मटिहानी (महोत्तरी), १८ मङ्सिर ।

रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा भव्य स्वागत गरिएको छ । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन भारतको अयोध्याबाट आएका जन्तीको सोमबार राती मटिहानीमा स्वागत गरिएको हो । जन्ती सोमबार राती साढे आठ (०८.३० ) बजे मटिहानी आइपुगेका हुन् ।

मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि , जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरुसहित मटिहानी नगरबासीले जन्तीको स्वागत गरेका हुन् । जन्तीको स्वागतमा मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक सङ्घसंस्थाका अगुवाहरु, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्यहरु र राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल) का शिक्षक , वटुकहरु र महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी हुनुभयो । यस अवसरमा जन्तीलाई फूलमाला लगाएर गम्छा ओढाइ स्वागत गरिएको छ ।

यसपालिको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको ५०० जनाको जन्ती टोली मटिहानी आइपुगेको हो । जनकपुरमा सम्पन्न हुने सप्ताहव्यापी रामजानकी विवाह महोत्सव (विवाह पञ्चमी महोत्सव)मा प्रत्येक पाँचौ वर्ष अयोध्याबाट जन्ती सजिएर आउने परम्परा छ । नेपाल प्रवेश गरेपछि मटिहानी पहिलो दिनको रात्री विश्राम गरेर जनकपुर प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती सोमबार राती नै मटिहानी आइपुगेका हुन् ।

मटिहानी राम सीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँका रुपमा परिचित छ । राम सीताको विवाहमा एउटा महत्वपूर्ण पाटो जोडिएको हुँदा आफ्नो ठाउँ विवाह महोत्सवको महत्वपूर्ण कडि रहँदै आएको नगर प्रमुख मण्डल बताउनुहुन्छ ।

अयोध्याबाट आउनुभएका अतिथिलाई मिथिला भोजन (दाल भात , सब्जी, चटनी, पापरतिलौरी, तरुवा र दही) गराइएको नगरप्रमुख मण्डलले बताउनुभयो । सोमबार रात्री विश्राम मटिहानीमा गनेका जन्ती आज मङ्गलबार बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम जाने तालिका छ ।

जानकी मिथिलापुत्री भएकी हुँदा यहाँका बासिन्दा उहाँका माइती र अयोध्याबासी मैथिल (मिथिलाबासी) का कुटुम्ब मानिन्छन् । मिथिलामा दुलहीपक्षका परिवारजनले जन्तीसँग ठट्टा मजाक, हासपरिहास गर्ने स्थापित चलन छ । यसअनुसार मटिहानीबासीले अयोध्याबाट आएका जन्तीसँग दिल खोलेर ठट्टामजाक र हासपरिहास गरेका छन् ।

आज मङ्गलबार मटिहानीबाट जन्ती जलेश्वर जानेछन् । जलेश्वर नगरबासीको स्वागत ग्रहण गरी जलेश्वरनाथ महादेवको दर्शन गरेर जन्तीको आज महोत्तरीकै पिपरामा दिवा भोजन गर्ने तालिका छ । मटिहानीजस्तै जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाले पनि जन्तीको स्वागत तयारी गरेका छन् ।

जन्ती आज नै साँझ जनकपुरधाम पुग्ने तालिका छ । त्यहाँ पुगेपछि जन्ती जानकी मन्दिर व्यवस्थापनको अतिथिका रुपमा महोत्सव अवधिभर रहनेछन् । सप्ताहव्यापी विवाह महोत्सव जनकपुरधाममा आइतबार नै ‘जनकपुर नगर दर्शन’ कार्यक्रमबाट सुरु भइसकेको छ । महोत्सवको दोस्रो दिन सोमबार ‘फूलबारी लीला’ सम्पन्न भएको छ । ‘जनकपुर नगर दर्शन’ र ‘फूलबारी लीला’ क्रमशः राम लक्ष्मण गुरु विश्वामित्रसाथ जनकपुर पुग्नु भएको र बगैंचामा रामको सीताजीसँग देखादेख भएको रामकथासँग सम्बन्धित छन् ।

यसैगरी तेस्रो दिन आज मङ्गलबार धनुषयज्ञ आयोजना हुँदैछ । आज श्रीरामले शिवजीको धनुष ताँदो चढाउने क्रममा भाँचिएको लीला आयोजना गरिएको छ । यसैगरी चौथो दिन तिलकोत्सव (दुलहीका पिताबाट वरपूजन र वस्त्रआभूषण प्रदान गरिने विधि) , पाँचौ दिन मटकोर (विवाहका लागि यज्ञवेदी बनाइने र कूलदेवीदेवताको पूजा गर्ने विधि) , छैठौं दिन शुभविवाह र अन्तिम अर्थात् सातौं दिन रामकलेवा विधिका कार्यक्रम सम्पन्न गरिनेछन् । रामकलेवा जन्ती विदाइ गरिने विधि हो । यस विधिमा सम्धी , दुलहाका विशिष्ट नातासम्बन्धका व्यक्ति र जन्तीलाई वस्त्रआभूषण र नगद दक्षिणा दिइ विदा गर्ने मैथिल परम्परा छ ।

अघि त्रेता युगमा श्रीराम र जानकीको विवाह मार्ग (मङ्सिर) शुक्लपक्ष पञ्चमी तिथिमा भएको विश्वासमा मिथिलामा यो महोत्सव परम्परा चल्दै आएको हो ।

२०८१ मंसिर १८, मंगलवार ०८:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय