महोत्तरी, १८ मङ्सिर ।
विवाहपञ्चमी महोत्सवमा सरिक हुन अयोध्याबाट आएका जन्ती आज महोत्तरीको मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेका छन् । सोमबार अबेर साँझ मटिहानी पुगेका जन्ती आज मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेका हुन् । मटिहानीमा जन्तीको हार्दिक विदाइ गरिएको छ ।
जनकपुरका लागि प्रस्थान गर्नअघि मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले जन्तीलाई सम्मान गर्दै विदाइ गर्नुभयो । जन्ती विदाइ समारोहमा मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, साधुसन्त, उद्योगी, व्यवसायी , राजकीय संस्कृत माध्यमिक विद्यालयका गुरुजन तथा वटुकहरु र नगरबासीको उल्लेख्य उपस्थिति थियो ।
अहिले मटिहानीबाट अघि बढेका जन्तीका लावालस्कर महोत्तरीको सदरमुकाम जलेश्वर र पिपरा हुँदै जनकपुर पुग्ने आजको तालिका छ । जलेश्वरमा अहिले जन्तीको स्वागत जलेश्वर नगरबासीले गर्नेछन् । जलेश्वरनाथ महादेवको दर्शन र जलेश्वरबासीको आतिथ्यता ग्रहण गर्दै जन्ती पिपरा हुँदै जनकपुरधाम पुगेर महोत्सवको धनुषयज्ञमा सरिक हुनेछन् । मिथिलामा सप्ताहव्यापी विवाह महोत्सव गत आइतबार नै सुरु भइसकेको छ ।
यसअघि सोमबार राती नेपाल प्रवेश गरेका जन्तीटोलीलाई मटिहानी नगरबासीले वागत गरेका थिए । यसपालिको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको ५०० जनाको जन्ती टोली छ । यो जन्तीटोली जनकपुरधाम पुगेपछि जानकी मन्दिर व्यवस्थापनका अतिथि भइ महोत्सव अवधिभर रहनेछन् ।
आउने शुक्रबार राम जानकी विवाह गरिएपछि शनिबारका दिन जन्तीको विदाइ जानकी मन्दिर व्यवस्थापनले गर्नेछ । मिथिलापुत्री जानकी (सीता, वैदेही, मिथिला र किशोरीजी पनि भनिन्छ) र श्रीरामबीच अघि त्रेता युगमा मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिमा विवाह भएको विश्वास गरिन्छ । यो महोत्सव परम्परा त्यसैको सम्झनामा बर्सेनि मनाउदै आइएको छ ।
यो पनि पढ्नुहोस् !
रामजानकी विवाह महाेत्सव: जन्तीकाे मटिहानीमा स्वागत