
नेपालावाणी डटकम
जनकपुरधाम, माघ ।
मधेश प्रदेशसभाले सातौं वार्षिकोत्सवको उपलक्ष्यमा वृक्षारोपण गरेको छ । नेपाली जनताको लामो संघर्ष र बलिदानपछि स्थापित संघीयताको मर्म अनुरुप ७ वर्षअघि माघ २१ मा जननिर्वाचित प्रदेशसभा सदस्यद्वारा नेपालको संविधानलाई आत्मसाथ गर्दै देश र जनताको नाममा सपथ ग्रहणको ऐतिहासिक क्षणलाई सम्झदै मधेश प्रदेशसभाले वार्षिकोत्सव मनाउने कार्यक्रम अन्तर्गत वृक्षारोपण गरेको हो ।
तत्कालिन प्रदेशसभा सदस्यहरुले सपथ ग्रहणको ऐतिहासिक विशेष दिनमा वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरधामको प्रदेशसभाको मुख्य गेट तथा सडक किनारमा वृक्षारोपण गरिएको हो । विशिष्ट भोगौलिक तथा सांस्कृतिक छवि बोकेको मधेश प्रदेश जनताको फराकिलो दृष्टिकोण अनुसार नै व्यवस्थापन गर्दै जानु भविष्यका पुस्ताका लागि न्याय हुने बताउँदै सभामुख रामचन्द्र मण्डलले हरीयाली जस्तै समृद्धिको बाटोमा प्रदेशलाई डो¥याउनुपर्नेमा जोड दिए ।
मधेश प्रदेशसभाको ७ औं वार्षिकोत्सवको अवसरमा छौठो दिनको कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिएको सभामुख रामचन्द्र मण्डलका स्वकीय सचिव रमेश कुमार मण्डलले जानकारी दिए । विश्वव्यापी जलवायु परिवर्तन हुँदै गएको समयमा हरियाली तथा वृक्षारोपण अमृत समान भएकोले वृक्षारोपणमा जोड दिईएको उपसभामुख बबिता ईशरले बताईन् । वृक्षारोपणमा प्रदेश सभा सदस्य, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति थियो ।
वृक्षारोपण अभियानले मधेश प्रदेशमा हरियाली विस्तार गर्दै वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उपसभामुख ईशरको भनाई थियो । उपसभामुख ईशरले भनिन, ‘वृक्षारोपणले स्वच्छ हावा, हरियाली तथा जैविक विविधताको संरक्षणमा टेवा पु¥याउन मद्दत गर्छ । वातावरणीय संरक्षणका यस्ता प्रयासहरु निरन्तर जारी राख्न प्रदेशसभाले तत्पर हुन्छ ।’
कार्यक्रममा सहभागीहरूले वृक्षारोपण मात्र नभई वृक्षको संरक्षण तथा दिगो वातावरणीय विकासका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए । प्रदेश सभाले आगामी दिनहरुमा पनि यस्ता प्रकृतिप्रेमी अभियानहरु सञ्चालन गर्ने बताएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली दिनको १ बजे मधेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको प्रमुख आतिथ्यमा वार्षिकोत्सवको भव्य समारोह आयोजना गरिएको छ ।