महोत्तरी, १७ साउन ।
पस्रदै, उठ्दै फेरि पस्रदै । आफु पस्रदा (लम्पसार पर्दा) ओगटेको दुरी रेखाङ्कित गर्दै गन्तव्यतिर अघि बढ्दै । सबैको एउटै ध्येय शिव दर्शन । सबैको एउटै वाणि ‘बोल बम !’ महोत्तरीको चुरेक्षेत्र अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तले थालेका दण्डीयात्रा (पस्रेर अघि बढ्ने) को दोस्रो दिन आज ।
निर्जन वनक्षेत्रमा बोलबम गुञ्जदो छ । हिजो बुधबार यसपालिको साउने मेलाको दण्डी यात्रा (पस्रदै , लम्पसार पर्दै) सुरु गरेका श्रद्धालुले पहिलो दिन चार किलोमीटरको यात्रा तय गरी आज दोस्रो दिनको यात्रा जारी राखेका छन् । टुटेश्वरनाथ मन्दिरबाट १८ किलोमीटर दक्षिणको माण्डवीगङ्गा (मडहा), वरुणमति (बेलगाछी) र स्वणर्मति (सोनी) नदीको त्रिवेणी सङ्गमबाट श्रद्धालुले पवित्र जलपात्रमा जल भर्दै शिव दर्शनका लागि बुधबार पस्रदै यात्रा सुरु गरेका हुन् ।
अहिले बर्दिबास-५ को चुरे शृङ्खलाको पाहाडी थुम्कोमा अवस्थित टुटेश्वर मन्दिरलाई मधेशको कैलाश र नेपालको बाबाधाम पनि भनिन्छ । अनादिकालको यो शिवलिङ्गको दर्शनबाट सुख सन्तोस प्राप्त हुने विश्वासका आधारमा श्रद्धालुले पस्रदै यात्रा गर्ने चलन बसालेका ३४ वर्ष भएको छ ।
“मैले २०४८ सालको साउन १७ गते पहिलो पटक टुटेश्वर दर्शनका लागि दण्डीयात्रा (लम्पसार यात्रा) सुरु गरेको हुँ , यसपालिसमेत ३४ औं पटकको यो यात्रा हो” टुटेश्वरनाथको दर्शनका लागि पस्रदै गरिने यात्राबारे अनुभव सुनाउँदै गौशाला-४ रजखोरका ७२ वर्षीय अवकासप्राप्त शिक्षक वासुदेव महतो भन्नुहुन्छ, “यो यात्राले मलाई सधैं उर्जावान बनाइ राखेको छ ।” पहिलो वर्ष टोलकै मित्र ठगा साह र आपूmले सुरु गरेको लम्पसार यात्रामा यसपालि ३० भन्दा बढी श्रद्धालु सहभागी हुँदा खुशी लागेको उहाँको भनाइ छ । यसपालि साउने औंसीका दिन बिहान सभाप्रहर बित्नुपूर्वको माङ्गलिक बेलामा जल चढाउने तालिकासाथ यसपालिको दण्डीयात्रा थालिएको महतोले बताउनुभयो ।
त्रिवेणीमा ब्राह्मणको स्वस्तिवाचन पाठबीच यात्रा सङ्कल्प गरेर कम्मरमा जल झुण्ड्याइ पस्रदै अघि बढेका श्रद्धालु भक्तले पाँचौ दिन बिहान सभाप्रहर बित्नअघि टुटेश्वरनाथ शिवलिङ्गमा जल, बेलपत्र र जौ चढाएर दर्शन गर्ने तालिका बनाएका छन् । “हामी पाँचौ दिन बिहान भोलेबाबा (टुटेश्वरनाथ) को शरणमा पुग्छौं” यसपालिसमेत ११ औ पटक लम्पसार यात्रा थालेका गौशाला-८ भोर्लेनीका ३५ वर्षीय दिपु यादव भन्नुहुन्छ, “मेरा हातगोडा चल्दैनथे, त्यस्तो शारीरिक अवस्थाबीच मैले दण्डी (पस्रने) यात्रा थालेको थिएँ, टुटेश्वरनाथको कृपाले अब मज्जाले हिडडुल गर्नसक्ने भएको छु ।” यादवको प्रारम्भमा बोली लरबरिने समस्या पनि क्रमशः ठिक हुँदै गएको उहाँका छिमेकी बताउँछन् ।
शिव दर्शनका लागि कष्टकर तरिका रोजेका श्रद्धालु यो यात्राले शारीरिक कुनै कष्ट महसुस नगरिएको बताउँछन् । एकपटक लम्पसार पर्दा हातले जति दुरीमा रेखा खिच्न भ्याइन्छ , अर्को पटक त्यही रेखामा लम्पसार परेर यात्रा अघि बढाइन्छ । मिथिलामा बोलीचालीमा ‘दण्डी’ भनिने यस यात्राका श्रद्धालुलाई ‘दण्डीबम’ भनिन्छ । साउन महिनामा यो यात्राको शिवदर्शनबाट मनका क्लेश हराउने, मनका वैचारिक विकार मेटिने र आनन्दको महसुस हुने गरेको यसपालि १० औं पटकको दण्डी यात्रा थाल्नु भएका गौशाला-८ कुष्माढीका ४५ वर्षीय मायाराम साह बताउनुहुन्छ ।
