बर्दिबास (महोत्तरी), १३ माघ ।
उपचारमा जायजेथा सबै सकेका एउटा परिवार महोत्तरीको बर्दिबासमा आश्रयको खोजीमा छ । पत्नी धर्मशीलाको उपचारमा सबै जेथा सकिदा पनि उहाँलाई बचाउन नसकेको राम फुँयालको परिवार अहिले बर्दिबासमा अबको आश्रय के होला भन्ने चिन्तामा देखिएको हो ।
“अब उनको काम (मृत्युपछिको १३ दिने कृया) पछि कहाँ जाने होला ? त्यसपछिको जीवन कसरी चल्ला ?” बर्दिबास–१ मा आफन्तको घरमा शरण लिएर पत्नी धर्मशीलाको कृयामा बाधिंएका राम फुयाल भक्कानिदै भन्नुहुन्छ, “अहिले त उनको कामको निहुँ छ, चार दिनपछि काम सकिन्छ , अनि कहाँ जाने होला ? न टेक्ने ठाउँ छ, न समाउने लौरो ।”
पत्नी धर्मशीलाको उपचारमा सारा थिति मासिएर बिलखबन्द पर्नु भएका पुmँयाल अबको जीवनको सहारा के होला भन्ने चिन्तामा हुनुहुन्छ । सिन्धुलीको रानिबासका स्थायी बासिन्दा फुँयालले पत्नी धर्मशीलाको उपचारमा घरद्वार, जग्गाजमिन सबै बेचेर लगाउँदा पनि बचाउन नसकिएको पीडासँगै दुई छोरीको टाउको लुकाउने ठाउँ र शिक्षादीक्षा के होला भन्ने चिन्ताले पिरोल्ने गरेको बताउनुभयो ।
“अहिले त छोरीहरु आँमाको कृयापुत्री बसेका छन् , अब १३ दिने कामबाट उक्सेपछि कहाँ जाने थाहा छैन” आफ्नो विचल्लीको पीडा पोख्दै फुँयाल भन्नुहुन्छ । पत्नी धर्मशीलाको नौ दिनअघि माघ ४ गते शुक्रबारका दिन उपचारकै क्रममा झापामा निधन भएपछि उहीं नै सद्गत गरेर पारम्परिक मृत्यु संस्कार (काजकृया) गर्न आफन्तको घर खोज्दै फुँयाल दुई छोरीसहित बर्दिबास आइपुग्नु भएको हो । बर्दिबासमा आफ्नै नाताका बन्धु भीमबहादुर फुँयालले धर्मशीलाको १३ दिने मृत्यु संस्कार नसकिउञ्जेललाई आश्रय दिनुभएको छ ।
धर्मशीलालाई कलेजोसम्बन्धी जटिल स्वास्थ्य समस्या भएपछि सिन्धुली रानीबासको सबै जायजेथा बेचेर छोरीहरुसहित भारतको सिक्किम पुग्नुभएका फुयाँलले उतै काम गर्दै विभिन्न ठाउँमा पत्नीको उपचार गराउनु भएको थियो । “सास छउञ्जेल आस भन्छन् , मलाई त्यही भयो, भरमग्दुर गरें, केही सीप लागेन” फुयाँल भन्नुहुन्छ, “अब १२ कक्षा पढ्ने १६ वर्षीया ठूली छोरी अस्मिका र कक्षा छ मा पढ्ने १० वर्षीया छोरी आराध्याको बसोबास र पठनपाठन कसरी चल्ने भन्ने कुरा छ । फुँयालका दुबै छोरी सिक्किममै पढ्दै थिए ।
उपचारकै क्रममा पत्नीको मृत्यु भएपछि कहाँ काजकृया गर्ने भन्ने पिरोलोबीच बर्दिबासका आफन्तको घर खोजेको उहाँले बताउनुभयो । तर यहाँ (बर्दिबास)मा पनि काजकृयाको कुरा सजिलै नभएको उहाँको पीडा छ । “यहाँ घरका मूल पूरोहितले छोरी कृयापुत्री बस्ने कर्मकाण्ड नगराउने बताएपछि झनै रुमल्लिएका थियौं, तर आफन्तले अर्को कर्मकाण्ड गराइदिने पुरोहित खोजी दिनु भएर त्यो काम गरिदैछ” पत्नीको काजकृयामा खेपेको पीडा बताउँदै उहाँले भन्नुभयो, “उनको (पत्नीको) सदगत् र काजकृया आफ्नै सन्तान छोरीले गर्दिउन् भन्ने इच्छा थियो, त्यो कसैगरी पूरा हुँदैछ ।”
अहिले बेसहारा बनेका फुँयाललाई बर्दिबासका विभिन्न सामाजिक सङ्घसंस्था र व्यक्तिले सहयोगको चासो बढाएका छन् । बर्दिबास हेल्प फाउण्डेसनका अध्यक्ष कुमार भण्डारीले आफैंले सहयोगको सुरुआत गरेर अन्य संस्थाहरुलाई पनि सहयोग गरीदिन अपिल गर्नुभएको छ ।
पत्नीको उपचारका लागि सिन्धुलीको आफ्नो पैत्रिक थलो छाड्नु भएका फुँयाललाई अब मुग्लान (सिक्किम) जाने मन छैन । यही आफूसहित छोरीहरु बस्ने, पठनपाठन चल्नसक्ने र काम पाउने वातावरण मिले हुन्थ्यो भन्ने फुँयालको मन छ ।
फुँयालजस्तै उहाँकी ठूली छोरी अस्मिका पनि अब यतै बस्न पाए हुन्थ्यो भन्ने सोचमा हुनुहुन्छ । आमाको कृयामा बसेकी सानी छोरी अझै मातृवियोगको पीडाबाट सामान्य हुन सकेकी छैनन् । आफूहरुसँग भेट्न आउनेसँग दिदी अस्मिका बोलेपनि बहिनी आराध्या भने एकोहोरो टोलाइरहेकी देखिन्छन् ।
आमाको कृयापुत्री बसेका दुबै दिदीबहिनीले छोराले जस्तै कपाल मुण्डन गरेर छोपो बस्ने इच्छा व्यक्त गरेपनि आफन्त र पुरोहितले ‘त्यो गर्न पर्दैन’ भन्नु भएपछि कपाल नकाटिएको अस्मिकाले बताउनुभयो । कृयामा बसेका छोरीहरुको अबको बासस्थान र शिक्षादीक्षाको कुराले चिन्तित बन्नुभएका रामका आँखा कुनैबेला ओभाएका देखिदैनन्  । “जसका लागि आफ्नो ठाउँ छाडेर त्यति टाढा गइयो, उ अब हामीसँग रहेन” राम भन्नुहुन्छ, “खै यो कामबाट उक्सेपछि समय र दशाले कहाँ पुर्‍याउँछ ?” आश्रय र गरी खाने काम पाए आफ्नै मुलुकमा  छोरी हुर्काउने मन भने बन्दै गएको उहाँको भनाइ छ ।


२०८१ माघ १३, आईतवार २०:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु