बर्दिबास, ५ चैत  ।
महाेत्तरीकाे बर्दिबास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षत्रीले आफ्नो ४७ औं जन्मदिनका अवसरमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई ‘भ्यान’ उपहार दिनुभएको छ । क्षत्रीले आज मङ्गलबार बा १८ च ११८३ नम्बरको ‘भ्यान’ उपहारस्वरुप रेडक्रसलाई प्रदान गर्नुभएको हो ।
यसअघि गत असार ३० गते आफू र पत्नी मञ्जु क्षत्रीको २५ औं वैवाहिक वर्षगाँठका अवसरमा रेडक्रस बर्दिबास उपशाखाले सञ्चालन गरेको  रक्तसञ्चार केन्द्रमा रक्त सङ्कलन कार्यमा सहयोगका लागि ‘भ्यान’ उपहार दिने घोषणा उहाँले गर्नुभएको थियो । सोही घोषणाअनुसार क्षत्रीले आज मङ्गलबार आफ्नो जन्मदिनको अवसरमा रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई भ्यानको साँचो हस्तान्तरण गर्नुभएको हो । ‘भ्यान’ हस्तान्तरण गर्दै क्षत्रीले परोपकारी कार्यमा उपयोग हुने कुराले आफ्नो वैवाहिक वर्षगाँठ र जन्मदिन जनताको सेवामा समर्पित गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । क्षत्रीले प्रमुखका हैसियतमा नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त सुविधा (पारिश्रमिक, भत्ता) वापतको रकमबाट किनिएको स्पष्ट पार्नुभयो ।
रेडक्रसलाई प्राप्त ‘भ्यान’ अब विभिन्न ठाउँमा रक्त सङ्कलन शिबिर सञ्चालनमा प्रयोग हुनेछ । करिब एक साताअघि १० लाख मूल्यमा किनिएको ‘भ्यान’ रेडक्रस उपशाखा बर्दिबासका नाउँमा आइसकेको छ । प्राप्त ‘भ्यान’ ले अब टाढाटाढासम्म रक्त सङ्कलन शिबिर सञ्चालनमा निकै सहज हुने रेडक्रस बर्दिबास उपशाखाका सभापति खड्काले बताउनुभयो । ‘भ्यान’को सहयोगले रक्तदानसम्बन्धी सामग्री सम्बद्ध ठाउँमा पु¥याउन र सङ्कलित रगत छिटै रक्तसञ्चार केन्द्रमा ल्याई आवश्यक परीक्षण गरी सञ्चय गर्न निकै सहज हुने खड्काको भनाइ छ ।
अहिले दोस्रो तला भवन निर्माण भइरहेको रेडक्रस बर्दिबासको पहिलो भुइँतला बनाउन क्षत्रीले सम्पूर्ण लागत व्यहोर्नुभएको थियो । रेडक्रस बर्दिबास उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट रगतको सेवा लिने नगरबासीलाई क्षत्रीले आपूm प्रमुख निर्वाचित भएपछि निःशुल्क सेवाको घोषणा गर्नुभएको थियो । सोअनुसार रक्तसञ्चय र प्रयोगशालासम्बन्धी लाग्ने खर्च रक्तसञ्चार केन्द्रलाई बर्दिबास नगर कार्यपालिकाको कार्यालयले दिदै आएको छ ।
बर्दिबासस्थित यो रक्तसञ्चार केन्द्रबाट बर्दिबाससहितका जिल्लाका अस्पताल,  छिमेकका धनुषा, सर्लाही र सिन्धुलीका अस्पतालमा उपचाररत बिरामीले रक्त सेवा लिदै आएका छन् । यसबाहेक भक्रपुर, चितौन र काठमाण्डौंसम्मका अस्पतालमा उपचाररत बिरामीले रगतको सेवा लिएका रेडक्रस बर्दिबास उपशाखाको रक्तसञ्चार केन्द्रका संयोजक रेवन्त कार्कीले जानकारी दिनुभयो । यस केन्द्रबाट मासिक सरदर ३०० प्रिन्ट (पोका) रगत सेवाग्राहीको उपचारमा जाने गरेको कार्कीको भनाइ छ ।
रक्तसञ्चार केन्द्रमा महोत्तरी र धनुषाका सामाजिक सङ्घसंस्था, वित्तीय संस्थाहरु र विभिन्न निकाय एबं व्यक्तिले स्वेच्छिक रक्तदान दिदै आएका छन् ।


२०८१ चैत्र ५, मंगलवार २१:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु