महोत्तरी, २० साउन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संसदीयदलका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको सरकार लोकतान्त्रिक पद्धतिको विशिष्ट अभ्यास भएको बताउनु भएको छ ।

महोत्तरीको बर्दिबासमा नेपाल प्रेस युनियनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता घिमिरेले मुलुकलाई राजनीतिक स्थिरता दिन संसदको मुख्य दल र दोस्रो ठूलो दलसम्मिलित सरकार बनेको उल्लेख गर्नुभयो । सामान्यतया बहुदलीय पद्धतिमा संसदको सबैभन्दा ठूलो दल र दोस्रो ठूलो दल सरकारमा र प्रतिपक्षमा हुने अभ्यास भएपनि यहाँ विशिष्ट जिम्मेवारी निर्वाहका लागि अहिलेको सरकार बनेको उहाँले स्पष्ट पार्नुभयो ।

“बहुदलीय पद्धतिमा झट्ट हेर्दा, बुझ्दा नौलोजस्तो त लाग्नसक्छ” नेता घिमिरेले भन्नुभयो, “तर संसदमा कुनै दलको स्पष्ट बहुमत नरहेको अहिलेको संसदमा पटकपटक गठबन्धन बन्ने र भत्कने क्रमले राजनीतिक स्थिरतामै प्रश्न उभिएपछि दुई मुख्य ठूला दलले संयुक्त सरकार बनाएका हुन् ।” अहिलेको सरकारको मुख्य कुरा नै आम जनतामा राजनीतिक स्थिरताको अनुभूति दिनु रहेको उहाँको भनाइ छ ।

यो सरकार बनेपछि मुलुकमा अब राजनीतिक स्थिरता बन्छ भन्ने सन्देश प्रवाह भएपछि आर्थिक गतिविधि सुधारात्मक दिशामा अघि बढेको उहाँले उल्लेख गर्नुभयो । “केही दिन पहिले मौद्रिक नीति सार्वजनिक भयो, त्यसले सकारात्मक प्रभाव पारेको अर्थविद् बताउँदैछन् , नेप्से परिसूचक पनि उत्साहजनक देखिदो छ” नेता घिमिरेले भन्नुभयो, “शासन, सत्ता पुग्ने भन्दापनि मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार बनेको हुँदा अब असफल हुने वा पछि पर्ने छुट यसलाई छैन ।” काँग्रेस एमालेसहितको यो गठबन्धन पूणर् अवधि टिक्ने घिमिरेले ठोकुवा नै गर्नुभयो ।
कार्यक्रममा पत्रकारहरुको नयाँ गठबन्धनले सम्बिधान संशोधनको सहमति गरेका कुरा छन् , के सम्बिधान संशोधन सम्भव छ ?भन्ने जिज्ञासामा नेता घिमिरेले संसद र राजनीतिक दलहरुबीचको सम्वाद र सहमतिले सम्बिधान संशोधन हुनसक्ने बताउनुभयो ।

“सम्बिधान कुनै ग्रन्थ वा कथा होइन , यो त मुलुकलाई निर्देशित गरीरहने गतिशील दस्तावेज हो, त्यसैले आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ” उहाँले भन्नुभयो । सम्बिधान संशोधन गणतन्त्रात्मक लोकतान्त्रिक पद्धतिलाई अझ मजवूत र समय सापेक्ष बनाउन गरिने घिमिरेको भनाइ छ । “विश्वका प्रजातान्त्रिक मुलुकहरुले सयौं पटक सम्बिधान संशोधन गरीसकेका छन्, हामीले पनि यसअघि यो सम्बिधानमा दुईपटक संशोधन गरीसकेका छौं” उहाँले भन्नुभयो, “अब पनि मुलुकको आवश्यकताका लागि दलहरुबीचको सहमतिबाट गरिन्छ ।” यो बन्द कोठामा दुई दलका प्रतिनिधिले साउती मारेर नगर्ने स्पष्ट पार्दै घिमिरेले संसदमा प्रतिनिधित्व भएका सबै दलसँग सघन सम्वाद त्यसपछिको सहमतिले हुने उल्लेख गर्नुभयो ।

अहिलेको सरकार भ्रष्टाचारका फाइल ढाकछोप गर्ने अभिप्रायले बनेको भन्ने टिप्पणी सुनिने गरिएको पत्रकारको जिज्ञासामा घिमिरेले भ्रष्टाचारका फाइल सरकारको लहड नभई निश्चित प्रकृयाबाट खोलिने, खोजिने र कार्वाही चलाइने स्पष्ट पार्नुभयो । “भ्रष्टाचारसम्बन्धी खोजविन गर्ने , कार्वाही चलाउने सम्बैधानिक निकाय छन् , ती निकायले कानुनअनुसार त्यसक्षेत्रमा काम गर्नेहुन् , सरकारले भ्रष्टाचारका फाइल खोल्यो र बन्द गर्‍यो भन्ने कुरा पूरै आधारहीन हुन्” घिमिरेले भन्नुभयो ।

त्यस्तै एक प्रसङ्गमा नेता घिमिरे बिआरआई ऋणको रुपमा स्वीकार्ने अहिले मुलुकको अवस्था नरहेको बताउँदै मित्रराष्ट्रको सदासयतापूणर् अनुदान सहयोगबाट यो गरिन सरकारले पहलकदमी लिएको स्पष्ट पार्नभयो । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोस सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवीप्रसाद तिमल्सिना, बर्दिबासका नगरप्रमुख र नेपाली काँग्रेसका स्थानीय नेताहरुको उपस्थिति थियो ।

२०८१ श्रावण २०, आईतवार २१:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय