नेपालावाणी नेटवर्क / जनकपुरधाम

जनकपुरधाम उप–महानगरपालिकाकाले चारवटा साढेलाई अर्धचेत बनाएर फालेको घटना सार्वजनिक भएको छ । जनकपुरको नगर प्रहरीले साँढेलाई अचेतको सुई लगाएर खोलामा फालेको घटना सार्वजनिक भएको हो । रातको समयमा शहरी क्षेत्रका साँढेलाई नियन्त्रणमा लिएर नगर प्रहरीले उप–महानगर बाहिरका खोलामा फाल्ने गरिएको रहस्योद्घाटन भएको हो ।

साँढेलाई नियन्त्रणमा लिएर बेहोस हुने सुई लगाउने र टिपरमा राखेर खोल्सामा फाल्ने गरिएको छ । आइतबार र सोमवार बिहान धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित बसही खोला र महोत्तरीको गौशाला–सम्सी सडक खण्डको किनारमा दुई÷दुई वटा घाइते र दुई मृत अवस्थमा साँढे फेला परेको छ ।

जनकपुरधामका स्थानीय प्रत्यक्षदर्शीले साँढे लोड गरिरहेको अवस्थामा नगर प्रहरीलाई देखेका थिए । जनकपुरधाममा लोड गरिँदै गरेको र नक्टाझिझमा फेला परेका साँढे एकै रहेको सिसिटिभी फुटेजमा देखिएको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय महेन्द्रनगर र मिथिला नगरपालिकाको पशु विकास शाखालाई तीन वटा साँढे रहेको भन्दै खबर गरेका थिए । पशु विकास शाखाका चिकित्सकले अचेत साँढेको उपचार गरेका थिए ।


‘मरिसकेको साँढेको आँखा फुटाइएको पाइएको छ, जिउभरी चोट र डाम देखिन्छ,’ प्रत्यक्षदर्शी विनोद महतोले भने । शुक्रबार क्षिरेश्वरनाथ नगरपालिका वडा ७ स्थित जलाद खोलामा अचेत अवस्थामा दुइटा साँढे फेला परेको थियो । त्यो साँढे पनि जनकपुरबाटै टिपरमा लगेर फालेको हुन सक्ने स्थानीय र प्रहरीको आशंका छ ।

यसैगरी सोमबार पनि महोत्तरीको गौशाला सम्सी सडक खण्डस्थित गौशाला नगरपालिका १ रामनगरको जंगलको सडक छेउमा अन्यत्रबाट ल्याइ छाडिएको दुई साँढे फेला परेको छ। तीमध्ये एउटाको मृत्यु भइसकेको पाइएको स्थानीय सुरेश महतोले जानकारी दिए ।

२०८१ भाद्र १०, सोमबार १५:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय