गोविन्द महतो / जनकपुरधाम

समयमै उखुको भुक्तानी र चलानी पुर्जी नपाउँदा महोत्तरीका किसानहरु उखु पेलेर सख्खर बनाउन लागि परेका छन् । छठ पर्वको बेला मिठा (सख्खर) बाट बनाईएको परिकार मात्र प्रसादको रुपमा चढाईने भएकाले माग बढेपछि उखु किसानहरु सख्खर बनाउन लागि परेका हुन् । छठ पर्वको एक महिना अगावै देखि बजारमा मिठ्ठाको मांग र भाउँ बढेसंगै उखु उत्पादक किसान सख्खर बनाएर बेच्ने चटारो लागेको छ ।


छठको आवगमनसंगै उखुबाट सख्खर बनाई बिक्री गर्न किसानलाई भ्याई–नभ्याई छ । स्थानीय जातको उखुबाट घरेलु प्रविधिमा बनाइने सख्खरको बढ्दो लोकप्रियताले स्थानीयलाई माग धान्न समेत मुस्किल पर्ने गरेको महोत्तरी गौशाला नगरपालिका ४ सुर्तिविकास चोकका मिठा उत्पादक सुरेन्द्र साह बताउँछन् । उनले भने, ‘छठमा घर–घरमा मिठा (सख्खर) को आवश्यकता पर्छ । त्यसैले वर्षकै सबैभन्दा उच्च माग र भाउँ पनि यही बेला हुन्छ, त्यसैले पछिल्लो वर्षहरुमा किसानहरु मिठ्ठा बनाउने आकर्षित हुदैछ ।’


छठमा सख्खरको खिर, ठेकुवा, भुसुवा, लगायतका सामगंीहरु उखुको सख्खरबाटै बनाउने गरिएका कारण स्वभाविक रुपमै माग बढ्ने गरेको गौशाला नगरपालिका ११ कालिपुरका किसान रामकिशोर महतो बताउँछन् । उनले भने, ‘कार्तिक मंसिरमा उखु काटेर थप एउटा बाली उब्जाउने र मिठाले समेत राम्रो मुल्य नगदे आम्दानी हुनेभएपछि उत्पादन गरी बिक्री गर्न उखु किसानलाई भ्याई–नभ्याइ हुन्छ । उखु उत्पादन गरेर काट्ने बेलामा चिनि मिलले न उखु काट्ने पुर्जी दिन्छ, न त समयमै उखुको भुक्तानी दिन्छ, त्यही भएर वर्ष उखु पेलेर सख्खर बनाएर बेच्न थालेको छु ।’


महोत्तरीको गौशाला, बर्दिबास, भङ्गाहा, औरही, सोनमा सहितका क्षेत्रमा अहिले घर–घरै तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन् । अन्य दिनमा पनि मिठाको माग हुन्छ, तर छठमा मिठ्ठाको माग झण्डै ९० प्रतिशतले बढछ, त्यसैले आफ्नो प्रायेजनको लागि र तत्काल विक्रि गरी सुलभ रुपमा नगद विक्रि हुँदा उखु पेल्न थालिएको हो । गौशाला नगरपालिका ४ का किसान देबनारायण साहले भने, ‘चिनी मिलको ठेगान हुँदैन, समयमा भुक्तानी दिदैन, त्यसैले अन्य भौतारिनु भन्दा त नगदी र सरल सुलभताका लागि उखु धमाधम उखु पेल्दै छौं ।’

महोत्तरीको सबैभन्दा बढी उखु उत्पादन हुने गौशालामा समेत उखु धमाधमले पेल्ने कार्य जारी छ । छठको मुखमै पर्वअघि मिठ्ठा बजार सम्म पु¥याउन सकिए अपेक्षित मूल्य पाइने किसान राजकिशोर महतो बताउँछन् । छठलाई केन्द्रित गरी बनाइएको मिठ्ठा (सक्खर) राम्रो मूल्यमा बिक्ने हुनाले उखु पेल्ने चटारो भएको महतोको भनाई छ ।


अहिले १ क्विन्टल सख्खर बनाउन झण्डै ८ देखि १० क्विन्टल उखु चाहिन्छ । यसरी उखुको जात अनुसार उखुको तौलमा घटबढ हुने तथा उखु कलिलो भएका कारण बढी उखु लाग्ने गरेको सख्खर कारिगर मो. जुमराती अन्सारी बताउँछन् । उनले भने, ‘९ क्विन्टल छिप्पीएको उखुमा एक क्विन्टल मिठा (सख्खर) तयार हुन्छ, तर अहिले उखु कलिलो भएर झण्डै १० क्विन्टलमा १ क्विन्टल मिठा तयार हुन्छ ।’

सामान्य रुपमा झण्डै ८० रुपैयाँको हाराहारीमा खुद्रा विक्रि हुने सख्खर अहिले छठमा झण्डै १०० देखि १ सय २५ रुपैयाँ सम्ममा विक्रि वितरण हुने गरेको छ ।

२०८१ कार्तिक २१, बुधबार ११:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय