
बर्दिबास, १० वैशाख ।
बर्दिबासमा आयोजित प्रथम मेयर कप वडास्तरीय फुटवल प्रतियोगिताको उपाधि बर्दिबास–८ हाथीलेटले उचालेको छ । आज बुधबार साँझ भएको अन्तिम प्रतिष्पर्धामा बर्दिबास–५ लाई एकका विरुद्ध तीन गोल हासिल गर्दै हाथिलेटले उपाधि हात पारेको हो ।
यो जितसँगै विजेता बर्दिबास–८ हाथीलेटले ट्रफी, प्रमाणपत्र र ५१ हजार नगद प्राप्त गरेको छ । यसैगरी दोस्रो स्थान प्राप्त गर्ने बर्दिबास–५ ले दोस्रो कपवापतको ट्रफी, प्रमाणपत्र र २५ हजार नगद प्राप्त गरेको छ । ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले विजेता र उपविजेता टिमलाई प्रदान गर्नुभयो । बर्दिबास–८ को जितका लागि सङ्गम मगरले दुई र गणेश भुजेलले एक गोलको योगदान दिनुभयो । यसैगरी बर्दिबास–५ का लागि हेमन्त भुजेलले एक गोल गर्नुभयो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ वैशाख–३ गते सुरु भएको प्रतियोगिता बर्दिबास नगरपालिकाकाको आर्थिक सहयोगमा राइजिङ् युवा क्लवले आयोजना गरेको हो । प्रतियोगितामा नगरका १४ वडामध्ये १२ वडाका १२ टिम सहभागी भएका राइजिङ् क्लवका प्रतियोगिता संयोजक डेविड हमालले जानकारी दिनुभयो ।
बर्दिबास नगरपालिकाले खेलकुदको संस्थागत विकासका लागि बर्सेनि स्थानीय युवा क्लवहरुमार्फत विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ । यसअघि खुला मेयर कप फुटवल प्रतियोगिता र प्रथम बर्दिबास मेयर कप वडास्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भइसकेका छन् । अबलगत्तै वडा स्तरीय मेयर कप महिला फुटवल प्रतियोगिता आयोजना गरिने नगरप्रमुख क्षत्रीले आज समापन कार्यक्रममा घोषणा गर्नुभयो ।