
महोत्तरी, १२ वैशाख ।
प्राचीन भाषा संस्कृतको पठनपाठन हुँदै आएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण (यालना) विद्यापिठ (संस्कृत क्याम्पस) ले अनुसन्धनात्मक काम बढाउने भएको छ । विद्यापिठले अनुसन्धान व्यवस्थापन एकाइ नै गठन गरेर अनुसन्धनात्मक कार्यलाई व्यवस्थित गर्ने तत्परता देखाएकाे हो ।
अनुसन्धनात्मक लेखन र शैक्षिक उपाधिका क्षेत्रलाई समेटेर आचार्य (शिक्षक)हरुबाट प्राप्त आवेदनका आधारमा एकाइ गठन गरिएको विद्यापिठका प्राचार्य सहप्राध्यापक हेमनारायण लाल कर्णको भनाइ छ । विद्यापिठका उपप्राध्यापक टीकाराम नेपालको संयोजकत्वमा गठित एकाइमा उपप्राध्यापक चिरञ्जीवी ढुङ्गाना सदस्य सचिब र उपप्ध्यापकहरु नारायण सत्याल, मनोरमा झा एबं श्रीधर आचार्य सदस्य नियुक्त हुनुभएको छ । शुक्रबार एकाइका पदाधिकारी र सदस्यलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै प्राचार्य कर्णले अब विद्यापिठको अनुसन्धनात्मक कामले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
अनुसन्धानात्मक जर्नल प्रकाशित गर्ने, अनुसन्धनात्मक गोष्ठी र सेमिनार आयोजना गर्ने एबं प्राचीन संस्कृत वाङ्मयको उन्नयनका लागि योजनाबद्ध काम गर्ने एकाइको उद्देश्य रहेको प्राचार्य कर्णले स्पष्ट पार्नुभयो । एकाइले तत्काल काम प्रारम्भ गर्ने संयोजक उपप्राध्यापक नेपालको भनाइ छ ।
“हामी अनुसन्धनात्मक कार्यविधिले निर्दिष्ट गरेअनुरुप नतिजामुखी काम बढाउँछौ” नेपालले भन्नुभयो, “हाम्रो ध्येय भाषा, संस्कृतिको श्रीवृद्धि हो, यसका लागि विद्वानहरुसँग नियमित समन्वय गर्छौ ।”
मुलुककै जेठो विद्यालय मानिएको मटिहानीस्थित गुरुकूल हालको राजकीय संस्कृत माध्यमिक विद्यालय र यालना विद्यापिठले संस्कृत माध्यमको पठनपाठन सञ्चालन गर्दै आएका छन् । यालना विद्यापिठमा स्नातकोत्तर तहसम्मको अध्ययनअध्यापन हुँदै आएको छ ।
विद्यापिठले अनुसन्धनात्मक कार्यका लागि एकाइ नै गठन गरेपछि अब यसक्षेत्रका कामले गति लिने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको विश्वास छ । मटिहानी नगरपालिकाले आफ्नो ठाउँमा संस्कृत वाङ्मयको अनुसन्धान केन्द्र स्थापनाका लागि नेपाल सरकार र नेपाल संस्कृत विश्वविद्यालयसँग निरन्तर अनुरोध गर्दै आएको मण्डलले बताउनुभयो ।