महोत्तरी :  मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज हिन्दू र इसाई धमालम्बीले आआफ्‌ना परम्पराका पर्व मनाएका छन् । इसाई धर्मावलम्बीले आज आफ्‌नो मुख्य पर्व क्रिसमस डे मनाएका छन् । यसैगरी मैथिल हिन्दूले आजकै दिन तुलसी पूजन दिवस मनाए । दुबै परम्पराका अनुयायीको चहलपहलले आज मिथिलाक्षेत्र पर्वमय बनेको थियो ।

इसाईहरु आफ्‌ना धर्म प्रवर्तक यशु ख्रिष्टको जन्म दिनका अवसरमा इस्वी सम्वत्‌को डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउँछन् । पर्वका अवसरमा जिल्लाका बर्दिबास, भङ्गाहा र गौशालासहितका इसाई बसोबासका क्षेत्रमा आज क्रिसमसको चहलपहल देखिएको हो । पर्वका अवसरमा जिल्लाको भङ्गाहा-५ स्थित जीवित ख्रिष्टीय मण्डलीमा क्रिसमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हाम्रा सहकर्मी रामईश्वर ठाकुरले जानकारी दिनुभयो । कार्यक्रममा भङ्गाहाका नगरप्रमुख सञ्जिवकुमार साहले इसाई धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गर्नुभयो ।

क्रिसमसमा चर्चमा जम्मा भएर यशु ख्रिष्टका उपदेस सुन्ने परम्परा छ । यस अवसरमा चर्च र सार्वजनिक स्थानमा क्रिसमस ट्री सजाइन्छन् । क्रिसमस ट्री नयाँ जीवन र आशाको प्रतीक मानिन्छ । यसैगरी पर्वका अवसरमा इसाईहरु एक आपसमा शुभकामना आदानप्रदान र सहभोज गर्दछन् । यस पर्वमा इष्टमित्रलाई उपहार दिने परम्परा पनि छ ।

यसैगरी हिन्दूहरुले आज नै तुलसी पूजन दिवस मनाएका छन् । आजभन्दा १० वर्षअघि मित्रराष्ट्र भारतमा साधुसन्तले सन् २०१४ को डिसेम्बर २५ तारिखकै दिन थालेका तुलसी पूजन अब परम्पराकै रुपमा स्थापित भएको छ । खासगरी भारतमा विकास भएको यो परम्परा मधेशको मिथिलाक्षेत्रमा घरघरैजसो मनाउन थालिएको छ ।

यस पर्वको अवसरमा धार्मिक र आयुर्वेदिक महत्वको तुलसी वनष्पती रोपिएको मठमा पूजा गरिने र मिष्टान्न परिकार प्रसाद चढाइने गरिन्छ । यो तुलसी पूजन परम्परा भक्ति, पवित्रता र भगवान विष्णुको दिव्य आशिर्वादको कामनाका साथ मनाइने गरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा. रवीन्द्र दास वैष्णव बताउनुहुन्छ । तुलसी भगवान विष्णुकी प्रिय मानिने हिन्दू जनविश्वास छ ।

२०८१ पुष १०, बुधबार १९:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय