नेपालवाणी नेटवर्क
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले अर्को वर्षदेखि एमबिबिएसको अध्ययन अध्यापन सुरु गर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेसंगै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक वर्ष २०८१÷२०८२ देखि अध्ययन अध्यापन हुने बाटो खुलेको हो ।
मधेशमा पहिलो पटक सरकारी स्तरबाट एमबीबीएस कक्षा सञ्चालनको अनुमति पाएको विश्वविद्यालयले अर्को वर्षबाट विद्यार्थी भर्ना लिएर अध्यापन सुरु गराउने भएको हो । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ संचालनको लागि आवश्यक तयारी पूरा गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मधेश प्रदेशमा पहिलो पटक सरकारी स्तरबाट चिकित्साशास्त्र तर्फ ५० सिट उच्च शिक्षाको लागि सुनिश्चित गरेको रजिष्ट्रार डा. विनोद कुमार यादवले जानकारी दिए ।
प्रतिष्ठानलाई प्राप्त ५० सिट मध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउने भएको प्रतिष्ठानका रजिष्टार डा. विनोद कुमार यादवले अन्नपूर्णलाई जानकारी दिए । उनले भने, ‘जसमा मधेश प्रदेशका बहुसँख्यक विद्यार्थीले अवसर पाउने र मधेश प्रदेशका लागि कोसेढुङ्गा सावित हुने विश्वास गरेका छौं ।’
‘एमबीबीएस पढाइ संचालन गर्ने कुरा धेरै महत्वपूर्ण कुरा हो । सिङ्गो मधेश प्रदेशका लागि सरकारी स्तरबाट एमबिबिएसको पढाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा सावित हुनेछ, उपकूलपति डा. अंकुर साहले भने, ‘प्रतिष्ठानले करिब ४ बर्षपछि एमबीबीएस पठन–पाठनका लागि आयोगबाट अनुमति पाएको हो ।’
तत्कालिन मुख्यमन्त्री मो. लालबाबु राउतले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न पहल भइएरहेको थियो । तर आवश्यक भौतिक पूर्वाधार तथा मापदण्डको आधारमा ४ वर्षपछि मात्र एमबिबिएसको अनुमति प्राप्त गरेको हो ।
प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधाम लगायत मधेश प्रदेशको स्वास्थ्य सेवामा समेत गुणात्मक सुधार आउने प्रादेशिक अस्पताल जनकपुरधामका उप–निर्देशक डा. कृष्णचन्द्र दास (केडि दास) बताउँछन् ।
मधेश मुख्यमन्त्री एवम् प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले प्रतिष्ठानमा एमबिबिएसको अध्ययन–अध्यापन आरम्भ हुनु प्रदेशको गौरवको विषय भएको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा समेत प्रतिष्ठानको लागि उच्च प्राथमिकतामा राखेर श्रोत सुनिश्चितता, थप पूर्वाधार सम्बन्धी निर्णयहरु गरेको बताए ।
यस्तै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले चिकित्साशास्त्रमा एमबिबिएस तहको जनशक्ति उत्पादन हुने थलोको रुपमा विकसित हुँदा जनकपुरधाम लगायत यस क्षेत्र प्रदेशबासिका लागि शिक्षाको हब बन्नेमा विश्वास व्यक्त गरे । सभामुख मण्डलले भने, ‘एमबिबिएस अध्ययन–अध्ययापन तथा पठनपाठन सुरु गराउन आवश्यक तयारी गरेकोमा मुख्यमन्त्री सतिष सिंह सहित प्रतिष्ठानका उप–कुलपति डा. अंकुर साह, रजिष्ट्रार डा. विनोद यादव लगायतलाई बधाई ।’