गौशाला (महोत्तरी) : महिला क्रिकेटर पूजा महतोको सफलताप्रति मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुशी व्यक्त गर्नुभएको छ । आज बिहीबार आफ्ना प्रेस सल्लाहकारलाई पूजाको घर पठाएर मुख्यमन्त्री सिंहले परिवारजनबीच आफ्नो खुशीको सन्देश पुर्याउनुभएको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्ण पूजाको महोत्तरी जिल्लाको गौशाला-९ डुमरवानास्थित घरमै पुगेर मुख्यमन्त्रीको सन्देश पुर्याउनुभयो ।
“हामी पूजा नेतृत्वको महिला क्रिकेटर टोलीको सफलतामा अत्यन्त खुशी छौं, मधेशकी छोरीले नेपालको शान बढाउनु भएको छ, मधेश सरकार पूजामार्फत यो टिमप्रति उच्च सम्मान व्यक्त गर्दछ” पूजाका घर र डुमरवाना बस्तीका सर्वसाधारणबीच मुख्यमन्त्रीको सन्देश सुनाउँदै कणर्ले भन्नुभयो, “मधेश सरकार खेलकुदको व्यवस्थित विकासका लागि योजनाबद्ध रुपले लाग्ने विश्वास दिलाउँछु ।”
अण्डर-१९ (नाइन्टिन) टी-ट्वान्टी विश्वकप प्रतियोगितामा नेपालको सहभागिता पक्का बनाउने पूजा नेतृत्वको टीमलाई औपचारिक रुपमै सम्मान गरिने मुख्यमन्त्रीको सन्देशमा उल्लेख छ । मुख्यमन्त्रीका प्रतिनिधि कणर्ले पूजाका घरकापरिवारजनलाई दोसल्ला ओढाइ सम्मान व्यक्त गर्नुभयो ।
मुख्यमन्त्रीका दूतका रुपमा पूजाको घर पुग्नुभएका कणर्ले मुख्यमन्त्रीका तर्फबाट उहाँका पिता रञ्जित महतो, आमा रीता महतो, बाजे रामदेव महतो, बज्यै रामसखी महतो र काका रामबाबुसहितका परिवारजनलाई पूजाको सफलतामा बधाई ज्ञापन गर्नुभयो । कणर्सहितको मुख्यमन्त्रीले पठाउनु भएको टोली घरपुग्दा कामविशेषले बाहिर रहनु भएका पूजाका पिताले सामाजिक सञ्जालबाट भिडियोकल गरेर मुख्यमन्त्रीज्यूको सम्झना र चासोप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
“सन्तानको सफलतामा बाबु खुशी हुनु त सामान्य नै हो, यो भन्दा बढी उ (पूजा) अब देशकै छोरी बनेकी छ, म उसको सफलतालाई सैल्युट गर्छु” भावुक हुँदै रञ्जितले भन्नुभयो ।
रञ्जितका तीन छोरीमध्ये पूजा माहिली हुन् । सबैभन्दा कान्छो छोरा छ । जेठी छोरी अञ्जुबाहेक तीनै सन्तान क्रिकेटका खेलाडी हुन् । आफ्ना सन्तानको क्रिकेट लगावले यिनीहरुले केही राम्रै गर्छन् भन्ने आफ्नो धारणलाई अहिले पूजाले चरितार्थ गरेकी उहाँले बताउनुभयो ।
पूजाका पिताले प्रदेशका मुख्यमन्त्रीलाई सुविधासम्पन्न क्रिकेट मैदान निर्माण गर्नसँगै खेलाडीहरुको दक्षता अभिवृद्धिका लागि सरकारकै तर्फबाट पहलकदमी लिइदिन अनुरोध गर्नुभएको छ ।
पूजा नेतृत्वको टिमले विश्वकप छनौटका लागि युएईसँग भएको प्रतिष्पर्धामा उत्कृष्टता हासिल गरेर अण्डर-१९ टी- ट्वान्टी विश्वकप प्रतियोगितामा प्रवेश सुनिश्चित गराएको छ । सो खेलमा पूजाले शतक पार गर्दै १३० रन लिनसँगै पाँच विकेट पनि लिनु भएको थियो । पूजाको यो सफलताले अब नेपाली महिला क्रिकेट टिम अण्डर-१९ टी- ट्वान्टी विश्वकप प्रतियोगितामा सहभागिता जनाउन पाउने भएको छ ।
डुमरवानाका बासिन्दाले आज पूजाको सफलतामा बस्तीभरि दीपावली गरेर खुशी व्यक्त गरेका छन् । यसैगरी गौशाला-११ को इमलीबजार क्षेत्रमा पनि दीपावली गरिएको छ ।