![](https://nepalvani.com/wp-content/uploads/2025/02/janakpur-festival-mahotasawa-3.jpg)
गोविन्द महतो,
जनकपुरधाम : लाटोकोसेरो तथा हँुचिल राति डर लाग्ने खालको आवाज निकाल्ने चरा हुन् । लाटोकोसेरोको आवाज सुनेर कतिपय तर्सिन्छन् पनि । सुनसान रातमा सक्रिय हुने र डरलाग्दो खालको आवाज निकाल्ने भएकोले पनि यसलाई भूतसँग जोडेर हेर्छन् । यसले कृषक वा मानिसका लागि कुनै पनि बिगार नगर्ने भए पनि भूतको रूपमा हेरेर यो चरालाई मार्ने तथा लखेट्ने गरेको पाइएको छ ।
लाटोकोसेरोले मुसा, सर्प, भ्यागुता, फट्याङ्ग्रा, छुचुन्द्रो, गँगटा, माछा, माउसुली, छेपारो, साना चरा, चमेरा, माकुरा, शंखेकिरा, लोखर्के, फ्याउरो, न्याउरी मुसो लगायतको सिकार गर्छ । लाटोकोसेरोको एउटा परिवारले अण्डा पारेर चल्लालाई उँड्ने बनाउने बेलासम्मको करिब चार महिनाको अवधिमा झन्डै तीन हजार सम्म मुसा खाने गरेको भेटिएको छ । यो भनेको कृषकहरुको लागि ठूलो राहत हो । नेपालकै पनि विभिन्न ठाउँमा लाटोकोसेरो मारेर खेतमा झुन्ड्याउने गरेको पनि पाइन्छ । लाटोकोसेरोको प्वाँख मात्रै देखे पनि त्यो ठाउँमा त्यहाँ मुसा नजाने विश्वास गरिन्छ ।
तर, अन्न सखाप पार्ने मुसा नै खाइदिने लाटोकोसेरोको संख्या घट्दै गएको छ । घट्दो संख्यामा रहेको लाटोकोसेरोको संरक्षणमा समुदायलाई सचेत गराउनकै लागि धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औँ संस्करणको ‘उल्लु’ तथा हुचिल ‘मुहदुसा’ उत्सव सम्पन्न भएको छ ।
लाटोकोसेरो तथा हुचिलको अध्ययन र संरक्षणमा लागिरहेको ‘प्रकृतिका साथीहरु’ र ‘मिथिला वाईल्ड लाईफ ट्रष्ट’ संस्थाले झन्डै ६ हजार जनालाई लाटोकोसेरो तथा हुचिलको महत्व र पर्यावरणमा यसको आवश्यकताको बारेमा जानकारी बाँड्दै उत्सवको १२ औँ संस्करण पूरा भएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।
किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि उत्सव आयोजना गरिएकोमा उद्देश्य अनुसार नै कृषक तथा आम नागरिकले लाटोकोसेरोको संरक्षणका लागि प्रतिबद्धता आएको मिथिला वाईल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलको भनाई छ ।
उत्सव आयोजना गर्नुपूर्व नै गाउँपालिकाका विभिन्न विद्यालयहरुमा पुगेर करिब हजार जना विद्यार्थीहरुलाई लाटोकोसेरोको महत्व, आवश्यकता, पर्यावरणमा यसको भूमिका, पक्षी अधिकारी, प्राकृतिक वातावरणको संरक्षण, मानव तथा पशुपक्षीबीचको द्वन्द्व व्यवस्थापनमा मानिसको भूमिका लगायतका विषयमा जानकारी दिइएको थियो । संसारभर हालसम्म करिब २२५ प्रजातिका लाटोकोसेरो तथा हुचिल पाइएको तथ्यांक छ । जसमध्येका २३ प्रजाति नेपालमा पाइएका छन् भने यसमध्येको एक प्रजाति लोप भइसकेको अनुमान गरिएको छ । नेपालमा तराईदेखि हिमालसम्म पाइने गरेका छन् । साना प्रजातिलाई लाटोकोसेरो र ठुलालाई हुचिल नामले चिन्ने गरिन्छ ।
नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव स्थानीय स्तरमा स्थानीयवासीको उपस्थितिमा मनाइएको छ । लाटोकोसेरो तथा हुचिलसंग सम्बन्धित प्रदर्शनी, नाच समेत समावेश गरिएको थियो । उत्सवको मूल ध्येय लाटोकोसेरो संरक्षणबारे सचेतना फैलाउनु थियो । उत्सवका संयोजक मण्डलले भने, ‘रमाइलो गर्नका लागि मात्रै आयोजना गर्ने गरिएको हैन, लाटोकोसेरोबारे सन्देश दिनु र संरक्षणबारे ज्ञान फैलाउनु मुख्य ध्येय हो । नेपालमा संरक्षणका लागि लाटोकोसेरो कम चासो दिइने चरा प्रजाति हो । यसको ठीक विपरित मासु खान वा व्यापारका लागि भने यसप्रति धेरैको गिद्धे दृष्टि छ ।’
नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवले लाटोकोसेरो संरक्षणका नीतिगत रुपमै संरक्षणको परिपाटी बनोस् भन्ने दबाब सृजना गर्दै आएको छ । उत्सवले लाटोकोसेरो मानव जातिलाई हानी नपुर्याउने चरा प्रजाति रहेको बुझाउने प्रयास गर्दै आएको छ । र, यो चरा किसानको साथी रहेको प्रष्ट्याउँदै संरक्षण गर्नु पर्ने सन्देश दिएको मण्डलको भनाई थियो ।