बर्दिबास, ९ पुस ।

आफुले प्रारम्भिक शिक्षा लिने बेलाको अभाव सम्झेका महोत्तरीको बर्दिबास-१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसका शिक्षा सङ्‌कायका विद्यार्थीले भ्रमण खर्च बचाएर आधारभूत तहका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेका छन् । सो सङ्‌कायको स्नातकतह तेस्रो र चौथो वर्षका विद्यार्थीले शैक्षिक भ्रमणमा मितव्ययी भएर बचेको रकम जम्मा गरी बर्दिबास-१ को पञ्चधुरा आधारभूत विद्यालयका छात्रछात्रालाई आज शैक्षिक र खेलकुद सामग्री वितरण गरेका हुन् ।

क्याम्पसबाट भर्खरै शैक्षिक भ्रमणबाट फर्केका १८ जना विद्यार्थीले भ्रमण अवधिमा आफ्‌नो खर्चका लागि लगेका रकम बचाएका हुन् । “हामीले यथासक्य कम खर्चमा शैक्षिक भ्रमण गर्‍यौ, जो गोजीमा बच्यो , त्यसबाट आधारभूत तहका छात्रछात्राका लागि केही दिने निधो गर्‍यौ” आधारभूत विद्यालयका छात्रछात्रालाई शैक्षिक र खेलकुद सामग्री दिने सोचबारे स्पष्ट पार्दै यो कार्यक्रमको संयोजन गर्नुभएकी सुजिता पोखरेल भन्नुहुन्छ, “हुन त हामी आफैं अहिले विद्यार्थी नै छौं, यो कार्यक्रममार्फत मितव्ययी हुन र लेखपढको काममा सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न आधारभूत तहका छात्रछात्रालाई सहयोग दिन रोजेका हौं ।”

आधारभूत तहका ससाना नानीहरुलाई नयाँ कापी, कलम र खेल्ने कुनै सामान पाउँदा हुने खुशी आफ्‌नो बालापनको सम्झनाले दिने सामग्री वितरण गर्न पुग्नुभएका क्याम्पसका अर्का विद्यार्थी राममणि भण्डारी बताउनुहुन्छ । आफ्‌नो बालापनको खुशी सम्झन अहिले ससाना नानीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको भण्डारीको भनाइ छ । पञ्चधुरा आधारभूत विद्यालय अति विपन्न र दलित बस्ती माझमा छ । यहाँ अति विपन्न र दलित परिवारका नानीहरु प्ढ्‌न पुग्नेहुँदा सामग्री वितरणका लागि यो विद्यालय चयन गरिएको भण्डारीको भनाइ छ ।

शैक्षिक र खेलकुद सामग्री वितरण गर्न क्याम्पसका विद्यार्थी आफ्‌ना गुरु (क्यामपसका शिक्षक) हरिप्रसाद खनालको अभिभावकत्वमा विद्यालय पुगेका थिए । कलेजका विद्यार्थीले भ्रमण खर्चबाट बचेको रकम आफ्‌नो विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गर्न सम्झेको भन्दै पञ्चधुरा आधारभूत विद्यालयका प्रधानाध्यापक श्याम पौडेलले खुशी व्यक्त गर्नुभयो ।

“सामग्री कति दिए भन्ने कुरा हैन, सोच कति राम्रो भन्ने कुरा हो, क्याम्पसका विद्यार्थीले आम विद्यार्थीले अनुसरण गर्नुपर्ने काम गरेका छन्‌” प्रधानाध्यापक पौडेलले भन्नुभयो, “हाम्रा सबै विद्यार्थीमा यस्तै सद्‌विचार आओस् ।”

बर्दिबास जनता बहुमुखी क्याम्पसका विद्यार्थीको यो सदासयता र सहयोगीभावको स्थानीय अभिभावकले सराहना गरेका छन् । “पढ्‌नु मुख्य कुरा ज्ञान आर्जनका लागि हो, क्याम्पसका विद्यार्थीले ज्ञानी भएको कामबाट देखाएका छन्‌” बर्दिबास-२ का ५० वर्षीय भोला महतो भन्नुहुन्छ, “कलेज र विद्यालयमा पढ्‌ने सबैमा यस्तै सहयोगी भावको विकास होस् ।”

२०८१ पुष ९, मंगलवार १७:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय