बर्दिबास (महोत्तरी), ९ फागुन ।

नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखा भवनलाई भौतिक साधन सम्पन्न बनाउन थप तला निर्माणको काम थालिएको छ ।

यसअघि भुइँतला र पहिलो तला रहेको बर्दिबास—३ गौरीडाँडास्थित रेडक्रस भवनको आज शुक्रबार दोस्रो तला निर्माणको कार्य बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले शुभारम्भ गर्नुभएको हो । दोस्रो तला निर्माणका लागि नेपाल सरकारको तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ३० लाख अनुदान उपलब्ध गराएको छ ।

बर्दिबास रेडक्रस उपशाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको छ । अब श्वेत रक्त (सेतो रगत) पनि बनाउने प्रकृयाका लागि आवश्यक पूर्वाधार तयार राख्न नयाँ बन्न लागेको दोस्रो तलाले सहयोग पुर्‍याउने रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्का बताउनुहुन्छ ।

रेडक्रस उपशाखा बर्दिबासले सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्रबाट बर्दिबासका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको आवश्यकता परिपूर्तिमा सहयोग पुग्दै आएको छ । यो रक्तसञ्चार केन्द्रले बर्दिबासमात्र नभएर मधेशका अन्य जिल्लाका अतिरिक्त सिन्धुली, भक्तपुर र चितौनका अस्पतालसम्म रक्तसेवा दिदै आएको छ ।

रेडक्रस बर्दिबास उपशाखाले रक्तसेवाका अतिरिक्त विपद् प्रतिकार्य र राहत उद्धारका काम गर्दै आएको छ । जिल्लाकै उत्कृष्ट ठहरिएको यो उपशाखा भौतिक संरचनाले समृद्ध हुँदैजानु निकै सुखदपक्ष भएको बर्दिबासबासीले प्रतिकृया दिएका छन् ।

२०८१ फाल्गुन ९, शुक्रबार १५:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय