रामईश्वर ठाकुर,
बर्दिबास, २ असार ।

बर्दिबासमा एक दलितलाई स्यालले घरमै टोकेर घाइते बनाएपछि बस्तीमा त्रास छाएको छ । बर्दिबास–७ को फुलबारीटोलको दलित बस्तीका ६३ वर्षीय दुखी सदा मुसहरलाई स्यालले आइतबार मध्यरातपछि ओछ्यानमै टोकेर घाइते बनाएपछि सो बस्तीमा त्रास छाएको हो ।

स्याल टोकाइबाट घाइते भएका सदाको बर्दिबास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । चिउँडोको मासु नै स्यालले लुछेर घाइते भएका मजदुरी गरेर जीवन गुजारा चलाउने सदाको उपचार खर्च बर्दिबास नगर कार्यपालिका कार्यालयले उपलब्ध गराउने नगर प्रमुख प्रहलादकुमार क्षत्रीले बताउनु भएको छ ।

जिल्लाका ठाउँठाउँमा बेलाबेलामा स्याल आतङ्क मच्चिने गरेको छ । केही महिना पहिलेमात्र छिमेकको गौशाला नगरपालिकाको लक्ष्मीनियाँ बस्तीमा स्यालको टोकाइमा परेर छ जना घाइते भएका थिए । दुई दिनपछि स्याल सो बस्तीका बासिन्दाले मारेपछि आतङ्क रोकिएको थियो ।

स्यालले घरै पसेर टोक्न थालेपछि अहिले फुलबारीटोलमा त्रास छाएको हो । स्यालले एक/एक जना गरी टोक्दै हिड्ने गरेको विगत घटना सम्झदै यहाँका बासिन्दा डराएका हुन् । घरै पसेर टोकेको हुनाले स्याल बौलाएको हुनसक्ने टोलबासीको अनुमान छ ।
सदालाई स्यालले टाेकेर घाइते बनाएपछि बस्तीका सर्वसाधारण खेतबारीका काम गर्न, घाँस/ दाउरा खाेज्न हिड्न पनि डराएका साे बस्तीका सामाजिक कार्यकर्ता युवराज पाेखरेलले बताउनुभयाे ।


२०८२ असार २, सोमबार १८:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय