा, वरुणमति र स्वणर्मति नदीका माझ अवस्थित यो ठाउँ शिवजीको पुकारा गरिदा मनोवाञ्छित फल पाइने श्रद्धालुहरुको विश्वास छ । “मैले ३५वर्षदेखि १८ किलोमीटरको दुरी घस्रदै माण्डवीगङ्गा, वरुणमति र स्वणर्मतिको त्रिवेणीबाट ल्याइएको जल शिवलिङ्गमा चढाउँदै आएको छु, यो दुरी पार गर्न मलाई चार दिन लाग्ने गरेको छ जिल्लाकै गौशाला-४ रजखोरका दण्डीबाबा उपनामले चिनिने अवकासप्राप्त शिक्षक ७२ वर्षीय वासुदेव महतो भन्नुहुन्छ, “यो भक्तिले म र मेरा परिवारमा कुनै रोगव्याधले आक्रान्त पार्न सकेको छैन, मेरो परिवार सुखी र सन्तुष्ट छ ।” प्राचीन यी नदीहरु , जसको मिथिला माहात्म्यमा वणर्न छ, माण्डवीगङ्गा , वरुणमति र स्वणर्मतिको नाउँ पूर्वपश्चिम राजमार्ग बन्नेबेला ठेकदारहरुले बिगारेर मडहा, बेलगाछी र सोनी बनाएका महतोले गुनासो गर्नुभयो । बर्दिबास नगर नेतृत्वले यी नदीहरुको शिवालयसँग अनुन्यास्रित सम्बन्ध रहेको हुँदा पहिलेकै नाउँ कायम गरीदिन आग्रह पनि गर्नुभयो ।

टुटेश्वरधाम मधेश र मुलुककै अन्य भेगका श्रद्धालुका लागि मात्र नभइ छिमेकको भारतका विभिन्न जिल्लाबाट बर्सेनि साउने मेलामा लाखौं श्रद्धालु यहाँ दर्शनका लागि आउने गरेका छन् । यति महत्वको स्थल भएर पनि बाटोघाटो, खानेपानी, शौचालय, सुरक्षा र सवारी पार्किङ्गको समुचित प्रबन्ध हुन नसक्नुले श्रद्धालुहरुले अप्ठ्यारो झेल्दै आएका छन् । यसपालिको साउने मेलाअघि यी पक्षमा ध्यान दिइन कार्यक्रमका सहभागी सर्वसाधारणले सम्बद्धपक्षको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा सहभागी महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक नकुल पोखरेलसहितले यसपालि साउने मेलामा सुरक्षा र ट्रफिक व्यवस्थापनको समुचित प्रबन्ध गरिने प्रतिबद्धता जनाउनुभयो । आफ्नो ठाउँमा विशिष्ट व्यक्तित्वको आगमन र यस ठाउँको विकासबारेको चासोले टुटेश्वरबासी अब आफ्नो ठाउँले सकारात्मक फड्को मार्ने आसमा छन् ।

२०८१ असार २४, सोमबार १९:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय