बर्दिबास, २५ भदौ ।
बर्दिबास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/०८२ मा २६ करोड कारोबारको लक्ष लिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा २२ करोड २० लाख ५५ हजार ६६७ को कूल कारोबार गरेको संस्थाले आज मङ्गलबार सम्पन्न १३ औं साधारणसभाबाट चालु आव २०८१/०८२ मा झण्डै चार करोड बढीको कूल कारोबारको लक्ष लिएको हो ।
सहकारी कारोबारमा मधेशमै उत्कृष्ट दरिएको यो संस्थाको गत आव २०८०/०८१ मा स्थिर सम्पत्ति ७७ लाख ९२ हजार ५४६ रहेको साधारणसभामा कोषाध्यक्ष सन्तोसकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा चालु आवमा यो ९२ लाख पुर्याउने संस्थाको लक्ष छ । संस्थाले गत आव २०८०/०८१ मा खुद नाफा २० लाख ४४ हजार ३०८ गरेको प्रतिवेदनमा उल्लेख छ ।
विक्रम सम्वत् २०६७ सालको अन्त्यतिर दर्ता भइ २०६८ साल जेठ १ गतेबाट संस्थागत रुपमा विधिवत कारोबार सुरु गरेको यो सहकारीमा हाल तीन हजार ५४४ सदस्य छन् । चालु आवको प्रारम्भमा संस्थामा शेयर रकम दुई करोड ३९ लाख २९ हजार २०० रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी कूल लगानीमा रहेको ऋण १६ करोड ९७ लाख रहेको छ ।
संस्थाले बर्सेनि सामाजिक कृयाकलाप गर्दै आएको छ । यिनमा चार जना सेयर सदस्यका सन्तानलानलाई अध्ययन छात्रवृति र जेष्ठ सदस्य सम्मानजस्ता रचनात्मक कृयाकलाप छन् । संस्थाको १३ औं साधारणसभामा छात्रवृति प्रदान र जेष्ठ सेयर सदस्य सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्थाले उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋणी , उत्कृष्ट बाल बचतकर्ता र उत्कृष्ट कर्मचारीलाई पनि सम्मानित गरेको छ । बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षत्रीले उद्घाटन गर्नु भएको १३ औं सधारणसभाले संस्थाका सचिब भवनाथ खतिवडा र कोषध्यक्ष सन्तोसकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको प्रबन्धक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । साधारणसभा संस्थाका अध्यक्ष शङ्करकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।