
काठमाडौँ : एक साताभित्रै दुई पटक भारतीय हवाई सेवा कम्पनीका विमानमा ‘बम भएको हल्ला’का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । कात्तिक ६ मा दिल्लीबाट आइरहेको भिस्तारा एयरको जहाज र सोमबार दिल्ली फर्कन यात्रु बोर्डिङ गर्दै गरेको एयर इन्डियाको जहाजमा अज्ञात समूहबाट ‘बम रहेको धम्की’ आएको थियो ।
‘विमानमा बम रहेको धम्कीपूर्ण सूचनाले हामीलाई झस्क्याएको छ,’ काठमाडौं विमानस्थल सुरक्षा प्रमुख एसएसपी डम्बरबहादुर विकले भने, ‘मंगलबारदेखि भारतीय उडानका यात्रुलाई बेग्लै राखेर थप कडाइका साथ सुरक्षा जाँच गर्ने भएका छौं ।’ उनका अनुसार विमानस्थल व्यवस्थापन र सुरक्षा समितिले भारतको दिल्ली, मुम्बईलगायतका सहरमा उडान गर्ने वायुसेवा, कार्गोलगायतलाई पनि कडाइका साथ सुरक्षा निगरानी गर्ने निर्णयसमेत गरेको छ ।
दिल्लीबाट ४१ नेपालीसहित १ सय ३७ यात्रु लिएर सोमबार काठमाडौं आएको एयर इन्डियाको एयरबस ए ३२० जहाज दिउँसो साढे ३ बजे ५५ नेपालीसहित १ सय ६८ यात्रु लिएर दिल्ली फर्कने तयारीमा थियो । त्यहीबीचमा एयर इन्डियाका कर्मचारीलाई अज्ञात समूहले विमानमा बम रहेको ‘होक्स कल’ गर्यो । ‘आधा यात्रु राखिसकेपछि दिउँसो ३ बजे विमानमा बम राखिएको सूचना दिल्ली हुँदै काठमाडौं विमानस्थलमा पुगेको थियो,’ एसएसपी विकले भने, ‘त्यसपछि बोर्डिङ भइसकेका यात्रुलाई ओरालेर सुरक्षा प्रोटोकलअनुसार जहाज नेपाली सेना र प्रहरीको नियन्त्रणमा लिई यात्रु, कार्गो, जहाज, क्याटरिङ, चालकदलका सबै सदस्य, उनीहरूका लगेजलाई खानतलासी र जाँच थाल्यौं ।’
झन्डै तीन घण्टाको जाँच सकिएपछि उक्त जहाजलाई सेना, प्रहरी र विमानस्थल कार्यालयका गरी तीन प्रतिनिधिले अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले जारी गरेको सुरक्षा जाँच प्रोटोकलअनुसार चालकदलको जिम्मा लगाएका थिए । ‘सुरक्षा निकायले जहाज ठीक छ, उडानयोग्य छ भनी लिखित कागजात गरेपछि छुट्टै राखिएका यात्रुलाई पुनः जहाजमा राखेर साँझ साढे ६ बजे
एयर इन्डियाको जहाज दिल्ली फर्केको थियो,’ एसएसपी विकले कान्तिपुरसँग भने ।
विमानमा बम रहे/नरहेको जाँच गर्न विमानस्थलका कर्मचारी र सुरक्षाकर्मीसहित २ सय जना परिचालन भएका थिए । त्यस्तै सेना र प्रहरीले बमसम्बन्धी तालिम दिएका १२ वटा कुकुर पनि परिचालन
गरेको थियो । कुनै पनि वायुसेवामा बम राखिएको धम्की प्राप्त हुनासाथ आकाशमा रहेको विमानले गन्तव्यमा पर्ने नजिकैको विमानस्थलमा अवतरण भइसक्नुपर्छ । विमानस्थलमा अवतरण भइसकेको जहाजलाई बेग्लै क्षेत्र (रिमोट पार्किङ) मा लगेर जाँच गरिन्छ ।
यात्रु राख्दाराख्दै बम राखिएको सूचना सार्वजनिक भएपछि छेउमै राखिएको हिमालय एयरलाइन्सको जहाजलाई अन्यत्र सारिएको थियो । काठमाडौं विमानस्थलका अनुसार, एयर इन्डियाको उडानमा प्वाइन्ट–टु–प्वाइन्ट (एक गन्तव्यबाट अर्को गन्तव्यसम्म मात्र) जाने यात्रु नभई तेस्रो मुलुक जानुपर्ने ट्रान्जिट यात्रु पनि थिए । सुरक्षा जाँचका कारण उडान ढिलो हुँदा १ सय ६८ यात्रुमध्ये कतिलाई अरू विमानमा सारियो । ट्रान्जिट जहाज छुट्ने यात्रुलाई कसरी व्यवस्थापन गर्नेबारे एयर इन्डियाको नेपाल हेर्ने तरुण कलौडियालाई सोध्दा जवाफ दिएनन् ।
यसअघि भिस्तारा काठमाडौंमा अवतरण नहुँदै बमको सूचना आएपछि पार्किङ वेमा पुगिसकेको विमानमा रहेका १ सय ४७ यात्रुलाई एयरसाइडमै राखेर खानतलासी गरिएको थियो । साँझ ५ बजे फर्किनुपर्ने विमान राति साढे ८ बजे सुरक्षा जाँच सकिएपछि मात्र उडेको थियो । उडान ढिलो हुँदा उक्त विमानबाट तेस्रो मुलुक जानुपर्ने यात्रुले ट्रान्जिट उडान छुटाएका थिए । आउने यात्रुले अनावश्यक हैरानी व्यहोर्नुपरेको थियो भने भारतीय दूतावासका कर्मचारी बताउने साधारण राहदानीमा आएका एक दम्पती यात्रुले सुरक्षाकर्मीमाथि हातपात गरेका थिए ।
नेपालमा भारतीय वायुसेवा एयर इन्डिया, भिस्तारा र इन्डिगोले दिल्ली, मुम्बई, कोलकाताबाट उडान गर्दै आइरहेका छन् भने नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं दैनिक उडान गर्छ । त्यस्तै बुद्ध एयरले भारतको बनारस उडान गर्दै आइरहेको छ ।