सौम्य र शालीन व्यक्तित्व क. विष्णुबहादुर मानन्धर

गोपाल बराल, महोत्तरी

सामान्य लिवासको असाधारण व्यक्तित्वबारेको तस्बिर मेरो मानसपटलमा त्यति धेरै छैनन् । विभिन्न क्षेत्रका यस्ता बिर्सन नसकिने असाधारण व्यक्तित्वबारे कतिपय नाउँ त इतिहास पढ्दा थाहा पाइन्छ । आफ्‌नै भोगाइ र सङ्गतिबाट गमेका थोरै व्यक्तिहरुमा क. विष्णुबहादुर मानन्धर मेरो मानसपटलमा जिवित हुनुहुन्छ ।
न नाजायज कुनै लोलोचोपो, न बोलाइ र गराइमा कुनै द्विविधा वा दोधारेपन । विचारमा स्पष्ट, निष्ठामा अविचलित, छवि क्रान्तिकारी , स्वभाव अत्यन्त सरल र सहज । सामान्य लिवास , तडकभडकरहित । मैले बुझेका स्व. मानन्धरको शब्दमा उतार्ने छोटो परिचय यतिमा पनि पुग्छ । विक्रम सम्वत् १९८९ सालमा मधेशको रौतहटका जमिन्दार परिवारमा जन्मिएर जीवनभर भोका, नाङ्गाहरुको मुक्तिका लागि कम्युनिष्ट पार्टीमा आबद्ध भएर सोहीअनुरुपको चरित्र र व्यवहार उतार्नु चानचुने कुरा थिएन । राजनीतिक यात्रामा मानन्धरले जीवनपर्यन्त यी कुरालाई निर्वाह गर्नुभयो । पिता मानबहादुर मानन्धरका १० भाइ छोरामध्ये अन्य दाजुभाइ विभिन्न क्षेत्रका विशिष्ट जिम्मेवारीमा रहँदा विष्णुजीले भने सर्वहारा वर्गको मुक्तिको सपना साँच्नुभयो, जीवनपर्यन्त यसैमा लाग्नुभयो ।

विक्रम सम्वत् २०३५/०३६ सालको विद्यार्थी आन्दोलनले मलाई पनि तानी सकेको थियो । आन्दोलनका कैयन मोर्चामा प्रत्यक्ष सहभागी हुने र मौका पाउनासाथ त्यो मोर्चाको नेतृत्व गर्दै अघि बढ्ने क्रममा त्यसताकाका क्रान्तिकारी नेता मदनमोहन थापा र कृष्ण दाहालसँग राजनीतिक रुपमै जोडिइ सकेको मैले हेक्का नै पाएको रहेनछु । मलाई उहाँ दुबैले क. मानन्धर नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध गराउनुभयो । आन्दोलन चर्कदै जाँदा २०३६ साल जेठ १० गते तत्कालीन राजा वीरेन्द्रले सुधारसहितको पञ्चायती व्यवस्था वा बहुदलीय व्यवस्था रोज्ने अधिकार जनतालाई दिने भन्दै जनमत सङ्ग्रहको घोषणा गरे । नजानिदै म आबद्ध भइसकेको कम्युनिष्ट पार्टीले जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत तयार गर्ने बाटो लियो । यसैक्रममा महोत्तरीकै लोहारपट्टीमा सो दलले २०३६ जेठ मसान्तताका नै आयोजना गरेको जनसभामा मानन्धरसँगको मेरो पहिलो भेट हो ।

त्यो भेट सम्बन्धको पहिलो सिलसिला रहेछ । त्यसपछि मानन्धरजीसँगको सम्बन्ध झन प्रगाढ र पारिवारिकसमेत बन्दै गयो । म पार्टीको विद्यार्थी मोर्चाको जिम्मेवारीमा रहेको र सो मोर्चाका नेतामध्ये मानन्धरका पुत्र सुनिल मानन्धर मुख्य हुनुहुन्थ्यो । यसकारणले म बाक्लै उहाँको घरमै पुग्थे । सुनिल एउटै मोर्चाका साथी भएका हुँदा उनकै सम्बन्धले अन्य परिवारजनसँग नाता गाँसिन्थ्यो । सुनिलका बुबा, आँमा र दिदीहरु सबै मेरा पनि बुबा, आँमा र दिदीहरु भए । सुनिलकी आमाबाट आमाकै माया पाएको छु ।

मैले माथि नै विष्णुजीलाई सरल व्यक्ति भनी सकेको छु । उहाँसँग राजनीतिक सामिप्यताका १४ वर्ष रहे । अर्थात् २०३६ सालदेखि २०४९ सालमा मसहितका साथीहरु एमालेमा समाहित हुन पूर्वसम्म । म उहाँसँगका भेटलाई गणनामा राख्न असमर्थ छु । म २०३८ पुसको पार्टीको चौथो जिल्ला अधिवेसनबाट जिल्ला कमिटीमा चुनिएको थिएँ । अप्ठ्यारो बेलाको पार्टीमा कमिटी सदस्य सङ्ख्या निकै कम हुन्थ्यो । मेरो सम्झना ठिक भए म चुनिएका बेला २०३८ मा १३ सदस्यीय जिल्ला कमिटी थियो । त्यसै साल पार्टीको चौथो महाधिवेसन हुनु थियो । म सो महाधिवेसनको पनि प्रतिनिधि थिएँ । भारतीय कम्युनिष्ट पार्टीको बिहारको मुजफ्‌फरपुरस्थित विशाल कार्यालय भवनमा २०३८ फागुनमा सात दिन महाधिवेसन चल्यो । महाधिवेसनस्थललाई त्यसै साल निधन हुनुभएका पार्टीका केन्द्रीय सदस्य टीकाप्रसाद पोखरेल (बटेश्वर, धनुषा) को सम्झनामा टिकापुर घोषणा गरियो । सो महाधिवेसनको आफैंसँग जोडिएको एउटा सन्दर्भ अझै ताजा छ । महाधिवेसनको उद्घाटनसत्रमा सबैभन्दा जेष्ट प्रतिनिधिले सबैभन्दा कान्छा प्रतिनिधिलाई पार्टीको झण्डा हस्तान्तरण गर्ने कार्यक्रम थियो । त्यतिखेर १८ वर्षको मैले रौतहटका ७५ वर्षीय कुँवर ठाकुरका हातबाट कम्युनिष्ट पार्टीको झण्डा समाल्दै कहिल्यै यो झण्डा झुक्न नदिने प्रतिज्ञा गरेको थिएँ ।

कालान्तरमा एउटै बलियो कम्युनिष्ट पार्टी निर्माण गरिनुपर्छ भन्ने मान्यताले प्रेरित भएर २०४९ सालमा सीतानन्दन राय नेतृत्वमा मसहितका मुलुकभरकै अधिकांश साथी एमालेमा समाहित भयौ । अरुले त भने भनेनन् थाहा भएन, तर मैले विष्णुजीलाई बलियो कम्युनिष्ट पार्टी बनाउन एमालेमा समाहित हौं भने । यस कुरामा उहाँले मलाई रोक्न सक्नुभएन । त्यसयता हाम्रा फरक पार्टी भए । तर म सम्झन्छु, मुजफ्‌फरपुर महाधिवेसनमा मैले कहिल्यै झुक्न नदिने भनेर थामेको झण्डा अझै मेरो हातमै छ ।
विष्णुजी पार्टीको महासचिबका हैसियतमा बाक्लै मधेश आउनुहुन्थ्यो । बैठक, प्रशिक्षण र आन्दोलनका विषय बस्तु हुन्थे । उहाँ मिहीं तवरले अवस्थाको चित्रण गर्नुहुन्थ्यो । म सम्झन्छु , २०३७ सालको जनमत सङ्ग्रहताका विष्णुजीले निरङ्कुश पञ्चायतविरुद्ध प्रजातन्त्र प्राप्तिको सङ्घर्षलाई मजवुत बनाउन बहुदलीय व्यवस्थाको पक्षमा जनमत तयार गर्नुलाई प्राथमिकतामा राख्नु भएको थियो । त्यतिखेर कैयौं गुटउपगुटका अन्य कम्युनिष्ट पार्टीले जनमत सङ्ग्रह बहिष्कारका नारा लगाएका थिए । प्रकारान्तरले त्यो नाराले परिवर्तन चाहने शक्ति एकजुट हुन नसक्दा पञ्चायतको जालझेल चल्यो । चुनावमा निर्दल जितेको घोषणा गर्न पञ्चले भ्याए । त्यसपछि पनि विष्णुजीले निरन्तर पञ्चायतविरुद्ध व्यापक प्रजातान्त्रिक एकताको नीति बढाइरहनुभयो । कसैले जस दिउन् वा नदिउन् , २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा संयुक्त वाम मोर्चा र काँग्रेसबीचको सहकार्यले नै पञ्चायत ढाल्न सकियो । विष्णुजीको दुरगामी नजर यसबाट पनि स्पष्ट हुन्छ । व्यापक प्रजातान्त्रिक एकताको नीतिले परिणाम दियो । पञ्चायत ढल्यो ।

विक्रम सम्वत् २००७ सालको राणाशाहीविरुद्धको आन्दोलनताका विष्णुजी सम्भवतः बनारसमा पढ्दै हुनुहुन्थ्यो । त्यसताका नेपालको प्रजातान्त्रिक आन्दोलनको ‘हेडक्वाटर’ नै बनारस थियो भन्न सायद अत्युक्ति नहोला । बिपी कोइराला, मनमोहन अधिकारी, सूर्यप्रसाद उपाध्याय, पुष्पलाल श्रेष्ठलगायतका नेता त्यहींबाट आन्दोलनको रेखा कोर्थे । विद्यार्थी रहनुभएका विष्णुजी त्यहींबाट राणशाहीविरुद्धको आन्दोलनमा जोडिदै जानुभयो । आन्दोलन बढ्दै जाँदा राणा र काँग्रेसबीच दिल्लीमै सम्झौता भयो । आमुल परिवर्तनको अभिष्ठ पूरा नहुँदै भएको सम्झौताले विष्णुजीमा काँग्रेस मोह टुट्यो । उहाँ २००९ तिर आइपुग्दा कम्युनिष्ट पार्टीले सञ्चालन गरेका सामन्त र जमिन्दारविरुद्धका सङ्घर्षमा होमिनुभयो । रौतहटसहितका मधेशमा किसानका आन्दोलन बढे । विष्णुजी सम्भवतः २०१४ सालमा कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य चुनिनुभयो । रौतहटको मूल नेतृत्व उहाँले नै समाल्नुभएको थियो । यिनै सङ्घर्षका परिणामले २०१५ सालको आम चुनावमा  मुलुकभरिमा चार सिटमात्र जितेको कम्युनिष्ट पार्टीले रौतहटका दुई सिट जित्यो । हरदयाल महतो र शेष फरमान साँसद बने ।

पछि राजाले प्रजातान्त्रिक व्यवस्था निमोठेर पञ्चायत लादेपछि विष्णुजीले निरन्तर पञ्चायतविरुद्ध काँग्रेस र वामशक्तिको सहकार्यको नीति अख्तियार गरीरहनुभयो । यिनै विषयको केन्द्रमा कम्युनिष्ट पार्टीमा फुट बढ्दै गए । विष्णुजीले पञ्चायत नढालेसम्म यो नीतिको वकालत गर्न छाड्नुभएन । पछि आफूआबद्ध कम्युनिष्ट पार्टीका नेता डा. केशरजङ्ग रायमाझी राजासँग लहसिदै गएपछि माझीविरुद्धको सङ्घर्षको नेतृत्व उहाँले गर्नुभयो । २०३८ सालमा डा. रायमाझी निष्कासित भए । त्यसपछि आफू आबद्ध पार्टीको मूल नेताको हैसियतमा विष्णुजीले पञ्चायतविरुद्ध व्यापक प्रजातान्त्रिक एकताको नीतिलाई बढाइरहनुभयो । यो नीति २०४६ मा फलित भएको हाम्रा सामु छर्लङ्ग छ ।
पञ्चायतविरुद्धको निर्णायक सङ्घर्षका बेला तराईका जिल्लामा विष्णुजी नेतृत्वको कम्युनिष्ट पार्टी दर्विलो उपस्थिति थियो । विष्णुजी पार्टी कामका सिलसिलामा पञ्चायतकालमा चार/पाँच पटक त मेरो महोत्तरीको भङ्गाहास्थित झुप्रोमै सामान्य दाल/ भात खाएर एकसरो चटाइ र तन्नामा रात बिताउनुभएको छ । ती दिनको सम्झनाले मात्र पनि उहाँप्रतिको श्रद्धाभाव झन् प्रगाढ बन्छ ।

प्रजातन्त्र पुनस्थापनालगत्तै विक्रम सम्वत् २०४७ सालको आमनिर्वाचनमा विष्णुजी नेतृत्वको कम्युनिष्ट पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न सकेन । सर्लाही र चितौनमा एक/एक सिटमात्र जित्न सक्यो । सो चुनावमा काँग्रेसको दादागिरीविरुद्ध जुध्दै नेकपा (एमाले) ले राम्रो नतिजा देखाउनसक्यो । चुनावलगत्तैदेखि काँग्रेसको पेलाइमा परेका , मुद्दा खेप्नुपरेका कार्यकर्तातहबाट कम्युनिष्ट पाटीहरुबीच एकिकरण गरिनपर्ने दवाव बढ्दै गयो । यसै पृष्ठभूमिमा विष्णुजी नेतृत्वको मसमेत आबद्ध पार्टीले एकीकरणका लागि वार्ता समिति पनि बनायो । तर सो दलको उपल्लो नेतृत्वमा एमालेका उपलब्धी देख्न नसक्नेहरुको बहुमत थियो । त्यसैले एकीकरणका नाउँमा तुलसीलालजी र बर्माजी नेतृत्वको पार्टीसँग एकीकरण गरेर झारा टार्ने काम भयो । विष्णुजीले एमालेसँगको एकीकरण अभियानलाई बल दिन सक्नुभएन । मेरो बुझाइमा उहाँ चुक्नुभएको यही ठाउँ रह्यो । समयको प्रवाहलाई रोक्न विष्णुजीलाई उक्साउनेहरुको केही लागेन । अधिकांश आधारभूततहका कार्यकर्ता २०४९ मा एमालेमा समाहित भए । म पनि यो अभियानमा सरिक भएँ ।

उहाँ नेतृत्वको दलसँग बगावत गरिएपनि ममा विष्णुजीप्रतिको निष्ठा र श्रद्धामा कहिल्यै कमी भएन । २०४९ माघमै सम्पन्न नेकपा (एमाले) को पाँचौ महाधिवेसनको म प्रतिनिधि थिएँ, त्यसक्रममा काठमाण्डौं जाँदा एक बिहानी उहाँलाई भेट्न घरमै पुगे । फेरि उहाँलाई एकीकरणमा जोडिने सल्लाह दिने धृष्टता गरें । मलाई थाहा छैन, तर त्यतिखेर उहाँले एमालेमा आफू एकीकरणमा जाने कुरा नपचाउने नेता रहेका तर्फ सङ्केत गर्नुभएको थियो । त्यसयता पनि कैयनपटक उहाँलाई भेटेको छु, घरमै पुगेर । उही पुरानो आत्मियता , उही सरलता । विष्णुजीको सौम्यता , शालीनता र आन्दोलनप्रतिको निष्ठा कहिल्यै धर्मराएन ।

पछि २०७६ सालतिर उहाँ अलि बढी बिरामी हुन थालेपछि मेरा विद्यार्थी कालका साथी पछि राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक बन्नुभएका श्री श्याम रिमालले खबर गर्नुभयो । म काठमाण्डौं पुगे । विष्णुजीलाई भेट्न उहाँका छोरा सुनिल मानन्धरलाई फोन गरेर घर आउँछु भने , तर सुनिलले भेट्न नदिने जानकारी दिनुभयो । मैले परैबाट हेर्छु नि त पनि भने , तर सुनिलजीको अडान तलवितल भएन । मैले भेट्न पाइन, देख्न/हेर्न पनि पाइन । २०७७ चैत १६ गते उहाँको निधन भयो ।
सुनिल मैले बाक्लै सङ्गत गरेका नेता हुन् । उनको आनदोलनप्रतिको समर्पण र निष्ठामा कुनै प्रश्नको गुञ्जाइस छैन । तर एक दिन श्याम रिमालसँगको भेटमा उनले मलाई चिन्न अनभिज्ञता जाहेर गरेछन् । यो गुनासो पनि हैन, सिकायत पनि छैन । यति लाग्यो, मान्छे यहाँसम्म पुग्दा रहेछन् । म विष्णुजीको अंश खाने हैन, उहाँको सामिप्यता र स्नेह पाएको कार्यकर्ता हुँ । यस अर्थमा आफ्‌ना गुरुप्रति अहिले पनि अगाध श्रद्धा छ । शिर निहुरिन्छ, उहाँको नाउँको सम्झनाले नै पनि ।

आज २०८१ को चैत १६ गते स्व. विष्णुबहादुर मानन्धरको चौथो स्मृति दिवस हो । मैले सम्झेर के पो हुने हो र ? कम्युनिष्ट पार्टीका उपल्ला तहका नेताहरुमा उहाँको आदर्श र निष्ठा आउनसके उहाँको सम्झनाले सार्थकता पाउँथ्यो होला । सादर नमन साधारण लिवासका असाधारण व्यक्तित्वलाई । हार्दिक श्रद्धाञ्जली ।


२०८१ चैत्र १६, शनिबार १२:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु