महोत्तरी, २४ असार ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरलाई अयोध्यासँगको धार्मिक पर्यटनसँग जोड्नसके यहाँको विकासले एउटा महत्वपूर्ण फड्को लिनसक्ने बताउनु भएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको ‘घुमौ मधेश, बुझौ मधेश’ प्रचार अभियानको समापन कार्यक्रमलाई आज मङ्गलबार जनकपुरमा सम्बोधन गर्दै सिंहले सङ्घीय सरकारले यसको पहलकदमी लिनपर्ने उल्लेख गर्नुभयो ।

“सीता र राम आस्थामा छुट्याउनै नसकिने विश्वास हुन् , रामको जन्मभूमि र सीताको जन्मभूमि महत्वका दृष्टिले फरक हुन सक्दैनन्‌” सिंहले भन्नुभयो , “तर नयाँ राममन्दिर निर्माणपछि अयोध्यामा बढेको मान्छेकोे आस्थालाई हामीले जनकपुर डोर्‍याउन सकेका छैनौ ।” राम दर्शनका लागि अयोध्या पुग्नेहरुमा जनकपुर पुगेर सीता दर्शन नगरेसम्म यात्राले पूर्णता नपाउने कुरा प्रचार र दुई देशबीचको आपसी विश्वासबाट जगाउनसके यहाँको धार्मिक पर्यटनमा ठूलो उपलब्धी हुने उहाँको भनाइ छ ।

अयोध्यामा राम दर्शनका लागि १५ करोड बढी श्रद्धालु पुगेमध्ये केही प्रतिशतमात्र जनकपुर जोडिदा पनि यहाँको पर्यटन प्रबद्र्धनमा निकै सघाउ पुग्ने सिंहको विश्वास छ । जनकपुर आइपुग्ने पर्यटकलाई बिस्तारै मधेशका अन्य धार्मिकस्थलसँग जोड्दै लान सकिने सम्भावना हुने उहाँले बताउनुभयो । यो सङ्घीय सरकारको प्रयत्नबाट हुँनपर्ने उहाँको जोड छ । “देश समृद्ध भए प्रदेश बलियो भइहाल्छ नि !” उहाँको भनाइ छ । यसका लागि आफूले केन्द्र सरकारसम्म निरन्तर कुरा पुर्‍याइरहेको सिंहले बताउनुभयो ।

महासङ्घले गत वर्ष २०८१ साल जेठ ५ गते बाराबाट सुरु गरेको ‘घुमौ मधेश, बुझौ मधेश’ प्रचार अभियानको शृङ्खला आठै जिल्लामा सकेर आज समापन गरेको हो । यस अभियानको क्रममा आठ वटै जिल्लाका धार्मिक, पुरातात्विक, ऐतिहासिक र साँस्कृतिक पर्यटनका सम्भावना पहिचान गर्दै बनाइएको वृतचित्रको प्रति महासङ्घले मुख्यमन्त्रीलाई हस्तान्तरण गरेको छ । अभियानको पहिलो चरणको समापनसँगै अब सम्भावना चिन्हित गरिएका ठाउँमा तीनै तहका सरकारसँगको समन्वयमा अघिल्ला काममा भागिदारी लिएर काममा जाने महासङ्घले प्रतिबद्धता जनाएको छ ।

महासङ्घले तयार गरेको ‘घुमौ मधेश, बुझौ मधेश’ को अभियान र अवधारणालाई मधेश सरकारले कार्यक्रममा समावेस गरेर अपनत्व लिएपछि आफूहरु उत्साहित भएको कार्यक्रममा अध्यक्ष हिरालाल गौतमले बताउनुभयो । गौतमकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकास ठाकुरले यसलाई अब अझ फराकिलो बनाएर ‘भिजिट मधेश’मा समेटिएको उल्लेख गर्नुभयो । समापन कार्यक्रममा मुख्यमन्त्री सिंहले एक वर्षसम्म यो अभियानलाई प्रदेशका आठै जिल्लामा पुर्‍याएर मधेश चिनाउन र बुझाउन योगदान दिनेहरुलाई कदरपत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।


२०८२ असार २४, मंगलवार १८:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय