नेपाली जनताको लामो संघर्ष र बलिदानपछि नौं वर्षअघि आजकै दिन जननिर्वाचित दोश्रो संविधानसभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न हामीले संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा समेत मनाइरहेका छौं । संविधान दिवसको यस सुखद् अवसरमा देश र देशबाहिर रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । संविधान निर्माण प्रक्रियामा योगदान गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछु ।
संविधान जारी भएको विशेष दिनमा जनयुद्ध, जनआन्दोलन तथा मधेश आन्दोलन विभिन्न कालखण्डमा भएका संघर्षमा जीवन अर्पण गर्नुहुने महान् शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते, अपाङ्ग एवम् बेपत्ता पारिनुभएका योद्धाहरुलाई उच्च सम्मान व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । साथै मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि भएका आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरुप्रति सम्मान व्यक्त गर्दछु ।
वर्तमान संविधानले सामन्ती, निरङ्कुशता र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित गरी जनता राज्य शक्तिको श्रोत भएको छ । जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न पछि अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । साथै संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र श्रोतको बाँडफाँट गर्दै संघीय प्रणालीलाई संस्थागत गर्न जारी प्रयासको म सराहना गर्दछु ।
संविधान जारीपछि संघीय संसद र ७ वटै प्रदेशको दोश्रो कार्यकाल आधा समय पूरा भएको छ । संविधानको अभ्यासकै क्रममा स्थानीय तहहरुले आफ्नो दोश्रो कार्यकालको आधा भन्दा बढी समय पूरा गरेको छ । यस अवधिमा संविधान रक्षाका लागि अनेक पहल र लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु पनि भएको छ । संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यतालाई समेटदै भएका कमीकमजोरी सच्याएर आगामी दिनमा हुने थप अभ्यासबाट संविधान समृद्ध हुँदै जाने विश्वास छ ।
संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान छ । अन्त्यमा, संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह गर्दछु । यस दिवसले राष्ट्रिय एकता कायम गर्न र संविधानको निष्ठापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु । अन्तयमा, संविधानको कार्यान्वयन मार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकौं भनी संविधान दिवस २०८१ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मा. सभामुख रामचन्द्र मण्डल
मधेश प्रदेशसभा