भूमिका उपाध्याय,

बर्दिबास, १६ फागुन ।

नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले बर्दिबास नगरपालिकाका भित्री बस्तीमा सञ्चालन गरेको आँखा तथा पाठेघर जाँच र उपचार सेवाबाट ४८६ जना लाभान्वित भएका छन् । बर्दिबास—३ को चुरेकाछको बस्ती रजबास र बर्दिबास–२ को बारनचौडीमा सञ्चालित शिबिरमा सो सङ्ख्याका सर्वसाधारण जाँच तथा उपचार सेवाबाट लाभान्वित भएका हुन् ।

बर्दिबास–३ रजबासस्थित दुधेश्वरी आधारभूत विद्यालयमा बिहीबार सम्पन्न शिबिरमा आँखा र पाठेघरसहितको जाँच र उपचार सेवा २१७ जनाले लिएका छन् । त्यहाँ १७० जनालाई जाँचपछि औषधी दिइएको छ । यसैगरी ३५ जनालाई चश्मा दिइएको र छ जनामा मोतीविन्दु एबं चार महिलाको पाठेघरको शल्यकृया गरिनु पर्ने भएको छ ।

यस्तै आज शुक्रबार बर्दिबास–२ स्थित जनजागृति आधारभूत विद्यालयमा सम्पन्न आँखा तथा पाठेघर जाँच तथा उपचार शिबिरमा २६९ जनाले सेवा लिएका रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ । यहाँ सम्पन्न शिबिरमा १९१ जनाले आँखा जाँच र ७८ जना महिलाले पाठेघर जाँच गराएका छन् । जस्मा १३० जनालाई औषधी दिइएको र ४० जनालाई आँखाको जाँचपछि चश्मा दिइएको उपशाखाका कोषाध्यक्ष दानबहादुर (विष्णु) थापाले जानकारी दिनुभयो । सो शिबिरमा २० जनामा आँखाको मोतीविन्दु पाइएको छ ।

बर्दिबास नगरपालिकाको सहयोगमा सम्पन्न शिबिरमा पाठेघरको शल्यकृया गरिनु पर्ने ठहर गरिएका महिलाको बर्दिबास–१४ स्थित शुभस्वस्तिक अस्पताल र मोतीविन्दुको शल्यकृया ढल्केबरस्थित द रेयुकाई नेपालमा निःशुल्क गरिने रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ । दुबै शिबिरमा रेडक्रस उपशाखा र शुभस्वस्तिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले जाँच सेवा दिएका हुन् ।

२०८१ फाल्गुन १७, शनिबार १३:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय