महोत्तरी, ११ साउन ।

महोत्तरीको बर्दिबास नगरपालिकाका बासिन्दाले अब सर्पदंशको निःशुल्क उपचार पाउने भएका छन् । बर्दिबास-३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा हुने उपचार पूणर् निःशुल्क हुने हिजो बिहीबार साँझ बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले घोषणा गर्नुभएको हो । यो घोषणाले बर्दिबास नगरक्षेत्रका ७५ हजार जनसङ्ख्या लाभान्वित हुने भएको छ ।

सर्पदंश कुनै रोग नभइ आकष्मिक घटना भएका हुँदा यस्तोबेला उपचारका लागि रकम खोज्न छटपटिने समयभित्र उपचार केन्द्रमा पुग्न सकिन्छ । यो अवस्था बुझेर अब सर्प डसाइको उपचार निशुल्क गरिएको बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीको भनाइ छ । “अब उपचारमा रकम अभावको छटपटी नहोस् भन्नका लागि उपचार व्यवस्था निशुल्क गरेका छौं, नगरक्षेत्रमा हुने सर्पदंशका घटनाका बिरामीको अब पूणर् निःशुल्क उपचार हुन्छ” नगरप्रमुख क्षत्री भन्नुहुन्छ,, “केन्द्रलाई सर्पदंशको उपचारका लागि विशेषज्ञ सुविधासहितको साधन सम्पन्न पनि बनाइने छ ।” केन्द्रलाई भवन अपूग देखिएको हुँदा थप दुई कोठे भवन तत्काल निर्माण थालिने प्रतिबद्धता पनि क्षत्रीले व्यक्त गर्नुभयो ।

महोत्तरीको बर्दिबास नगरक्षेत्र ‘सर्पको खानी’ का रुपमा चिनिन्छ । खासगरी करेत र गहुमन (गोमन, कोब्रा पनि भनिन्छ) जस्ता विषालु सर्पको बसेराले यो क्षेत्र सर्पदंशको अति प्रभावित क्षेत्र रहँदै आएको छ । सर्पले डसेपछि गरिनुपर्ने उपचारका पर्याप्त साधन नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई केन्द्र अन्यत्र साधन सम्पन्न अस्पतालमा पठाउने गरेको छ । यो अवस्था अन्त्यका लागि केन्द्रलाई साधन सम्पन्न बनाएर बिरामीको निशुल्क उपचारको व्यवस्था हुने घोषणाले नगरबासीले राहत महसुस गरेका छन् ।

सर्पको अत्यन्त बिगबिगी भएको यस ठाउँमा विक्रम सम्वत् २०७१ साल साउन ३१ गते सामाजिक पहलकदमीमा सर्पदंश उपचार केन्द्रको स्थापना भएको हो । केन्द्रमा सर्पदंशको उपचारमा दक्ष नेपाली सेनाका छ जनाको जनशक्तिले सेवा दिदै आएको छ । अब केन्द्रमा थप साधनसहित विशेषज्ञको समेत रेखदेखको प्रबन्ध गरिने र बिरामीको निःशुल्क उपचार हुने कुराले यस्तो घटनामा पर्ने नगरबासी लाभान्वित हुने सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटा बताउनुहुन्छ । बर्दिबास नगरक्षेत्रका ७५ हजार जनसङ्ख्या यो घोषणाबाट प्रत्यक्ष लाभान्वित हुने देवकोटाको भनाइ छ ।

केन्द्र स्थापनायता गत असार मसान्तसम्म ३० हजार ९३८ जनाले सर्पदंशको उपचार यहाँबाट लिएका छन् । जसमध्ये ३० हजार ८४७ जना २०८० चैत मसान्तसम्मका र ९१ जना २०८१ सुरु भएयताका रहेका उपचार केन्द्रको तथ्याङ्क अभिलेखमा उल्लेख छ । जारी साउनको हाल (आज मध्यान्हसम्म) ४५ जनाले उपचार लिएका केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो ।

नगरप्रमुखको पछिल्लो घोषणाअघि बर्दिबास-३ को वडाकार्यालयले आफ्ना वडाबासीका लागि निःशुल्क उपचारको प्रबन्ध गत असार प्रारम्भदेखि नै सुरु गरेको थियो । वडा कार्यालयले केन्द्रको मागअनुसार औषधी र सेवाशुल्कवापतको रकम दिदै आएपछि सो वडाका बासिन्दा लाभान्वित हुँदै आएका छन् ।

केन्द्रमा जिल्लाको बर्दिबास नगरक्षेत्रबाहेक गौशाला, भङ्गाहा, औरही, रामगोपालपुर, सोनमा र सीमा जोडिएका धनुषा, सर्लाही र सिन्धुली जिल्लाका स्थानीयतहका सर्पदंशका बिरामी उपचार सेवा लिन आउने गरेका छन् ।

२०८१ श्रावण ११, शुक्रबार २०:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय