बर्दिबास (महोत्तरी), ६ कात्तिक ।

रोटरी क्लव अफ बर्दिबास र रोट्य्राक्ट बर्दिबासले यसपालिको विश्व पोलियो दिवसका अवसरमा मिनीम्याराथन प्रतियोगिता आयोजना गर्ने भएका छन् । आउने बिहीबार पर्ने २४ अक्टुवरमा मनाइने विश्व पोलियो दिवसका अवसरमा दुबै सामाजिक संस्थाले संयुक्त रुपमा मिनीम्याराथन प्रतियोगिता आयोजन गरिने आज बर्दिबासस्थित गौतम होटलमा सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

दिवसका अवसरमा पोलियोविरुद्ध सचेतनाका नारा उल्लेखित एकै प्रकृतिका भेस्ट र टोपी लगाएका १०० जना प्रतियोगितामा सहभागी हुने मिनीम्याराथन प्रतियोगिता व्यवस्थापन समितिका संयोजक सुमित्रा भट्टराईले जानकारी दिनुभयो । यस प्रतियोगितामा नौ किलोमीटर दुरीको मिनी म्याराथन गराइने कार्यक्रम तय भएको छ । सहभागीलाई भेस्ट र टोपी आयोजकले उपलब्ध गराउनसँगै प्रथम, द्वितीय र तृतिय हुनेलाई क्रमशः १० हजार एक, सात हजार एक र पाँच हजार एक नगद पुरस्कार दिइने संयोजक भट्टराईले स्पष्ट पार्नुभयो ।

प्राणघातक र कष्टदायक पोलियो रोगविरुद्ध सामाजिक जागरण अभिवृद्धिका उद्देश्यले मिनीम्याराथन प्रतियोगिता आयोजना गरिन लागिएको आयोजकको भनाइ छ । आउने बिहीबार बिहान बर्दिबासस्थित शिवपुराण महायज्ञस्थलमा मिनी म्याराथन प्रतियोगिताको भव्य उद्घाटन सम्पन्न गरिने जनाइएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक सहभागीले रोटरी क्लव अफ बर्दिबास र रोट्य्राक बर्दिबासको बर्दिबासस्थित कार्यालय वा सम्बद्ध पदाधिकारीसँग भोलि बुधबार साँझसम्म सम्पर्क गर्नसक्ने व्यवस्था छ । प्रतियोगिताको उद्घाटन सत्रमा सहभागी भइ पोलियोविरुद्ध ऐक्यबद्धता जनाउन आयोजकले सम्पूणर् बर्दिबास नगरबासीसँग अपिल गरेका छन् ।

यसैबीच बर्दिबासस्थित होटल गौतम, होटल विनायक र होटल गुञ्जले प्रतियोगिताका उत्कृष्ट (प्रथम, द्वितीय र तृतीय हुने) प्रतियोगीलाई सो दिन साँझ थप एक साथीसहित रात्रीभोज दिने घोषणा गरेका छन् ।

रोटरी क्लव अफ बर्दिबासका अध्यक्ष विष्णु पुरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्लवका पूर्वअध्यक्षहरु शम्भु भट्टराई, हिरालाल गौतम , विष्णु खड्का, कृष्णप्रसाद गौतमको उपस्थित थियो । यसैगरी कार्यक्रममा रोट्य्राक बर्दिबासका अध्यक्ष सुदर्शन काफ्लेसहित पूर्वअध्यक्षहरुको सहभागिता थियो ।

२०८१ कार्तिक ६, मंगलवार २०:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय