महोत्तरी, २१ मङ्सिर ।
महोत्तरीको मटिहानी-३ का ५६ वर्षीय शुभनारायण साहलाई आफैं घर नजिकको बजार वरपर घुमफिर गर्नसक्छु भन्ने थिएन । जन्मदै गोडा कमजोर भएर हिडडूल गर्न नसक्ने उहाँलाई आँगन वरपर घस्रनुबाहेकको घुमफिरलाई अर्को सुविधा थिएन । तर अब साह आफ्नै प्रयत्नमा घर नजिकको बजारचोक आफैं पुग्नसक्ने हुनुभएको छ । हिजो बिहीबारमात्र ह्विलचेयर रिक्सा पाउनुभएका उहाँ फुरुङ्ग पर्दै त्यसमा बसेर वरपर डुल्न थाल्नु भएको छ । साहसहित १८ जना गोडाको अपाङ्गता भएका हरुलाई बिहीबार मटिहानी नगरपालिकाले ह्विलचेयर रिक्सा दिएपछि अशक्तहरुका लागि यो वरदान बनेको हो ।
“बुझाइय जे, अनमोल चिज भेटगेल , आब ई हमर चलफिरमें निक साथी बनल” (लाग्दैछ, कुनै अनमोल बस्तु भेटें, अब यो मेरो हिडडूलको राम्रो साथी बन्यो) बिहीबार ह्विलचेयर पाएपछि त्यसमै बसेर डुलीरहनु भएका साहले खुशीका आँसु पुछ्दै भन्नुभयो , “आब चलफिरमे बहुत सहज भेल, बुझाइए जे जिनगी बदैलगेल” (अब हिडडूलमा निकै सजिलो भयो, लाग्दैछ, जीवनमै फरक आयो) ।
गोडा लुलो भएरै जन्मनु भएका साहले घुमफिर गर्ने रहर हुँदा घस्रदै हिड्नु परेको सास्ती सम्झदै अब सुस्तिासाथ ह्विलचेयर रिक्सामा बसेर नजिकहुँदो गुड्दै हिड्न थालेको बताउनुभयो । साहजस्तै मटिहानी-७ का १८ वर्षीय किशोर मधु मण्डलले पनि ह्विलचेयर रिक्सा पाएपछि आफ्नो खुशी रोक्न सक्नु भएन ।
“मोन त हमरो छल नई, कमजोर अवस्था स मजबूर छलियै, आब मुदा एकटा सहारा मिलल” (मन त मेरो पनि थियो नि, तर कमजोर शारीरिक अवस्थाले लाचार थिएँ, तर अब एउटा सहारा पाएँ) मटिहानी बजारमा भेटिनु भएका मण्डल भन्नुहुन्छ, “आब घरस बजारधैर अही ह्विलचेयरमें बैसक आवाजाही करहल छी” (अब घरबाट यही ह्विलचेयरमा बसेर बजारसम्म घुमफिर गर्न थालेको छु )।
मटिहानी नगर कार्यपालिकाको कार्यालयले नगरका अपाङ्गता भएका हरुलाई घुमफिर सहज बनाउन ह्विलचेयर रिक्सा प्रदान गरेपछि साह र मण्डलसहित १८ जनाको मुहारमा खुशी छचल्किएको छ । ह्विलचेयर पाएका साह, मण्डलसहितका सबैले खुशी व्यक्त गरेका छन् । अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा नगर कार्यपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले नगरको अपाङ्ग समन्वय समितिको निणर्यमा गोडाको अपाङ्गता भएका हरुलाई ह्विलचेयर रिक्सा वितरण गरेको हो ।
अपाङ्गता भएका हरुलाई जीवनमा केही सहजता होस् भन्ने ध्येयले ह्विलचेयर प्रदान गरिएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । अपाङ्गता भएका हरुलाई अन्य आर्जनका अवसरमा जोड्न पनि काम गरिने उहाँले बताउनुभयोे ।
नगरका अपाङ्ग समन्वय समितिका अध्यक्षसमेत रहनुभएका उपप्रमुख मञ्जुदेवी साह अपाङ्गता भएका हरुको अनुहार ह्लिचेयर रिक्सा पाउँदाको खुशी देख्दा ठिक काम गरिएछ भन्ने लागेको बताउनुहुन्छ । । “खुशी हुन धेरै ठूलो कुरा चाहिदो रहेनछ, बस मन छुन पर्ने रहेछ” उपप्रमुख साह भन्नुहुन्छ ।
अहिले नगर कार्यपालिकाको अपाङ्गतालक्षित यो कामको सामाजिक क्षेत्रका अगुवाले पनि सराहना गरेका छन् । “नगरले मन छुने काम गर्यो, हाम्रालागि पनि सोच्ने, गर्ने ठाउँ रहेछन् भन्ने अपाङ्गता भएका हरुले अनुभूति गरे , यो उच्चतम मानवीय काम भयो” मटिहानी-७ का उद्यमी विजय साहले भन्नुभयो ।