“यो हठयोगी यात्रा हो, नाशवान शरीरलाई के दुःख के सुख ? शिव दर्शनको लालसाले कहिल्यै कष्ट अनुभव गरिएन” साह भन्नुहुन्छ । भगवान प्राप्तिका लागि जेसुकै गर्नसक्छु भन्ने मार्गका रुपमा साहले दण्डी यात्रालाई चितित गर्नुभयो । पवित्रग्रन्थ श्रीमद्भागवत गीतामा भगवान श्रीकृष्णले ज्ञानयोग, कर्मयोग र हठयोगको ज्ञान अर्जुनलाई दिनुभएको प्रसङ्ग कोट्याउँदै साह आपूmहरुको यात्रा शिवदर्शन अभिलाषाको ‘हठ’ रहेको बताउनुहुन्छ ।
शिव दर्शनका लागि पस्रने यो यात्रामा धेरैजसो भाकल गरेका भेटिएका छन् । “मैले शारीरिक कष्ट झेल्दै आएको थिएँ, एकपटक टुटेश्वरनाथ पुगेर प्रभु मलाई यो पीडाबाट छुटकारा दिनुहोस् भन्ने पुकारा गरें, नभन्दै मेरा शारीरिक समस्या हटे” यसपालि दोस्रो पटक यो यात्रामा रहनुभएका गौशाला-४ रजखोरकै ४० वर्षीय श्याम महतोले भन्नुभयो, “त्यही पुकाराको भाकल पुरा गर्न पोहोरसालबाट दण्डीयात्राबाट टुटेश्वरनाथको दर्शन गर्न थालेको हुँ ।”
दण्डीयात्रामा यसपालि नयाँ यात्रा थाल्ने पनि १० भन्दा बढी भेटिएका छन् । यो यात्राले शारीरिक कष्ट हटेर सुखशान्ति प्राप्त हुने विश्वासमा यसपालि यात्रा सुरु गरेको गौशाला-४ रजखोरकै ३५ वर्षीय रामजतन महतोको भनाइ छ । आजभन्दा ३४ वर्ष अगाडि सुरु भएको यो यात्रामा अहिलेसम्म हालको गौशाला नगरक्षेत्रकै विभिन्न बस्तीका श्रद्धालुको सहभागिता देखिएको छ ।
पौराणिककालमा राजा जनकका भाइ कुशध्वजकी छोरी माण्डवीले सखीहरुसहित स्नानक्रिडा गर्ने नदीलाई माण्डवीगङ्गा भनिएको यात्री बताउँछन् । “यो त्रिवेणीको स्नान सम्पूणर् पाप नासक छ” ३४ वर्षअघि दण्डीयात्रा थाल्ने वासुदेव महतो भन्नुहुन्छ, “पछि यी र यिनका सहायक नदीहरुको नाउँ बिगार्दै लगेछन् , अब बर्दिबास र गौशाला नगरपालिकाले यिनको पौराणिककालको नाउँ प्रचलनमा ल्याउन पर्छ ।” त्रिवेणी सङ्गमका माण्डवीगङ्गा, वरुणमती र स्वणर्मतीलाई ठेकदारहरुले राजमार्ग बन्ने बेलामा मडहा, बेलगाछी र सोनी नामाकरण गरीदिदा पौराणिक परिचय ओझलिदै गएको वासुदेवको गुनासो छ ।
त्रिवेणीबाट सुरु यो यात्राका दण्डीबम चार दिन बाटोमा रात्री विश्राम गर्नेछन् । जसमध्ये पहिलो दिन गौशाला -८ कै स्वणर्मती नदी किनारको शम्भुस्थानमा रात्री विश्राम गरेका यात्री आज दोस्रो दिन गौशाला-८ कै ढल्केवरमा रात्री विश्राम गर्नेछन् । तेस्रो दिन पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोक र चौथो दिन टुटेश्वर बस्तीको पुछारमा रात्री विश्राम गरिने दण्डी यात्रीको भनाइ छ । दर्शन गर्ने पाँचौ दिन बिहानलाई एक किलोमीटर दुरी राखिएको प्रथम यात्री वासुदेव बताउनुहुन्छ । साउन महिनाका सबैदिन शिव महिमायुक्त भएका हुँदा आपूmहरुले जल चढाउने दिन आइतबार परेको महतोको भनाइ छ । टुटेश्वरमा अहिले दिनहुँ दर्शनार्थी पुग्ने गरेका छन् । यद्यपि सोमबार विशेष मेला लाग्दै आएको छ ।
बाटोमा यात्रीका लागि विभिन्न दाताले भोजन, पानी, सर्वत, चिया र बसोबास प्रबन्धका सामान जुटाएका छन् । साउनको यो अलौकिक यात्रामा दाताहरुको सेवा र सहयोगभाव पनि आपूmहरुका लागि उर्जा हुने गरेको यात्रीहरुको भनाइ छ । पस्रदापस्रदै पसिनाले निथ्रुक्क भएका यात्रीलाई कति श्रद्धालुले शीतल जल जिउमा खन्याइ रहेका देखिन्छ । कोही शीतल सर्वत हातमा लिएर सेवाको अवसर पर्खेका देखिन्छन् । दिउँसो प्रचण्ड राप हुनेहुँदा यात्रीले प्रत्येक दिन पहिलो प्रहर (बिहान भाले बासेसँगै , अहिले बिहानको तीन बजेतिर) मै यात्रा गर्ने गरेका छन् । यात्रामा चियाखाजा खाने, भोजन गर्ने र रात्री विश्रामको निश्चित तालिकाभित्र आपूmहरुको यात्रा रहेको दण्डीबमले बताएका छन् ।
टुटेश्वरनाथसँग जोडिएका पौराणिककालका कैयौं किम्बदन्ती छन् । अघि द्वापर युगमा यो प्राचीन शिवालयमा वनबासका बेला अर्जुनले शिवजीको तपस्या गरी पाशुपतास्त्र प्राप्त गरेका ठाउँका रुपमा संस्कृतिविद्ले अथ्र्याउने गरेका छन् । “पाण्डव वनबासमा थिए, कौरवसँगको युद्ध जित्न उनीहरुलाई दिव्यास्त्र आवश्यकता थियो, अर्जुनले यसै प्रयोजनका लागि यहाँ घोर तपस्या गरेर शिवजीलाई प्रशन्न पारी पाशुपतास्त्र प्राप्त गरेका हुन्” प्राचीन संस्कृतिका अध्येता होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की भन्नुहुन्छ, “त्यतिखेर कुँदिएका पत्थर र अन्य कैयन यहाँ भेटिएका सामग्रीको अध्ययनबाट विद्वानहरुले यो निष्कर्ष बनाएका छन् ।” यसैगरी रामायणकालमा विदेहराज राजा जनकको कर्मभूमि, ज्ञानी ऋषिहरुको तपोभूमि र राजकन्याहरुको विहार गर्ने थलोका रुपमा यो ठाउँलाई चिनाउने गरिएको कार्की बताउनुहुन्छ ।
यसैगरी पछि आधुनिक कालमा विक्रम सम्वत् १८२४ मा नेपालसँग लड्न आएको कप्तान किनलक नेतृत्वको अङ्ग्रेज फौज सिन्धुलीगढीमा हारेर फर्कदा यहीं अरिगाँल र अन्य वन्यजीवले चिलेर हायलकायल भएका यस बस्ती (टुटेश्वर) का बुढापाका कथा सुनाउँछन् । किम्बदन्तीमा पौराणिक कथा जोडिएपनि यो ठाउँको सोधखोज भने निकै पछि विक्रम सम्वत् २००२ सालदेखि भएको पाइएको छ । विक्रम सम्वत् २००२ सालमा डिठ्ठा गौरीनारायण गिरीले वन फडानी गरी बस्ती बसाउने क्रममा यहाँ अति प्राचीन शिवलिङ्ग, पत्थर कुदिएर बनेको बसाहासहित पुरातात्विक महत्वका सामग्री फेला पारेका बर्दिबास-५ का वडाअध्यक्ष कहारमान स्याङ्वा बताउनुहुन्छ । त्यसयता विभिन्न समयमा श्रद्धालु भक्तजनको सरसहयोगबाट मन्दिर निर्माण भएको हो । शिवलिङ्ग, बसाहा र अन्य पुरातात्विक महत्वका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरुले महाभारतकालीन भनेका छन् ।
यो ठाउँबारे अब पर्यटकीय स्थलका रुपमा विकास गर्न केन्द्र र प्रदेश सरकारले तदारुखता लिएका छन् । यसपालि चालु आर्थिक वर्षमा सङ्घ र प्रदेश गरी एक करोडमाथि रकम विनियोजन भएको छ । विनियोजित रकम टुटेश्वरको विकासका लागि योजनाबद्ध काम थालिन सर्वप्रथम विस्तृत परियोजना प्रस्ताव तयार गर्ने र सोअनुसार यहाँ पूर्वाधार विकासका काम अघि बढाइने मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादव बताउनुहुन्छ ।
“टुटेश्वरस्थान अतिप्राचीन धार्मिक सम्पदा हो, यो हाम्रो पहिचान र समृद्धिको आधार पनि हो” यादव भन्नुहुन्छ, “अब यहाँ धार्मिक पर्यटन प्रबद्र्धनका क्षेत्रमा योजनाबद्ध काम अघि बढ्छन् ।” यस पूण्यभूमिको संरक्षण र सम्बद्र्धनमा सबैको एकजुटताका लागि मन्त्री यादवले अपिल पनि गर्नुभयो । सरकारको पछिल्लो तदारुखताले दण्डीबम र यसभेगका अन्य बासिन्दा अब आफ्नो ठाउँको विकासले फड्को मार्ने आश सँगाल्दैछन् ।