बर्दिबास (महोत्तरी) ९ वैशाख ।
अधिकांश समय एकअर्काका कुरा काट्ने कम्युनिष्ट पार्टीका पाँच घटकका नेता आज मङ्गलबार एउटै मञ्चमा उभिएर विचार विमर्श गरेका छन् । लेनिन शतवार्षिकी समारोह मधेश प्रदेश समितिले बर्दिबासमा आयोजना गरेको ‘लेनिनवादको आलोकमा नेपाली समाजवादी क्रान्ति’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा पाँच कम्युनिष्ट पार्टीका नेता एउटै मञ्चमा उभिएका हुन् ।

नेकपा (एमाले) , नेकपा माओवादीकेन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त आयोजनामा लेनिन शतवार्षिकी समारोह लेनिनकै जन्मदिन पारेर आज समापन गरेका हुन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य लक्ष्मण पौडेल, नेकपा माओवादीकेन्द्रका केन्द्रीय सदस्य राजु खड्का, नेकपा (विप्लव नेतृत्वको)का केन्द्रीय सदस्य पवन सी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय प्रवक्ता मदन प्रभात र नेकपा (एमाले)का केन्द्रीय स्कूल विभागका सदस्य शङकर महतोले मुलुकको विशिष्टताका आधारमा लेनिनवादको औचित्य स्थापित गरिनु पर्नेमा जोड दिनुभयो ।

लेनिनको नेतृत्वमा रुसमा १९१७ मा पहिलो समाजवादी क्रान्ति सम्पन्न भएसँगै त्यसपछि चीन, पूर्वी युरोप, भियतनाम, उत्तर कोरिया र क्युवासहितका देशमा एकपछि अर्को गर्दै क्रान्ति सफलताको लहर चलेको सबैले स्मरण गरे । मार्क्सवाद र लेनिनवादलाई आआफ्‌नो मुलुकको विशिष्टतामा भन्दा शास्त्रीय रुपमा व्याख्या गर्ने र उतार्ने प्रयत्न गरिदा आन्दोलनले क्षति व्यहोर्नु परेको वक्ताहरुको स्वीकृति रह्यो ।

यसपालि गत जनवरी २१ तारिखका दिन लेनिनको शतवार्षिकी समारोहको अवसरमा बर्दिबासस्थित आधारशीला परिवारले आयोजना गरेका कार्यक्रमममै पाँचै घटकले २१ जनवरीदेखि लेनिनको जन्मदिन २२ अप्रैलसम्म प्रदेशभरि वैचारिक बहसका कार्यक्रम सञ्चालन गर्न माओवादी नेतृ तथा राष्ट्रियसभाका पूर्वउपाध्यक्ष शशिकला दाहालको संयोजकत्वमा पाँच सदस्यीय लेनिन शतवार्षिकी समारोह मधेश समिति गठन गरेर गतिविधि सञ्चालन गर्दै आएको थियो ।
आज सम्पन्न कार्यक्रममा मार्क्सवादी विश्लेषक रोशन जनकपुरीले ‘‘एक्काइसौं शताब्दीमा लेनिन सम्झनुको अर्थ’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमका सहभागीबाट आएका प्रतिकृया र सुझावहरु समेट्दै अघिल्लो वर्षको लेनिन जयन्तीका अवसरमा फेरि छलफल गरिने टुङ्गो भएको संयोजक शशिकला दाहालले जानकारी दिनुभयो ।

एकअर्काप्रति कटाक्ष र आरोप प्रत्यारोपको बानी परेका कम्युनिष्ट घटकहरु एक ठाउँमा जम्मा हुने र खास विषयमा समान धारणा बनाउनसक्दा रहेछन् भन्ने आजको कार्यक्रम दृष्टान्त बनेको सहभागीको प्रतिकृया छ ।


२०८२ बैशाख ९, मंगलवार १९:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय