महोत्तरी, ५ साउन ।
मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा वामपन्थी नेता स्व. कालीचन्द्र साहको अन्तेष्टि सम्पन्न भएको छ । महोत्तरीको हालको पिपरा गाउँपालिकाको सहोडवा गाउँका बासिन्दा साहको उपचारका क्रममा शुक्रबार वीर अस्पताल काठमाण्डौंमा निधन भएपछि हिजै उहाँको पार्थिव शरीर पैत्रिक गाउँ ल्याइएर गएराती अन्तिम संस्कार गरिएको हो ।
साहको पार्थिव शरीर गाउँ पुर्‍याइँदा विभिन्न दलका नेता र सर्वसाधारणले पुष्पगुच्छा चढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । साहको पार्थिव शरीरमा नेकपा (एमाले) का केन्द्रीय सचिब रघुवीर महासेठ र जिल्ला अध्यक्ष वलिराम यादवसहितका नेताले पार्टी झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो ।
पछिल्लो समय कलेजोको सङ्क्रमणले अस्वस्थ रहँदै आउनु भएका ६० वर्षका हुनुहुन्थ्यो । किशोर वयदेखि नै मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएका साहले दुई पटक नेकपा (एमाले) को जिल्ला नेतृत्वको मुख्य जिम्मेवारी समाल्नु भएको थियो ।
एक पटक २०६० अघि जिल्ला सचिब र पछिल्लो पटक अध्यक्ष भएर साहले जिल्लामा पार्टीको नेतृत्व गर्नुभएको हो । नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेसनअघि जिल्लामा सचिब पद नै प्रमुख हुन्थ्यो । साह त्यस अवधिमै सचिब हुनुहुन्थ्यो । पछि २०७८ मा जिल्ला अध्यक्ष हुनु भएका साहले २०८० सम्म सो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । साह नेकपा (एमाले) को मधेश प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो । विक्रम सम्वत् २०३६ को ऐतिहासिक आन्दोलनबाट राजनीतितिर किशोरवयमै जोडिनु भएका साह २०४६ सालको पञ्चायतविरुद्धको जनआन्दोलनमा सरिक हुनुहुन्थ्यो ।
साहको निधनमा नेकपा (एमाले) महोत्तरीका अध्यक्ष वलिराम यादवले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ । यसैगरी नेपाली काँग्रेसका जिल्ला सभापति नागेश्वर यादवले जारी गर्नु भएको शोक विज्ञप्तिमा साह प्रजातान्त्रिक निष्ठामा अटल व्यक्ति रहनु भएको सम्झना गर्नु भएको छ ।
स्व. साहका पत्नी, दुई छोरा र एक छोरीसहित नातिनातिना छन् ।


२०८१ श्रावण ५, शनिबार १३:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय