
भूमिका उपाध्याय,
मटिहानी (महोत्तरी), २६ वैशाख ।
अचाक्ली बढेको गर्मीबीच महोत्तरीका झोलुङ्गेपुलहरु अहिले शीतल खोज्नेहरुको आकर्षण बनेका छन् । मधेशमा कमै बन्ने झोलुङ्गेपुल यताका लागि नौलो र त्यसको लच्काइ एबं खुला हावा चल्ने ठाउँ बन्दा आकर्षण बनेका हुन् ।
महोत्तरीको मटिहानी–८ स्थित बिग्ही नदीमा करिब तीन सातामात्र पहिले सञ्चालनमा आएको झोलुङ्गेपुलमा बेलुका घाम डुब्ने बेला घुमफिर गर्ने खचाखच देखिन्छन् । यहाँ घुम्न पुग्नेमा सबै उमेर समूहका देखिएपनि बढीजसो किशोर र युवा हुने गरेका छन् ।
“यो हाम्रो साथीसँगीसँग भेटघाट र गर्मी छल्ने ठाउँ बनेको छ” मटिहानी–८ का २५ वर्षीय युवा इसराफूल राइन भन्नुहुन्छ, “पुल सञ्चालनमा आएयता दैनिकजसो साँझपख यहाँ बाक्लो जमघट हुन्छ ।” खासगरी दिनभरि विभिन्न काममा व्यस्त रहनेहरु साँझपख खुला हावा खान यहाँ आउने गरेका राइन बताउनुहुन्छ । यो पुल महोत्तरी र धनुषा वारीपारी हुने र नजिकैको दशगजा पारि भारत पर्नेहुँदा तीनैतिरका मान्छेको जमघटको थलो बनेको देखिन्छ ।
“हामी अचेल कामविशेषले साथीभाइले सरसल्लाहका लागि भेट्न आग्रह गर्दा साँझ यहीं भेट्ने समय मिलाउँछौ” धनुषातर्फको तुलसियाही गाउँका ५० वर्षीय जिवेश साह भन्नुहुन्छ, “अचेल यो भेटघाटको सजिलो थलो बनेको छ ।” हिंड्दा पुल लच्किनेहुँदा किशोरवयका हरुका लागि यो पनि रमाइलो हुने गरेको देखिन्छ ।
जिल्लामा विभिन्न ठाउँमा बनेका आधा दर्जनजति झोलुङ्गेपुलहरु सबैजसोमा गर्मीयाममा घुमफिर गर्ने पुग्ने गरेका छन् । विग्ही नदीमै मटिहानी–२ र ६ नम्बर वडालाई जोड्न चार/पाँच वर्ष पहिले नै झोलुङ्गेपुल सञ्चालनमा आएको हो । यसैगरी मनराशिवा नगरपालिका र बलवा नगरपालिका जोड्ने ओक्सी, रामगोपालपुरको टिकुलियाबजार र बलवाको बनौटा जोड्ने रातु नदीमा निर्मितपुलमा पनि गर्मी याममा बिहान बेलुका घुमफिर गर्ने पुलमाथि उभिएर हावा खाइरहेका भेटिन्छन् ।
यस्तै रातु नदीमै बर्दिबास–९ पशुपतिनगरमा तीन/चार वर्ष पहिले नै सञ्चालनमा आएको झोलुङ्गेपुलमा सधैंजसो घुमफिर गर्नेको चाप हुन्छ । पशुपतिनगरकै वारीपारीका बस्ती जोड्ने यो पुल धनुषाको महेन्द्रनगर, बटेश्वरहुँदै महोत्तरीको गौशालाबजार आवागमनको मुख्य बाटोमा हुँदा पैदलयात्री र साइकल एबं मोटरसाइकल सवारहरुका लागि बर्खामा निकै सजिलो बनेको बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाकाका सामाजिक कार्यकर्ता अमृतकुमार महतो बताउनुहुन्छ । “आवागमन सहज बनाउनु त मुख्यपक्ष भइहाल्यो, यो पुल स्कूले बालबालिकाको खेल्ने र किशोर एबं युवाहरुका लागि साथीसँगी भेट्ने र आपसी छलफलको थलो पनि बनेको छ ।”
यसैगरी रातु नदीमै बर्दिबास–३ गौरीडाँडा र धनुषाको तुलसी, बर्दिबासकै कालापानी र धुषाको विश्वम्भर र बर्दिबासको रजबास र धनुषाको दूधपानी जोड्ने झोलुङ्गेपुल सञ्चालनमा छन् । चुरेकाछ बस्तीका यी तीनवटै पुलले ससाना नानीहरुलाई विद्यालय आउजाउ, दुबैतर्फको खेतीपाती र हाटबजार गर्न सहज बनाएको बर्दिबास–३ का वडाध्यक्ष विराट विष्ट बताउनुहुन्छ । यी पुल आवागमनको सहजतासँगै यता घुम्न आउने पर्यटकहरुको घुमफिरको थलोसमेत बनेको विष्टको भनाइ छ ।
“मधेशमा झोलुङ्गेपुल कम बन्नेहुँदा यताका लागि यो नौलो बन्छ । यसैले यस्ता पुलमा पुगेपछि नयाँ मान्छे रमाउँछन्” बर्दिबास नगरपालिकाका पूर्वउपप्रमुख कृष्णमाया गौतम भन्नुहुन्छ, “यसको मुख्यपक्षचाहिँ विद्यार्थीलाई विद्यालय आउजाउ गर्न , नदी वारीपारी खेतबारी हुनेलाई खेतीपाती लगाउन र कृषिउपज वारीपारीका बजार पुर्याउन सहज बनाउनु नै हो ।”
मुख्यध्येय आवागमनको सहजताकै लागि भएपनि यस्ता पुलसँग घुमफिर, भेटघाट र मनोरञ्जन पनि जोडिएका हुँदा यिनका छेउमा बस्ने चौतारी र स्थानीय उत्पादन प्रदर्शनी र बिक्रीकक्ष व्यवस्थापन गर्नसके थप आकर्षण बढ्ने यहाँका युवा बताउँछन् । यसका लागि स्थानीयतहले पहलकदमी लिनपर्ने रामगोपालपुर–८ का ३० वर्षीय नवीनकुमार साह बताउनुहुन्छ ।
यो पनि पढ्नुहोस् !