
महोत्तरी, २३ माघ ।
आफ्नै बस्तीमा अत्यावश्यक सेवा पाएपछि मटिहानीबासी दङ्ग छन् । नगर कार्यपालिकाको कार्यालयका विभिन्न शाखाबाट प्रवाह हुने सेवा आफ्नै बस्तीको एकै ठाउँबाट पाएपछि यहाँका बासिन्दा खुसी भएका हुन् । मटिहानी नगर कार्यपालिकाको कार्यालयले यसपालिको एकीकृत घुम्ती सेवा आज बुधबार सुरु गरेको छ ।
“तरकारीका बीउदेखि गाईबस्तुको स्वास्थ्य जाँचको सेवा यहीं पाएका छौं” मटिहानी—१ का मोहम्मद अव्वास अन्सारी भन्नुहुन्छ, “यो घुम्ती सेवाले निकै सजिलो बनाइदियो ।” एकीकृत घुम्ती सेवा कार्यक्रम आज नगर प्रमुख हरिप्रसाद मण्डल र जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा उद्घाटन गरेसँगै सर्वसाधारणले धमाधम सेवा पाएका छन् ।

मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवामा वडास्तरीय छनौट भएका योजनासम्बन्धी अभिमुखीकरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि आवेदन सङ्कलन र निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण थालेको छ । यसैगरी घुम्ती सेवामा कृषिसम्बन्धी परामर्श, माटो परीक्षण, कृषि विद्युत मीटर सिफारिस र तरकारीको बीउ सर्वसाधारणले पाएका छन् ।

घुम्ती सेवामा घरपालुवा पशुबस्तुको स्वास्थ्य जाँच, गोबर परीक्षण र औषधी वितरण , पशुपक्षी पालनसम्बन्धी परामर्श, राजश्व असुली, स्वास्थ्य बिमा र वडाबाट दिइने व्यक्तिगत घटना दर्तासम्बन्धी सबै काम दिइदै छ । यी सबै काम बस्तीमै आएर दिदा आफूहरुको कैयौं दिनको दौडधूप र आवाजाहीमा हुने खर्च बचेको मटिहानी—१ का रामपदारथ साह बताउनुहुन्छ ।

नगरका नौवटै वडामा पालैपालो पुगिने यो सेवा आज वडानम्बर एकबाट सुरु भएको हो । “नगरका सबै बस्तीका बासिन्दाले अधिकाधिक सेवा सहजै पाउन् भनेर घुम्ती सेवा सञ्चालन गरिएको हो” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “नगरका सबै वडा बस्तीमा एकीकृत घुम्ती सेवा पुर्याइन्छ ।” घुम्ती सेवामा दिइने कतिपय सेवाले त धेरैजसोलाई वर्षभरिका अधिकांश काम हुने मण्डलको भनाइ छ । यसैकारण मटिहानी नगरपालिकाले बर्सेनि एकपटक घुम्ती सेवा सञ्चालन गर्दै आएको छ ।

घुम्ती सेवाबाट प्रवाह हुने सेवाले सर्वसाधारणमा साँच्चै सिंहदर्वार घरमै आइपुगेको अनुभूति सर्वसाधारणले सँगाल्दै छन् । यो नगरपालिकाले थालेको असल अभ्यास भएको प्रमुख जिल्ला अधिकारी कवारीको संक्षिप्त प्रतिकृया छ ।

२०८१ माघ २४, बिहीबार ००:५८मा प्रकाशित