महोत्तरी, २४ असार ।

मखानखेतीलाई प्रबर्द्धन गर्न मटिहानी नगरपालिका कार्यालयले किसानलाई बजारीकरणका सामग्री वितरण गरेको छ । मखानखेतीको बजारीकरणका लागि चाहिने बोरा, झोला र त्रिपालसहितका सामान सोमबार मटिहानीका मखानखेती गर्ने किसानलाई वितरण गरिएको हो । मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले यी सामानले किसानलाई उत्पादन बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो ।

तलाउ (पोखरी) मा गरिने मखानखेती मटिहानीमा निकै पहिलेदेखि हुँदै आएको छ । विशिष्ट प्रकारको यो फल पौष्टिकसँगै धार्मिक महत्वको हुँदा यहाँ यसले राम्रो बजार पाउँदै आएको किसान बताउँछन् । प्राप्त सामग्रीले मखान सुकाउन, पोका बनाउन र बजार लान सघाउ हुने मखान खेतीका किसान बिन्दे सहनीले बताउनुभयो ।

यो फल साँस्कृतिक तथा धार्मिक महत्वका चाडवाडमा प्रयोग गरिने चलन छ । खासगरी दसैंैंको कोजाग्रत पूर्णिमा र तिहार (दीपावली) पर्वमा मखानका परिकार बनाइन्छन् । मखान भुटेर दूधसँग खाने र यसको खिर खाने बाक्लो चलन छ । मैथिल परम्परामा विवाह, व्रतबन्धसहितका शुभकार्यमा यो विधिविधानमै अनिवार्य सामग्री मानिन्छ ।

मखानखेतीमा लागेका २१ जना किसानले खेतीक्षेत्रका आधारमा १०० देखि ४०० थान बोरा, २०० थान झोला र एक/एक थान त्रिपाल प्राप्त गरेका छन् । यो खेतीमा बजारीकरणका लागि बोरा, झोला र त्रिपाल अतिआवश्यक सामान हुने अर्का किसान लछो खातुनको भनाइ छ । नगरपालिकाले तीन वर्षयता बर्सेनि मखानखेतीका किसानलाई पालैपालो यी सामग्री प्रदान गर्दै आएको किसानले बताएका छन् ।

मटिहानीमा मुस्लिम र सहनी समुदायका १०० भन्दा बढी किसान यो खेतीमा संलग्न रहेका नगर कार्यपालिकाको कार्यालयको कृषि प्रबद्र्धन शाखाले जनाएको छ । मटिहानीमा यसपालि १२५ बिघा क्षेत्रफलका पोखरीमा मखान खेती रहेको शाखा प्रमुख टङ्क उपाध्यायले जानकारी दिनुभयो । यसपालि मटिहानीमा करिब १०० मेट्रिक टन मखान उत्पादन हुने कृषि प्रबद्र्धन शाखाको अनुमान छ ।

जिल्लामा मखान खेती गरिने पहिलो स्थानमा मटिहानी पर्छ । यसबाहेक महोत्तरी गाउँपालिका र जलेश्वर एबं रामगोपालपुर नगरपालिकाका केही पोखरीमा मखानखेती गरिदै आइएको छ ।


२०८२ असार २४, मंगलवार १०:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय