बर्दिबास (महोत्तरी), २५ पुस ।
छिप्पिदो जाडोबीच चिसोले कठ्याङ्ग्रिएका विपन्न परिवारलाई न्यानो बाँड्न सामाजिक संस्थाले अग्रसरता देखाएका छन् । जिल्लाको उत्तरवर्ती बर्दिबास नगरक्षेत्रका अति विपन्न ११६ परिवारलाई ‘सबैका लागि हामी’ सामाजिक संस्थाले बुधबार सिरक वितरण गरेको हो ।
एक्कासी मङ्गलबारदेखि चिसो स्याँठ चल्ने र दिनभरि बाक्लो हुस्सुले ढाकेर मुटु कमाउने जाडो बढेपछि केही गर्नुपर्छ भन्ने वोधले तत्काल अति विपन्न ११६ परिवारलाई सिरक वितरण गरिएको ‘सबैका लागि हामी’ संस्थाका कार्यक्रम संयोजक सञ्जित लामाले बताउनुभयो । सम्बन्धित वडा समितिको कार्यालयले अति विपन्न परिवार चिन्हित गरेका बर्दिबास नगरक्षेत्रका वडानम्बर २, ६, ७, ९, १२ र १३ का बस्तीमा बुधबार सिरक वितरण गरिएको संस्थाले जनाएको छ ।
बर्दिबास–१ का उत्साही युवाले सामाजिक सेवाका क्षेत्रमा सङ्गठित रुपले लाग्न स्वस्फूर्त पहलकदमी लिएर ‘सबैका लागि हामी’ संस्था गठन गरेर कानुनी रुपमा दर्ता गराएका हुन् । संस्थाले यसअघि सरसफाई सचेतना बढाउन कैयौंपटक बर्दिबास नगरचोकक्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरीसकेको छ ।
पछिल्लो पटक जारी शीतलहरमा गरिब बस्तीतिर आम सरोकारवालाको ध्यानाकर्षण होस् भन्ने ध्येयले सिरक वितरण गरिएको संस्थाका अध्यक्ष रवि निरौलाले बताउनुभयो । आफ्नो संस्थाले २०० परिवारलाई न्यानो वितरण गर्ने निरौलाको भनाइ छ । बाँकी सिरक एक/दुई दिनभित्रै वितरण गरिने निरौलाले बताउनुभयो ।
गरिब बस्तीमा जाडो छल्न संस्थाले देखाएको अग्रसरताको यहाँका पाकाजनले सराहना गरेका छन् । सहयोग जुटाउनसक्ने अन्य सामाजिक सङ्घसंस्था र स्थानीयतहले यो संस्थाले जस्तै गरिब बस्तीमा केही सहारा पुर्याउन सके अझ राम्रो हुने बर्दिबास–१२ बिजलपुराका ७५ वर्षीय रामसुन्दर ठाकुरले बताउनुभयो ।
जिल्लामा यसअघि गत शनिबार नेपाली सेनाको परिकौलीस्थित गोरखनाथ गणले मटिहानीका १२३ अति विपन्न परिवारलाई ओढ्ने मण्डी (कम्बल) वितरण गरेको थियो ।