महोत्तरी, ९ असार ।

महोत्तरीको भङ्गाहा नगरपालिकाले आउने आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रमसँगै करिब ७२ करोडको बजेट प्रस्तुत गरेको छ । आज सोमबार आयोजित भङ्गाहा नगरपालिका नगरसभाको १६ औं नगर परिषदमा नगरप्रमुख सञ्जिवकुमार साहले ७१ करोड ९८ लाख ४४ हजार १६६ रुपैयाँको अनुमानित आयव्ययको बजेट प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रम एबं बजेटमा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । जम्मा नौ वडाको नगरमा करिब ४० बस्ती छन् । नगरक्षेत्रका बासिन्दाको मुख्य पेसा नै कृषि भएको हुँँदा यो पहिलो प्राथमिकतामा परेको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । यसअन्तर्गत वैकल्पिक सिँचाइका कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ । इनार, बोरिङ्ग र मोटरपम्प यहाँका वैकल्पिक सिँचाइका स्रोत हुनेहुँदा बजेट एबं नीति तथा कार्यक्रममा यी विषयलाई महत्वका साथ राखिएको नगरप्रमुख साहले स्पष्ट पार्नुभयो ।

“आम जनताको सरोकारसँग जोडिएको हुँदा कृषि हाम्रो प्राथमिकतामा परेको छ” साहले भन्नुभयो, “यसैगरी शिक्षा , स्वास्थ्य र सडक पूर्वाधारका कार्यक्रम समावेस गरिएको छ ।”

प्रस्तुत बजेटमा सङ्घीय सरकारबाट विभिन्न शिर्षकमा ५४ करोड ९८ लाख ३६ हजार ७६ रुपैयाँ, मधेश प्रदेश सरकारबाट तीन करोड आठ हजार ९० रुपैयाँ , आर्थिक वर्ष २०८१/०८२ को बैङ्क मौज्दात चार करोड र नगरपालिकाका अन्य आन्तरिक स्रोतबाट १० करोड प्राप्त हुने अनुमानित आयव्ययको प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।


२०८२ असार ९, सोमबार २३:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय