
नेपालावाणी नेटवर्क
जनकपुरधाम, श्रावण ।
जानकी आँखा अस्पतालमा तालाबन्दी गरिएपछि दैनिक ५ सय विरामी सेवाबाट बञ्चित हुनुपरेको छ । नेपाल चिकित्सक संघ जनकपुर शाखाले नेपाल रेडक्रस सोसाईटीको श्री जानकी आँखा अस्पतालमा तालाबन्दी गरेपछि दैनिक पाँच सय विरामी सेवाबाट बञ्चित हुनुपरेको छ ।
नेपाल र भारतबाट दैनिक सयौंको संख्यामा आँखाको शल्यक्रिया देखि चेकजाँच गराउन आउने सेवाग्राहीहरु आँखाको उपचार नपाई फर्किनुपनरेको बाध्यता छ । नेपाल चिकित्सक संघ जनकपुर शाखाको आडमा केही गुण्डा बोलाएर अस्पताल जस्तो संवेदनशील स्थानमा तालबन्दी गर्नु घोर आपत्तिजनक भएको मानवअधिकारकर्मी विनोद महराको भनाई छ ।
उनले भने, ‘एक समूहले दिनरात काम गर्ने र अर्को समूहले काम गर्न नदिने वातावरण तयार गरिनु अनुपयुक्त हो । अस्पताल जस्तो मानवीय र संवेदनशील ठाउँमा आफ्नो स्वार्थ पूरा नभएपछि ताला लगाउनु निन्दीय र आपत्तिजनक विषय हो । त्यसैले मानवीय सेवाका कुनै पनि संघ वा संस्थामा तालाबन्दी हुनु हुदैन, भएपनि मानवीय सेवा प्रभावित हुनुहुदैन् ।’
जानकी आँखा अस्पतालले मधेश प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पु¥याएकोमा तालाबन्द पछि सेवा प्रभावित भएको छ । आँखा अस्पताल धेरै व्यक्तिको लागि सम्झिनलायक संस्था भएपनि केही व्यक्तिको व्यक्तिगत स्वार्थ सिद्ध गन लागेकोले तालाबन्दी गरिएको जानकी आँखा अस्पतालको प्रशासकीय अधिकृत दिपेन्द्र सिंहको भनाई छ ।
उनले भने, ‘आँखाका बिरामीका लागि केही सहयोग गर्ने उद्देश्यले आँखा शिविर, आँखासेवा जस्ता कार्यक्रमलाई संस्थागत स्वरुप दिन उपचार केन्द्रका रुपमा सेवा सञ्चालन गरिएकोमा कतिपयलाई पच्न सकेको छैन् ।’
तत्कालीन समयमा सामाजिक सेवामा समर्पित अगुवा मकेश्वर प्रसाद सिंह, बौएलाल साह, मेघप्रसाद उपाध्याय, जयवल्लभ दास, मदन गिरी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश राम नगिना सिंह, वरिष्ठ अधिवक्ता रामजीप्रसाद मैनाली लगायतको विशेष योगदानबाट बनेको आँखा अस्पतालले केही व्यक्तिले राजनीतिको अखडा बनाउन लागिपरेको बताए ।
उनले भने, ‘अस्पताल जस्तो स्थानमा सहयोग गर्नु कता हो कता राजनीतिको रोटी क्रिडास्थल बनाउन उद्यत देखिन्छ । जनकपुरधाममा नमूना स्वास्थ्य संस्थाको रुपमा एउटा जानकी आँखा अस्पताल पनि कतिपयको आँखाको कसिङ्गर बन्न लागेको छ, त्यसैले यहाँका असल आम नागरिक अगाडी आएर बचाउन जरुरी छ ।’
‘आँखा शिविरबाट आँखा उपचार केन्द्रमा रुपान्तरण भई सेवा सुरु गरेको अस्पताल हाल एकसय शैयामा सञ्चालित छ । अहिलेकै संरचना र शैयाले बिरामीको चाप धान्न मुस्किल भइरहेको छ’ यस्तो अवस्थामा आर्थिक रुपमा कमजोर, विपन्न नागरिकले पैसाकै अभावमा उपचार बिना फर्केर जानुनपर्ने अवस्था सुनिश्चित गरिएको छ ।’
गुण्डा लगाएर अराजकता मच्चायो
नेपाल चिकित्सक संघको आडमा गुण्डा लगाएर रेडक्रसका चिकित्सक तथा कर्मचारीमाथि अराजकता मच्चाएको कर्मचारी र चिकित्सकको आरोप छ । नेपाल रेडक्रस सोसाईटी श्री जानकी आँखा अस्पताल जनकपुरधाम डियूटीमा कार्यरत चिकित्सक तथा जिम्मेवार अधिकृत उपर भएको हातपात, धम्कीपूर्ण व्यवहार तथा गुण्डा लगाएर गरिएको तोडफोडको घटनाप्रति घोर भत्र्सना गरेको हो ।
नेपाल चिकित्सक संघको आडमा गुण्डागर्दी शैलीमा जानकी आँखा अस्पताल जस्तो पवित्र तथा संवेदनशिल स्थानमा सेवाग्राहीको सेवा तथा सुझाव दिईरहेको बेलामा अराजक मच्चाउनु दण्डहिनताको पराकाष्ठा हो । विगत ४० वर्ष देखि आँखा स्याहार जस्तो मानवीय सेवा पुर्याउँदै आएको जानकी आँखा अस्पतालमा एक अराजक समूहले मेडिकल सुपरिटेन्डेन्ट डा. आशिष बोहरा र प्रशासकीय अधिकृत दीपेन्द्र सिंहलाई हातपात गरी आक्रमण गर्नु घोर निन्दनीय रहेको कर्मचारीहरुको ठहर छ ।
नेपाल चिकित्सक संघको आडमा गुण्डा लगाएर चिकित्सक माथि अमानवीय व्यवहार, धम्की तथा कुटपिटको घटनाका साथै अस्पतालको ढोका र उपकरणहरुमा समेत तोडफोड गर्नु संवेदनाहिनताको पराकाष्ठा भएको जनाएको छ । अस्पताल भित्र प्रवेश गरी हातपात, धम्कीपूर्ण व्यवहार तथा गुण्डा लगाएर गरिएको तोडफोडको घटना अमानवीय र निन्दनीय भएको ठहर गर्दै यस्तो कार्यमा संलग्न सल्लाहकार र दवाव समूहलाई कारवाही गर्न माग गरेको छ ।