बर्दिबास, १२ फागुन ।

संस्कृतमा भनाइ छ ‘मुण्डे मुण्डे मर्तिभिन्ना !’ यसलाई अब सविस्तार अर्थ लगाउन जरुरी छैन भन्ने लाग्यो । हामीकहाँ जे लाई मेला भन्ने चलन छ , त्यो झमेला बन्दै गइरहेको बेला बर्दिबासमा शैक्षिक महोत्सब ज्ञान महायज्ञको रुपमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । ‘सबैका लागि हामी’ संस्थाले बर्दिबास नगरपालिकाभित्रका सरकारी र संस्थागत विद्यालयहरुलाई एकै ठाउँमा जम्मा पारेर ऐतिहासिक महोत्सब सम्पन्न गरेको छ । बर्दिबास यो महोत्सवले दुई दिन (फागुन ११ र १२) चकाचौंध देखियो ।

ऋाज भोलि मेला,महोत्सवको नामसँगै ‘एलर्र्जी’ हुने अवस्थामा ससाना बाबुनानीहरुलाई फरक तरिकाले ज्ञान दिनका लागि आयोजित यो कार्यक्रमको सोच नै सकारात्मक र बहुउपयोगी थियो । जीवनका विविध पक्षमा प्रयोगका आउने बहुुउपयोगी र व्यवहारिक वस्तुहरुको खोज,संग्रह र प्रदर्शनले बाल मष्तिस्कलाई तिनको चित्र, प्रयोग र उपयोगिताका बारेमा प्रशिक्षित गर्दै थियो । खैजडी ,ढिब्री, ढिकी र जाँतो अनि बैण्डबाजाले स्वात्तै निलेको पन्चैबाजाका कर्णपृय स्वर हाम्रो मौलिकता हो भन्ने बुझदै थिए साना नानीहरु । ओखल, खल, जुवा र हलोलाई नजिकबाट हेर्दै थिए । बासिङ् मसिनले विस्थापित गराएको मुङ्रो देखाएर आफ्‌नो विगतमा आधुनिकता आएकोमा : अभिभावकहरु आपसमा कानेखुसी गर्दै थिए । ब्रेडमेकरले बिर्साएको बेलना, चक्ला, सेलर मिलले निलेको ढीकी, मिलले खाएको जातो छुदै सुुम्सुम्याउदै थिए विद्यार्थीहरु । हर्पे र कर्केली एकै साथमा देखेर आमाहरु आफ्‌नो विगत संझदै थिए । मेलाको नाममा शैक्षिक संयोग थियो यो । बुढाले पनि बिर्सिन लागेका कुुरालाई कोरा दिमागमा छाप दिन आयोजित यो बर्दिबासको ज्ञानमेला अविस्मरणीय र अभूतपूर्व नै बन्यो ।

ससाना नानीहरु ठूलो मञ्चमा आफ्‌ना विचार राख्दै थिए , ‘बिदेशीनु रहर हो की बाध्यता रु’ जोडदार अभिव्यक्तिमा सिर्जनशीलता थियो । बोलाइमा प्रखरता र राष्ट्वादको प्रखर वकालत । यसैगरी कविता वाचन, चित्रकला र विज्ञानका प्रयोगमा छात्रछात्रा तन्मय देखिन्थे । कार्यक्रममा ‘फूल्यो बाबरी’ बोलको लय गुञ्जियो । पाटुकी इशिका ढुङ्गेलको स्वरले कार्यक्रम पसिर गुञ्जायमान बन्यो । अब दुर्लभ मानिएको खोस्टाका पिरा, भोर्लाको दाम्लो, खुर्पेटो, फुर्लुङ् ,छपनी, ओदान, चिम्टा, मुखौरो, पराले गुन्द्री, डाली र मान्द्रो अनि दही मथ्ने ठेकी, तामाको घ्याम्पा, कपासबाट धागो कात्ने चर्खा र दूुध दुहुने ढुङ्ग्रो नयाँ पुस्ताका लागि अनुपम सङ्ग्रह थिए ।

शैक्षिक महोत्सब यस्तो आयोजना हो जसले शिक्षासँग जोडिएका सबै पहलुमाथि चर्चा गर्नसँगै भेद पनि खोल्दछ । यसको मुख्य उद्धेश्य नै शिक्षक विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा ल्याई विशिष्ट नब विचारलाई आदान प्रदान गर्नु नै हो । शिक्षामा आएका नयाँ प्रविधि, रचनात्मकता र प्रतिभालाई बढावा दिदै शिक्षा नीतिमाथि सुधारका लागि बहस, विज्ञान, कला, भाषा र अन्य शैक्षिक विषयमाथि प्रतियोगिता गराउनुसँगै शिक्षकका लागि प्रशिक्षण र कार्यशाला समेत बनेको छ शैक्षिक महोत्सव ।

बहुआयामिक सिकाइको केन्द्रको रुपमा यस भित्रका गतिविधिहरु प्रातियोगीसमेत हुने गर्दछन् । नयाँ ज्ञानको प्राप्ति, अनुसन्धान र प्रयोगात्मक सिकाइ, संबाद कौशलताको विकास, विद्यार्थीहरुबीच सहकार्य र नेतृत्व विकास एबं परम्परागत र नवीनतम बस्तुहरुसँग साक्षात्कार हुन पाउने भेला हो शैक्षिक महोत्सब । शैक्षिक महोत्सवको दीर्घकालीन प्रभाव शिक्षा प्रणाली मैं पर्न सक्छ । विधार्थीहरुमा सकारात्मक सोचको विकास गर्दै सीप विकास, शैक्षिक उत्साहमा वृद्धि, अनुसन्धानमुखी सोच, व्यवसायिक मार्गदर्शन अनि वैज्ञानिक इन्जिनियरिङ्, प्रविधि र उद्यमशीलताजस्ता विषयमा विधार्थीहरुको रुचीमा वृद्धि हुुन सक्छ । यसका अलावा शिक्षणमा नवीनतम प्रविधि (प्रोजेक्टमा आधारित सिकाइ, डिजिटल प्रविधि),रचनात्मक शिक्षण शैली ,सहकार्यको सस्कृति एबं शिक्षक र विद्यार्थीबीचको सम्बन्धमा सुधार ल्याउनुका साथै विचार र प्रविधि प्रयोग गर्न शिक्षकहरुलाई उत्प्रेरित गराउन यो शैक्षिक मेलाले अहं भूमिका निर्वाह गरेको छ ।

यो नाफा कमाउने र मात्र मनोरंजन दिने ब्यापार मेला हैन । यहाँ ज्ञानको आदान प्रदान हुने भएकाले गुरु र चेलाचेलीबीचको विशिष्ट भेटको अवबसर पनि हो । ज्ञान, सीप र प्रविधिको त्रिवेणि बन्यो महोत्सव । जनजनमा एउटा नयाँ जिज्ञासाको सञ्चार भयो, केही हुँदैछ भन्ने भरोसा बन्यो बर्दिबासको शैक्षिक महोत्सव ।

कृषकको मेहनतमा रजाइ गर्ने बादरलाई क्षति नपर्‍याउने गरी धपाउन विद्यार्थीले बनाएका उपकरण मेलाको अर्को आकर्षण बन्यो । बेला बेलामा तोपको सलामी दिदा झंै आबाज निकाल्ने सो यन्त्र वास्तब मै नमूना र उपयोगी रहेको अवलोकनकर्ताले महसुस गरे ।

आफ्‌ना छोरीहरुले गाएको, बोलेको र नाचेको देखेपछि नगिना महतो दङ्ग पर्नुभयो । “आफूले स्कूलको मुख देखिएन, छोरीहरु पढ्न जान्थे, खै के गर्छन् भन्ने लाग्थ्यो, तर यहाँ हेर्दा त केही गरीरहेका रहेछन् भन्ने लाग्यो” बर्दिबासको पहिलो विद्यालय जनता मावि बर्दिबास–२ को स्टल अवलोकनपछि उहां हर्षित हुँदै भन्नुहुन्छ, “यहाँ हेरेपछि छोराछोरीमा गरिएको लगानी ठिकै रहेछ भन्ने परेको छ ।” उनीहरुले बनाएका चित्र, नयाँनयाँ आफूले नदेखेका र विज्ञानसँग सम्बन्धित सामग्रीले नगिना महतोलाई आफूले पढ्न नपाएको आफैसँंग गुनासो छ ।

विद्यालयहरु ज्ञानका मन्दिर हुन् , विद्यार्थी गहना र गुरुहरु पुजारी अनि अभिभावकहरु संरक्षक । बर्दिबासस्थित बिबिएस स्कुलका प्रिन्सिपल सरोज प्रधान भन्नुहुन्छ, “यो नितान्त आवश्यक र गर्नै पर्ने कार्य थियो जुन ‘सबैका लागि हामी’ ले आयोजना गरिदियो ।” अब क्रम सुरु भएको छ, हामी सबैले यसलाई गुणस्तरीय बनाउन निरन्तरता दिनु पर्दछ । जनता मावि. बर्दिबास– २ का पधानाध्यापक तोपबहादूर ज्यू ठकुरी भन्नुहुन्छ, “यो निर्णय र सोचका लागि नगरप्रमुख प्रहलादकुमार क्षेत्री धन्यबादको पात्र हुनुहुन्छ ।”

‘हामी सबैका लागि’ सामाजिक संस्थाका अध्यक्ष रवि निरौला बर्दिबासका नव सोचका धनी युवा हुनुहुन्छ । उहाँकै भाइ रोमन उत्तिकै सृजनशील । ‘सबैका लागि हामी’ले बर्दिबासमा थुप्रै रचनात्मक कार्यहरु सम्पादन गरेको छ । बर्दिबासको विकासमा आशा लाग्दा अनुहारहरुको समुह हो , ‘सबैका लागि हामी ।’ सबैक्षेत्रबाट यो सिर्जनशीलता र रचनात्मकताको अनुसरण होस् । र हामी सबै भनौ, ‘हामी बर्दिबासका लागि, बर्दिबास हामी सबैका लागि ।’

२०८१ फाल्गुन १२, सोमबार १९:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय