![](https://nepalvani.com/wp-content/uploads/2025/02/blood_donation_bardibas_nepalvani-4.jpg)
महोत्तरी, २४ माघ । ‘समाजका लागि आफू जोडिन पर्छ’ भन्ने ध्येय र उद्देश्यसाथ महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसका विद्यार्थीले सामाजिक र परोपकारी काममा चासो बढाएका छन् । क्याम्पसका स्नातक तहमा अध्ययनरत छात्रछात्राले यो उद्देश्यका लागि मान्छेको जीवनसँग जोडिएको रक्तदानलाई रोजेका छन् ।
“हामी आफ्ना गाउँठाउँमा पढेलेखेकामा गनिन्छौं , सबैले यो त कलेज पढ्ने भनेर चिनाउँछन्” स्नातक पहिलो वर्षकी १९ वर्षीया छात्रा राधा महतो भन्नुहुन्छ, “तर कुनै सामाजिक काममा आफू नजोडिएको कुराले केही त गर्नुपर्छ भन्ने लाग्यो, त्यसैले साथीहरुसँगको परामर्शबाट समाजमा जोडिने पहिलो काम रक्तदानलाई रोज्यौं ।” विद्यार्थीले आज बिहीबार आफ्नै क्याम्पस परिसरमा रक्तदानमात्र गरेनन् , बर्दिबास–३ स्थित रेडक्रस बर्दिबास उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको सञ्चालनमा सहयोग पुर्याउन क्याम्पसमै ‘रक्तसञ्चार केन्द्र सहयोगार्थ दानपेटिका पनि स्थापना गरेका छन् ।
“हामी आर्जनको काममा त छैनौ, तर खाजा खान घरमा बाबाआमाबाट केही रकम पाउँछौं” क्याम्पसकी स्नातक तहकै अर्की छात्रा अञ्जली सिंह भन्नुहुन्छ, “त्यसैबाट एक/दुई रुपैयाँ छुट्याएर यो दानपेटिकामा राख्ने निधो गर्यौं ।” पेटिकामा जम्मा भएको रकमले रक्तसञ्चार केन्द्रको व्यवस्थापनमा थोरै भएपनि आफ्नो योगदानले हामी पनि समाजका लागि केही गर्दैछौं भन्ने अनुभूति मिल्ने अञ्जलीको भनाइ छ ।
विद्यार्थीले थालेका पहिलो प्रयत्नमै आज ६० थैला रगत सङ्कलन भएको छ भने दानपेटिकाका लागि विद्यार्थीले गरेका आह्वानमा शिक्षक र अभिभावकले सहयोग गर्दा एक घण्टाभित्रै १० हजार बढी रकम सङ्कलन भएको कार्यक्रमका संयोजन सहयोगी क्याम्पसका शिक्षक कविन्द्र कट्टेलले जानकारी दिनुभयो ।
“विद्यार्थीमा सामाजिक काममा लाग्ने हुटहुटी देखियो, क्षेत्र पनि उनीहरुले नै रोजे, हामीले संयोजन र समन्वयमा सहजीकरण गरीदियौ” कट्टेल भन्नुहुन्छ, “पहिलो प्रयत्न नै उत्साहवर्धक रह्यो ।” विद्यार्थीको आग्रहमा क्याम्पस प्रशासनले रेडक्रस बर्दिबास उपशाखासँग रक्तदान कार्यक्रममा प्राविधिक सहयोगका लागि समन्वय गरीदिएको उहाँले स्पष्ट पार्नुभयाे।
आजको रक्तदान र दानपेटिका व्यवस्थापनको कामबाट असल कुरा सोचेर काममा सङ्कल्पसाथ लाग्दा सुखद परिणाम पाइने आशा जागेको विद्यार्थीको भनाइ छ । “हामीले छोटो समयको तयारीमै गरेको कामले ठिकै परिणाम आएको ठानेका छौं” क्याम्पसकी छात्रा सरस्वती कुशवाहा भन्नुहुन्छ, “यसले हामीलाई सिर्जनशील ऊर्जा दिएको छ, अब हामी अझ परिणाममुखी कामबारे सोच्न सक्नेछौं ।”
आफ्ना विद्यार्थीमा सामाजिक र परोपकारी कामबारे बढेको चासोले क्याम्पस प्रमुख चेतबहादुर खड्का पनि दङ्ग हुनुहुन्छ । छात्रछात्रामा बढेको यो सकारात्मक चासोले पछिसम्म यिनीहरुलाई सामाजिक कर्तव्य र दायित्वले झकझकाइ रहने खड्काको विश्वास छ ।
“विद्यार्थीले आफ्नो तहबाट जे सुरु गरे, प्रशंसनीय छ” खड्का भन्नुहुन्छ, “विद्यार्थीबाट हुने यस्ता सिर्जनशील र सामाजिक काममा क्याम्पस प्रशासन उद्दात्त भावले सहयोग गरीरहने छ ।” विद्यार्थीको यो तत्परता र सामाजिक लगावले क्याम्पसका शिक्षक, क्याम्पस प्रशासन र क्याम्पस व्यवस्थापन समिति सबै खुसी देखिन्छन् । “हाम्रा विद्यार्थीले समाजप्रतिको जिम्मेवारीवोध बढाएका छन्” क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमाल भन्नुहुन्छ, “यिनले निकै सकारात्मक आशा जगाए ।”
अहिले विद्यार्थीले थालेका यो पहलमा आम अभिभावक पनि गद्गद् देखिन्छन् । पढ्न पठाएका छोराछोरी कुसङ्गतमा परेर बिग्रने हुन् कि भन्ने चिन्ता लागीरहेका बेला विद्यार्थीले देखाएका सामाजिक कामप्रतिको तत्परताले नयाँ भरोसा र विश्वास जगाएको बर्दिबास–१४ का बासिन्दा अभिभावक राम अधिकारी बताउनुहुन्छ ।
सबैतिरबाट आफूहरुको प्रयत्नबारे बढेको सकारात्मक चासोले यस्ता सामाजिक काममा अझ प्रभावकारी ढङ्गले जुट्ने आत्मविश्वास जागेको विद्यार्थी बताउँछन् ।
महोत्तरीको बर्दिबास क्षेत्र लागुपदार्थ दुर्व्यसनको अखाडा बन्दै गएको आम चर्चाले पढ्न जाने छोराछोरीप्रति सदैव चिन्तित रहने अभिभावकलाई विद्यार्थीको यो सामाजिक अभिरुचीले ढाडस दिएको छ । विद्यार्थीले महिनामा एकाध पटक लागुपदार्थ दुर्व्यसनविरुद्ध पनि सचेतना कार्यक्रम संयोजन गर्ने तयारी गरेका छन् । “हामी लागुपदार्थविरुद्धको अभियानमा जोडिन्छौ” क्याम्पसकी छात्रा पुष्पा यादव भन्नुहुन्छ, “आफ्नो ठाउँलाई दुर्व्यसनमुक्त बनाउने हाम्रो सपना छ ।”
मधेशका धेरै क्याम्पस अस्तव्यस्त बन्दै गएका बेला त्रिभुवन विश्व विद्यालयको आङ्गिक यो क्याम्पसले शिक्षाको दियो जगाइ राखेको यहाँ आम प्रतिकृया पाइन्छ । स्नातक तहमा शिक्षा र वाणिज्य तथा स्नातकोत्तर तहमा शिक्षा सङ्कायको पठनपाठन हुदै आएको क्याम्पसमा अहिले एक हजार २०० माथि नियमित विद्यार्थी छन् । जसमा छात्राको सङ्ख्या ६५ प्रतिशतको हाराहारी रहेको क्याम्पस प्रमुख खड्का बताउनुहुन्छ ।
विक्रम सम्वत् २०६४ सालमा स्थापित यो क्याम्पस अहिले बर्दिबास वरपरका छोरीबुहारीको उच्चशिक्षा पढ्ने रहर पुर्याउने बन्दैछ । पहिलेको प्रविणता प्रमाणपत्रतह तह र पछि १२ कक्षा उतिर्ण गरेर बाहिर पढ्न जान नसकेका थुप्रै छोरीबुहारी अहिले धमाधम स्नातक र स्नातकोत्तर गरीरहेका क्याम्पस प्रमुख खड्का गर्वसाथ बताउनुहुन्छ । कार्यक्रममा बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले रक्तदाता विद्यार्थीलाई प्रशंसापत्र प्रदान गर्दै दानपेटिकामा पाँच हजार नगद हालेर सामाजिक काममा हाैस्याउनु भयाे ।
कार्यक्रममा रेडक्रस बर्दिबास शाखाका सभापति भुवन खड्कासहितका पदाधिकारी, क्याम्पसका शिक्षक र अभिभावकहरुकाे उपस्थिति थियाे ।
![](https://nepalvani.com/wp-content/uploads/2025/02/blood_donation_bardibas_nepalvani-7.jpg)
![](https://nepalvani.com/wp-content/uploads/2025/02/blood_donation_bardibas_nepalvani-6.jpg)
![](https://nepalvani.com/wp-content/uploads/2025/02/blood_donation_bardibas_nepalvani-5.jpg)
![](https://nepalvani.com/wp-content/uploads/2025/02/blood_donation_bardibas_nepalvani-4.jpg)
![](https://nepalvani.com/wp-content/uploads/2025/02/blood_donation_bardibas_nepalvani-3.jpg)
![](https://nepalvani.com/wp-content/uploads/2025/02/blood_donation_bardibas_nepalvani-2.jpg)
![](https://nepalvani.com/wp-content/uploads/2025/02/blood_donation_bardibas_nepalvani-1.jpg)