महाेत्तरी : श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नयाँ पुस्ताका युवायुवतीलाई सीपयुक्त शिक्षामा जाेडिन अपिल गर्नुभएकाे छ । आज शनिबार मटिहानी-८ स्थित राम माध्यमिक विद्यालयका कक्षा-१२ का छात्राहरुलाई साइकल प्रदान गर्दै भण्डारीले अब मुलुककाे समृद्धि अभियान सफल पार्न सीपयुक्त शिक्षा अपरिहार्य बनेकाे उल्लेख गर्नुभयाे ।

मुलुककाे समृद्धि अबकाे मुख्य अर्जुनदृष्टि बनाइ अघि बढ्न सीपयुक्त जनशक्ति चाहिएकाे उहाँकाे भनाइ छ । शिक्षालाई सीपसँग सीपलाई श्रमसँग र श्रमलाई समृद्धिसँँग जाेड्न पर्नेे उहाँले जाेड दिनुभयाे । मुलुककाे आर्थिक विकासले मात्र समृद्धि हासिल गर्न सकिने हुँदा अबकाे पुस्ताले औपचारिक शिक्षाभन्दा प्राविधिक शिक्षामा जाेड दिन पर्ने मन्त्री भण्डारीकाे सल्लाह छ ।

वर्तमान सरकार यसैलाई मार्गचित्र बनाएर अघि बढेकाे उहाँले बताउनुभयाे । मुलुकमा यसअघिका सरकार स्थिर हुन नसक्दा आर्थिक गतिविधि बढ्न नसकेकाे अवस्था अब अन्त्य भएकाे भण्डारीकाे कथन छ ।

”अहिलेकाे सरकार बनेपछि अब राजनीतिक स्थायित्व हुने सन्देश प्रवाह भएकाे छ” उहाँले भन्नुभयाे, ”यससँगै आर्थिक गतिविधि बढेका छन् ।” प्रधानमन्त्रीले बराबर अहिलेकाे सरकारलाई असफल हुने छुट नरहेकाे बताइ रहनुभएकाे भण्डारीले उल्लेख गर्नुभयाे ।

मटिहानीमा उच्च शिक्षामा छाेरीकाे पहुँच बढाउन नगरपालिकाले २०७५ देखि नै कक्षा ११ का छात्रालाई साइकल प्रदानकाे कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरक्षेत्रमा कक्षा ११, १२ सञ्चालन हुने राम माध्यमिक विद्यालयका ४८७ जना छात्राले साइकल प्राप्त गरेका छन् । याे कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षकाे साइकल अलि ढिलाे गरी आज वितरण गरिएकाे हाे । गत वर्षकाे कक्षा ११ का छात्राले अहिले १२ कक्षामा पुगेपछि साइकल पाएका छन् ।

याे कार्यक्रम अब राजकीय संस्कृत माध्यमिक विद्यालयका ११ कक्षाका छात्रामा पनि लागु गरिने नगरप्रमुख हरिप्रसाद मण्डलले कार्यक्रममा घाेषणा गर्नुभयाे ।

साइकल पाएपछि आफूहरुलाई विद्यालय आउजाउमा निकै सहज भएको आज साइकल प्राप्त गरेकी हीना खातुनले बताउनुभयाे । आज ६२ जना छात्राले साइकल पाएका छन् ।

साइकल वितरण समाराेहमा श्रम , राेजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव मुकुन्दप्रसाद निराैला , वैदेशिक राेजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री र प्रधानमन्त्री राेजगार कार्यक्रमका डण्डुराज अधिकारीसहितकाे सहभागिता रह्याे ।

२०८१ भाद्र ८, शनिबार २१:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय