
जनकपुरधाम, फाल्गुन ।
माईती नेपाल धनुषाले नेपालबाट भारत तर्फ जाँदै गरेको अवस्थामा १ सय २ जना बालबालिकालाई उद्धार गरेको छ । मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा क्रियाशील रहेको माइती नेपालले एक वर्षको अवधिमा नेपाल रेल्वे तथा सिमानाका बाट एकसय दुई जनाको उद्धार गरेको हो ।
धनुषा र महोत्तरीको सीमानाका भएर भारत तर्फ गइरहेको श्रमिकको रुपमा तथा बालअधिकार हनन् हुने अवस्थतामा भेटिएका बालबालिकाहरुलाई संस्थाका अनुगमन टोलीले प्रहरीको सहयोगमा उद्धार गरेको संस्थाले जनाएको हो ।
जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा माईती नेपालले मध्ये १८ वर्ष मुनिका ५३ जना तथा १८ वर्ष माथिका ४९ जनाको उद्धार गरेको जनाएको छ । माईती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले १ सय जनालाई सुरक्षा आवास तथा मनोसमाजिक परामर्श सेवा दिएर परिवारजनको जिम्मा लगाईएको जनाएको छ । सुरक्षा आवास पाउनेहरुमा ४६ जना १८ वर्ष मुनिका र ५४ जना १८ वर्ष माथिको बालबालिका रहेको जनाएको छ ।
यसका साथै एक वर्षको अवधिमा १ सय ७२ जनालाई मनोपरामर्श सेवा दिइएको छ । माईती नेपालले १ वर्षको अवधिमा नेपालबाट सीमानाका तर्फ जाने ८ हजार ३ सय ८२ बसको चेक जाँच गर्नुका साथै ५ हजार १ सय ९२ मानव बेचबिखन सम्बन्धि जनचेतनामूलक सूचना दिएको पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
नेपालमा मानव बेचबिखन सम्बन्धमा कडा कानून रहेपनि विभिन्न प्रलोभनमा पारेर दलालहरुले मानव बेचबिखनमा ललाईफकाई लाने गरेको तथ्याङ प्रस्तुत गरेको छ । मानव बेचबिखनमा परेकाहरूलाई उद्धार गरेर ल्याइएकाहरुलाई लक्षित गरेर माइती नेपालले विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । जसमा स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गरेर उनीहरुको जिविकोपार्जनमा सहयोग गर्दै आएको जनाएको छ ।
संस्थाले २३ जिल्लामा काम गर्नुका साथै देश भरिमा १८ सुरक्षा आवास गृह, ३ वटा रोकथाम गृह, पुनस्र्थापना केन्द्र, स्नेह गृह, विद्यालय, वाल संरक्षण गृह, प्राथमिक उपचार केन्द्र देखि आय आर्जनसम्मको काम गर्दै आएको छ । नेपालमा वर्षेनी रुपमा ३५ हजारको संख्यामा मानव बेचबिखन हुने गरेको तथ्याङ्क माईती नेपालले प्रस्तुत गरेको छ । मानव बेचविखनमा संलग्न भएको पाइएको खण्डमा २० वर्ष सम्मको जेल सजायका साथै २ लाख जरिवानाको व्यवस्था रहेको छ । यसका साथै वेश्यावृत्ति गराउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजार जरिवानाको व्यवस्था कानुनमा रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मानव अधिकार आयोग मधेश प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनी, ईन्सेकका मधेश प्रदेशका प्रमुख राजु पासवान तथा शान्ति पुनः स्र्थापना केन्द्रका प्रमुख रिना झाले मानव बेचबिखन नियन्त्रणका लागि नियमन तथा जनचेतनामूलक कार्यक्रम गर्न जरुरी रहेको बताईन् ।