
काठमाडौं, अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् । ‘१२ गाउँ’ जस्तो ब्लकबस्टर फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी उनले नाटक ‘शिरीषको फूल’बाट रंगमञ्चको यात्रा सुरु गर्न लागेकी हुन् । कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरले आगामी साउनमा मञ्चन गर्न लागेको उक्त नाटकमा सनिशाले ‘सकम्बरी’ पात्रको भूमिकामा अभिनय गर्ने जनाइएको छ ।
रंगमञ्चको यात्रा सुरु गर्न सनिशा उत्साहित देखिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘भिडियो र फिल्मको कलाकारिता हुँदै ‘शिरीषको फूल’मार्फत रंगमञ्चको स्टेजमा नयाँ यात्राको अनुभव सुरु गर्न जाँदैछु । ‘शिरीषको फूल’को पात्र ‘सकम्बरी’ मेरो लागि विशेष हुनेछ ।’ उक्त पोस्टमा उनलाई अभिनेत्री स्वस्तिमा खड्का, संगीतकार अर्जुन पोखरेल लगायतले शुभकामना दिएका छन् ।
‘शिरीषको फूल’ नाटकमा सनिशाले कुनै समयका चर्चित अभिनेता जीवन लुईंटेलसँग मञ्च साझा गर्नेछिन् । यही नाटकबाट जीवन एक दशकपछि अभिनयमा फर्किन लागेका हुन् । यसमा उनले सुयोगवीर पात्रको भूमिका निर्वाह गर्नेछन् । हाल अमेरिकामा रहेका जीवन नाटक खेल्न आगामी साता नेपाल आउने जनाइएको छ । यतिबेला सनिशासहितको टिम नाटकको कार्यशालामा व्यस्त छ ।
पहिलो फिल्मबाटै लोभलाग्दो सफलता पाएकी सनिशाको दोस्रो फिल्म ‘नरसिंहा’ गत जेठमा प्रदर्शन भएको थियो । तर, यो फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन । उनले खेलेका गीतका भिडियो भने प्रायः चर्चित छन् । ‘ए होर माया’, ‘तिमीलाई हेर्ने बानी पर्यो’, ‘साइँली’ जस्ता गीतले उनलाई दर्शकमाझ चिनाएको थियो । अब ‘शिरीषको फूल’बाट उनले रंगमञ्चको अनुभव लिँदैछिन् ।