
महोत्तरी: मधेशको मैथिल जनबोलीमा तिलासक्रायत भनिने माघेसङ्क्रान्ति पर्वमा यहाँका विभिन्न जाति समुदायका आआफ्नै परम्परा छन् । यहाँका मूल बासिन्दा आदिबासी थारु , सीमान्तकृत जाति समुदाय बाँतर र मुसहरको त तिलासक्रायत मुख्य पर्व नै मानिन्छ ।
यो पर्वमा यी जाति समुदाय खाने, लाउने कुरामा आफ्नो आर्थिक सामर्थ्य लुकाउँदैनन् । यहाँका अन्य जाति समुदायजस्तै तिल, चिउरा, लट्टे, जुनेलो र मुरीलाई सख्खरको खुँदोमा मोलेर बटारिएका ‘लाई’ यी समुदायका पनि पर्वका परिकार हुन् । थपमा यी समुदायमा खसी, कुखुरा र हाँसका मासुका परिकार, घोङीको तरकारी र मदिरा अनिवार्य हुन्छ । यताका सबै थारुले सुँगुरको मासु खाने आम चलन नभएपनि मुसहर र बाँतरको भने यो विशेष परिकार मानिन्छ ।
यी जाति समुदायले यस पर्वमा विवाहित छोरीचेली, भाञ्जाभाञ्जी, नातिनातिना (छोरीका छोराछोरी) र मितमितिनीलाई निम्ता गरेरै बोलाउने चलन छ । मुख्य पर्व भएको हुँदा यिनले रमाइलो मानेर आपसी भेटघाट गर्दै यो पर्व आज मनाएका छन् ।
यसैगरी मिथिलाका मलाह (सहनी) र खत्वे जाति समुदायले माघेसङ्क्रान्तिकै दिन कूलपूजा गर्ने परम्परा छ । यसअनुसार दुबै जातिले आज आआफ्ना कूलदेवीको तन्त्रविधिबाट पूजाआराधना गर्दै तिलासक्रायत पर्व मनाएका छन् ।
खत्वे समुदायले यो पूजा आफ्नो समुदायकी कूलदेवी सोसिया निकुङ्झियाको मन्दिर परिसरमा तन्त्रविधिबाट आह्वान गरेर पूजाआराधना गर्दछन् । यसक्रममा तन्त्रसाधक धामीले परिसरमै माटाका तौला (भाँडा)मा भकभकी उमालिएको दूध अँजुलीले निकाल्दै जिउमा हालेर नुहाउने गर्छन् । यस विधिबाट देवी प्रसन्न हुने र कुनै विघ्नवाधा पर्न नदिने यो जाति समुदायको विश्वास छ । यी जातिले आज मटिहानीस्थित कूलदेवीको मन्दिर परिसरमा यो प्रजाआराधना सम्पन्न गरेका छन् । त्यहाँ मूलधामी परीक्षण खत्बेले ठूलठूलो स्वरले मन्त्र जाप गर्दै उम्लेको दूध अँजुलीले उठाएर नुहाएका थिए । पूजा सम्पन्न भएपछि प्रसादस्वरुप चढाइएको खिर खाएर खत्वेले आआफ्नो घरमा तिलासक्रायत पर्व मनाएका छन् ।
यसैगरी मलाह समुदायको कूलपूजा पनि यसै दिन गरिने चलन छ । पर्वमा मलाहहरु क्ूलदेवी कमला महारानीको डिहबार (गढ, किल्ला) मा जम्मा भई तन्त्रसाधनाबाटै पूजाआराधना गर्छन् । माघेसङ्क्रान्तिका दिन गरिएको कूलपूजाको प्रभावले आरोग्यता प्राप्त हुने र आफ्नो जातिसमुदायको बस्तीमा माहाव्याधि नलाग्ने यो जाति समुदायको विश्वास छ । यिनको कूल डिहबार पनि मटिहानीमै छ । मटिहानीमा खत्बे र मलाहको सघन बसोबास पुस्तौपुस्तादेखि रहँदै आएको हुँदा यहीं नै पूजा परम्परा चल्दै आएको मुसाफिर सहनीले बताउनुभयो ।
मटिहानीमा सम्पन्न दुबै जाति समुदायको कूलपूजा समारोहमा नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, उद्यमी, ब्यापारी र नगरबासीको उपस्थिति थियो ।