रामईश्वर ठाकुर,
बर्दिबास, ७ जेठ ।

बर्दिबासस्थित सत्कर्म बचत तथा ऋण सहकारी संस्थाले आज बुधबार रक्तदान सम्पन्न गरेको छ । आठौ वार्षिकोत्सवको अवसरमा आज बर्दिबासमा संस्थाका सेयर सदस्य, कर्मचारी र सर्वसाधारणले ४० प्रिन्ट रक्तदान गरेका हुन् । बर्दिबासस्थित सिन्धुलीचोकमै आयोजित कार्यक्रममा रेडक्रस बर्दिबास उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा सहयोग पुर्‍याउने सबै सहयोगीप्रति संस्थाको सञ्चालक समितिका अध्यक्ष सुशिला थापाले धन्यवाद व्यक्त गर्नुभएको छ । “हामीले संस्थाको वार्षिकोत्सवको अवसरमा रक्तदान आयोजना गर्ने निधो गर्‍यौं, सबैपक्षबाट प्राप्त सहयोगले कार्यक्रम सफल भयो” थापाले भन्नुभयो, “सबै सहयोगीप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।”

सहकारी आन्दोलनलाई वित्तीय कारोबारभित्र मात्र नभइ सामाजिक क्षेत्रमा पनि उभ्याउने र सहभागिता बढाउने उद्देश्यअनुरुप रक्तदान आयोजना गरिएको संस्थाको भनाइ छ । संस्थाका गतिविधिलाई मानवीय करुणा र सेवाका क्षेत्रमा जोड्नसके जनस्तरबाटै सहकारी आन्दोलनप्रति सकारात्मक धारणा विकास हुने आफूहरुको विश्वास बनेको संस्थाका प्रबन्धक (व्यवस्थापक) अम्विका बानियाँ बताउनुहुन्छ ।

बर्दिबास र यस वरपरका क्षेत्रमा रक्तदानबारे दिनानुदिन सकारात्मक धारणा बढेको रेडक्रस बर्दिबास उपशाखाको ठम्याइ छ । “बर्दिबास, मिथिला र गौशाला नगरक्षेत्रका वित्तीय संस्थाहरु, सामाजिक सङ्घसंस्थाहरु र उत्साही युवाहरुको हामीले बलियो साथ पाउँदै आएका छौं” रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्का भन्नुहुन्छ, “यो साथ सहयोगले हाम्रो उपशाखाबाट सञ्चालित रक्तसञ्चार केन्द्रले रगतबाट जीवनरक्षाका क्षेत्रमा सेवा गर्न पाएको छ ।” खड्काले ‘रक्तदान जीवनदान होे’ भन्ने कुरा जनजनमा बुझाउनसके रेडक्रस अभियानले अझ व्यापकता पाउने विश्वास व्यक्त गर्नुभयो ।

स्मरणीय छ, रेडक्रस बर्दिबास उपशाखाले अत्यन्त अप्ठ्यारा दिनमा २०७२ सालदेखि नै रक्तसञ्चार केन्द्र सञ्चालन गदैृ आएको छ । हाल रेडक्रस बर्दिबास उपशाखाको साधन र सुविधासम्पन्न आफ्‌नै कार्यालय भवन र प्रयोगशालासहितको रक्तसञ्चार केन्द्र सञ्चालित छ ।

 


२०८२ जेष्ठ ७, बुधबार २०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय