बर्दिबास, १९ पुस ।
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षाकाे आधारभूत तहमा राज्यकाे लगानी बढ्न पर्ने आवश्यकता औंल्याउनु भएकाे छ । आज शुक्रबार महाेत्तरीकाे बर्दिबास-३ गाैरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा निर्मित दृष्टिविहीन छात्रछात्राका लागि निर्मित छात्राबास भवनकाे उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले शिक्षाकाे जग मजवुत बनाउन आधारभूत तहमै याेजनाबद्ध काम थालिन पर्ने निष्कर्षमा पुगेकाे बताउनुभयाे ।
राज्यले उपल्लाे तहकाे शिक्षामा अपेक्षाकृत बढी लगानी गरेकाे सिंहकाे ठम्याइ छ । तर आधारभूत र माध्यमिक तह नै राम्राे हुन नसके माथिल्लाे तहमा भएकाे लगानीले अपेक्षित उपलब्धी हासिल नहुने उहाँले उल्लेख गर्नुभयाे । साे अवसरमा शारीरिक अपाङ्गता भएका हरुकाे शिक्षाकाे अधिकार सुनिश्चित गरिन आफ्नो पहलकदमी रहने मुख्यमन्त्री सिंहले बताउनुभयाे ।
विद्यालय परिसरमा छायाँ नेपाल नामक संस्थाले दृष्टिविहीन छात्रछात्रका लागि आठ काेठाकाे दुइतले भवन ९९लाख ३७ हजारकाे लागतमा निर्माण गरी आज विद्यालयलाई हस्तान्तरण गरेकाे हाे ।
भवन हस्तान्तरण तथा उद्घाटन समाराेहमा मधेश प्रदेशकाे शिक्षा निर्देशनालयका निमित्त निर्देशक ठूलाेबाबु दाहालले दृष्टिविहीन छात्रछात्राका आधारभूत आवश्यकताका कुरामा प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गानाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्दिबास-३ का वडाध्यक्ष विराट विष्ट र प्रधानाध्यापक रामसकल महताेले विद्यालयकाे भाैतिक र शैक्षिक अवस्थाबारे जानकारी गराउँदै पूर्वाधारका लागि सहयाेग समन्वय गरीदिन मुख्यमन्त्रीसँग अनुराेध गर्नुभयाे ।यसैगरी समाराेहमा छायाँ नेपालका निर्देशक कमल थापाले दृष्टिविहीन छात्रछात्राका लागि यथासक्य सहयाेग गरीरहने बताउनुभयाे ।
यस विद्यालयकाे दृष्टिविहीन छात्रबासमा अहिले १९ जना छात्रछात्रा रहँदै आएका छन् ।
२०८१ पुष १९, शुक्रबार २०:४४मा प्रकाशित