
नेपालावाणी नेटवर्क
जनकपुरधाम, भदौं ।
महिला अधिकारको सुनिश्चितता, आर्थिक साधन श्रोत र र शिक्षामा पहुँच विस्तारको मुख्य लक्ष्य राखेर धनुषा जिल्लामा महिला अधिकार मञ्च जिल्ला सञ्जाल गठन भएको छ । धनुषा जिल्लाका १८ पालिकाको स्थानीय तहमा पालिका स्तरीय महिला अधिकार मञ्चको भेलाले जिल्ला महिला अधिकार मञ्चको गठन गरिएको छ । पालिका स्तरीय महिला अधिकार मञ्चका प्रतिनिधिहरुको भेलाले जिल्ला २० सदस्यीय सञ्जालको गठन गरेको हो ।
जिल्ला सञ्जालका अध्यक्षमा फुलकुमारी महतो, उपाध्यक्ष रेणु पंजियार, सचिव रेमनी यादव र कोषाध्यक्षमा बविता ठाकुर चयन भएका छन् । यसैगरी, सदस्यहरुमा मञ्जु कुमारी यादव, रुपादेवी साह, धनमन्ती प्रधान, लक्ष्मी कुमारी महतो, सीता साह, रेखा मण्डल, मञ्चबाटिका कुमारी महतो, दीपा ढुंगेल, कुसुम देवी माली, सुमन यादव, रिंकी देवी मण्डल, चाँदनी देवी मण्डल, उर्मिला देवी मण्डल, रञ्जु कुमारी पासवान र बविता कुमारी पासवान रहेको छ ।
पालिकास्तरीय महिला अधिकार मञ्चले जिल्ला स्तरीय महिला अधिकार मञ्चमा सदस्यका रुपमा प्रतिनिधि पठाउने व्यवस्था अनुसार जिल्ला अधिकार मञ्च गठन गरिएको हो । जिल्ला सञ्जालका पदाधिकारी तथा सदस्यहरुलाई विकास साझेदार निकाय द एशिया फाउण्डेसन जनकपुरका कार्यक्रम प्रवन्धक रोशन कुमार झाले टिका लगाएर बधाइ ज्ञापन गरे । महिला अधिकार अभियानलाई सशक्त बनाउन जिल्ला सञ्जालको नेतृत्वदायी भूमिका हुने विश्वास व्यक्त गरे ।
भेलाको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले महिलाको सशक्तीकरण र बाल अधिकारको प्रत्याभूति वीना साँचो अर्थमा सामाजिक विकास हुन नसक्ने बताए । “महिला अधिकारको क्षेत्रमा कानुनको अभाव छैन, कानून कार्यान्वयनको पाटो फितलो छ ।” उनले कानुनको कार्यान्वयनका लागि व्यापक रुपमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिदै महिला अधिकार मञ्चले नेतृत्व लिनुपर्ने बताए ।
जिल्ला समन्वय समिति धनुषाका उप–प्रमुख संगीता देवी ठाकुरले अधिकार प्राप्तिका लागि महिलाको सशक्तीकरणका साथै प्रभावितहरु संगठित हुनुपर्नेमा जोड दिइन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले हिंसा, दाइजो लगायतका कुप्रथा अन्त्यका लागि विद्यालय र समुदाय तहबाट सशक्तीकरण र सचेतीकरण अभियान सञ्चालन गर्नुपर्ने बताए ।
द एशिया फाउण्डेसन जनकपुरका कार्यक्रम प्रवन्धक रोशन कुमार झाले महिला अधिकार मञ्चको सशक्तीकरण, संस्थागत विकास र पैरवी अभियानमा विकास साझेदारको सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का मधेश प्रदेश प्रमुख राजु पासवानले हिंसाका घटनाको विश्लेषण गर्दा महिला अधिकारको अवस्था निकै नाजुक भएको बताए । धनुषाका वैतनिक वकिल अधिवक्ता राहुल झाले आर्थिक अधिकार र शिक्षामा पहुँच नहुँदासम्म महिला सशक्तीकरण हुन नसक्ने बताए । आफूले महिला, दलित, विपन्न र अशक्तहरुको मुद्दा सरकारको तर्फबाट नै लड्ने भएकोले जानकारी समुदायसम्म पु¥याउन आग्रह गरे ।
कार्यक्रममा समाज उत्थान युवा केन्द्रका कार्यकारी निर्देशक सुजित कुमार मण्डलले संस्था र परियोजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए भने कार्यक्रमको उद्धद्दश्यबारे कार्यक्रम अधिकृत रञ्जिता कुमारी पूर्वेले प्रकाश पारेकी थिइन् । ज्येष्ठ प्रतिनिधि कुसुमदेवी मालीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक प्रियंका ठाकुरले गरेकी थिइन् ।